शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

८ लाख घरेलु ग्राहकले निःशुल्क बिजुली बाल्न पाउने !

आइतबार, १८ जेठ २०७७, १४ : १६
आइतबार, १८ जेठ २०७७

नेपाल विद्युत प्राधिकरणका आठ लाख ग्राहस्थ (घरेलु) ग्राहकले निःशुल्क विद्युत सेवा उपभोग गर्न पाउने भएका छन् । 

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट वक्तव्यमा  प्रतिमहिना १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहस्थ ग्राहक (परिवार) लाई विद्युत निःशुल्क उपलब्ध गराउने उल्लेख छ । प्राधिकरणका त्यस्ता ग्राहक संख्या ८ लाख छ । विद्युतका करिब ४१ लाख ग्राहस्थ ग्राहक छन् । 

ती ग्राहक आर्थिक रुपमा विपन्न भएका कारण राहत दिने उद्देश्यले महसुल निःशुल्क दिने व्यवस्था मिलाइएको ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिए । 

 ८ लाखमध्ये कतिपयले न्यूनतम शुल्कसमेत बुझाउन नसक्दा प्राधिकरणले विद्युत लाइन काट्दै आएको थियो । ‘छुट पाउनेहरु अति विपन्न हुन’, मन्त्री पुनले भने, ‘विपन्नहरुलाई राहत होस् भन्नका लागि बजेटमै १० युनिटभन्दा कम उपभोग गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराइएको हो ।’ 

नेपालको इतिहासमै लक्षित ग्राहकका लागि विद्युत निःशुल्क भएको यो पहिलोपटक हो । आगामी  १ साउनदेखि  नै यो व्यवस्था कार्यान्वयनमा आउने मन्त्री पुनले स्पष्ट गरे । 

मन्त्री पुनका अनुसार विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैतदेखि सबै प्रकारका ग्राहस्थ विद्युत ग्राहकलाई दिइँदै आएको २५ प्रतिशत छुट पनि लकडाउन अन्त्य नहुँदासम्मका लागि निरन्तरता दिइने छ । 

बजेटमा सबै प्रकारका औद्योगिक ग्राहकले पनि न्यूनतम शुल्कमा छुट पाउने व्यवस्था गरिएको छ । 

औद्योगिक क्षेत्र र सो भन्दा बाहिरका ठूला, मझौला , साना र घरेलु गरी सबै प्रकारका औद्योगिक ग्राहकले न्यूनतम शुल्कमा पूरै छुट पाउने छन् । 

यस्तै उद्योगहरुको इनर्जी चार्जमा रातिको (अफ पिक) समयमा प्रयोग हुने विद्युत शुल्कमा ५० प्रतिशत छुट हुनेछ । त्यसो गर्दा प्राधिकरणले १ अर्ब ७५ करोड व्ययभार व्यहोर्नुपर्छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६÷०७७ मा ९ अर्ब ७३ करोड खुद नाफा आर्जन गरेकाले शुल्क मिनाहा र छुट दिँदा पनि संस्थानको आर्थिक स्वास्थ्यमा प्रतिकूल प्रभाव नपर्ने विश्वास ऊर्जा मन्त्री पुनको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप