शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डब्ल्यूएचओबाट अलग्गिएर आखिर अमेरिकाले के पाउला ?

आइतबार, १८ जेठ २०७७, ०७ : २८
आइतबार, १८ जेठ २०७७

विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओसँग सम्बन्ध समाप्त गर्ने घोषणा पछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विदेशमा त आलोचना भइ नै रहेको छ, यता देशभित्रै पनि उनीमाथि विभिन्न प्रश्न उठाउन थालिएको छ ।

युरोपेली युनियनले ट्रम्पलाई एकपटक आफ्नो निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ ।

जर्मनीका स्वास्थ्यमन्त्रीले ट्रम्पको निर्णय अन्तर्राष्ट्रिय स्वास्थ्यका लागि निराशाजनक झट्का भएको बताएका छन् ।

अमेरिकी सिनेटमा स्वास्थ्य समितिका प्रमुखले पनि यो डब्ल्यूएचओबाट बाहिर निस्कने समय नभएको बताएका छन् ।

ट्रम्पले बारम्बार डब्ल्यूएचओमाथि कोरोनाभाइरसको संक्रमण रोक्नका लागि केही ठोस् कदम नउठाएको र चीनको कठपुतली बनेको आरोप लगाउँदै आएका छन् ।

गत महिना ट्रम्पले डब्ल्यूएचओलाई अमेरिकाबाट पाउने रकम बन्द गर्ने घोषणा गरेका थिए । शुक्रबार ट्रम्पले स्थायी रुपमा रकम रोकिदिए । गत वर्ष अमेरिकाले डब्ल्यूएचओलाई ४० करोड डलरभन्दा बढिको रकम प्रदान गरेको थियो । यो संसारको कुनै पनि देशबाट डब्ल्यूएचओले पाउने सर्वाधिक रकम हो । अमेरिकाले यो रकम डब्ल्यूएचओको कूल बजेटको १५ प्रतिशत दिने गर्दथ्यो ।

अमेरिकाको यो कदमबारे अन्य देशको कस्तो प्रतिक्रिया छ ?

युरोपियन कमिशनकी प्रमुख उर्सुला वोन र शीर्ष कुटनीतिज्ञ जोसेप बोरेलले आफ्नो बयानमा भने, ‘विश्वव्यापी महामारीको बेलला सहयोग बढाउन आवश्यक छ र सबैले मिलेर समाधान खोज्नुपर्छ । अमेरिकाको यो कदमले अन्तर्राष्ट्रिय नतिजा प्रभावित हुनेछन् र यस्तो हुन नदिन आवश्यक छ । हामी अमेरिकालाई आफ्नो निर्णयमा पुनर्विचार गर्नका लागि आग्रह गर्छौं ।’

जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पानले यो निराशाजनक भएको बताएका छन् । यद्यपि, उनले डब्ल्यूएचओमा सुधारको खाँचो भएको स्विकार गरेका छन् । उनले भने, ‘ईयूले यसमा अब थप सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेछ र आर्थिक सहयोगको ठूलो हिस्सा बेहोर्नुपर्नेछ ।’

बेलायतका एक प्रतिनिधिले भने, ‘कोरोनाभाइरस एक विश्वव्यापी चुनौती हो र यसमा विश्व स्वास्थ्य संगठनको महत्वपूर्ण भूमिका छ । डब्ल्यूएचओको सक्रियता अत्यन्त आवश्यक छ । डब्ल्यूएचओलाई बेलायतबाट पाउने रकम जारी रहनेछ र हाम्रो तर्फबाट रकम रोक्ने कुनै योजना छैन ।’

अमेरिकी सिनेटमा स्वास्थ्य समितिका प्रमुख लेमर एलेक्जेन्डरले ट्रम्पको यो निर्णयले कोभिड–१९ को भ्याक्सिन बनाउने कोसिसलाई धक्का लाग्ने बताएका छन् । लेमरले राष्ट्रपतिले आफ्नो निर्णयमाथि पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

लेमरले भने, ‘यसमा कुनै शंका छैन कि डब्ल्यूएचओ पारदर्शी हुन आवश्यक छ । कोरोनाभाइरसको महामारीमा डब्ल्यूएचओमाथि पनि विभिन्न प्रकारको प्रश्न छन् । तर अहिले हामीले सहकार्य गर्न आवश्यक छ । हामीले  बाँकी कुरा यो महामारीपछि सुल्झाउन सक्छौं तर बीचमा यस्ता कुनै पनि कदम उठाउँदा आफ्नो लक्ष्य हासिल गर्न सकिँदैन ।’

अमेरिकामा राष्ट्रपति पदकी उम्मेद्वार रहेकी सांसद एलिजाबेथ वारेनले ट्वीट गर्दै भनिन्, ‘विश्वव्यापी महामारीका क्रममा डब्ल्यूएचओसँग नाता तोड्दा हाम्रो विश्वव्यापी नतिजा प्रभावित हुनेछ र अमेरिकी नागरिकको स्वास्थ्य प्रणाली पनि प्रभावित हुनेछ ।’

डब्ल्यूएचओका पूर्व कार्यकारी महानिर्देशक एन्ड्रेस नार्डोस्ट्रोमले पनि ट्रम्पको यो निर्णयलाई चिन्ताजनक बताएका छन् । उनले विश्वव्यापी महामारीका बेला एकताको आवश्यकता हुने र यसले राजनीतिक तनाव बढाउने बताएका छन् ।

दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्रीले पनि यसलाई दुर्भाग्यपूर्ण बताएका छन् ।

डब्ल्यूएचओका सदस्य देशबीच १९ मेमा कोरोनाभाइरसको महामारीमा यो एजेन्सीको भूमिकाको स्वतन्त्र अनुसन्धानका लागि सहमति बनेको थियो ।

ट्रम्पले यस्तो निर्णय किन गरे ?

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्लूएचओलाई ब्यापक सुधारको अनुरोध गरेका थियौँ तर यस्तो गर्नमा ऊ असफल रह्यो । आजदेखि हामी विश्व स्वास्थ्य संगठनसँग हाम्रो नाता तोड्दैछौँ । अमेरिकी कोष अब वैश्विक जनस्वास्थ्यमा लगाइनेछ । डब्लूएचओ पूरै चीनको नियन्त्रणमा रहेको छ जबकि अमेरिकाको तुलनामा उसले निकै कम रकम दिने गरेको छ ।’

गत महिना राष्ट्रपति ट्रम्पले आफूलाई सुधार गर्न डब्लूएचओलाई एक महिनाको समय दिँदै सुधार गर्न नसके स्थायी रुपमा सहयोग कोष बन्द गर्ने बताएका थिए । ट्रम्पका अनुसार डब्लूएचओका गल्तीको पूरै विश्वले मूल्य चुकाउनु परेको बताएका थिए । उनले डब्लूएचओलाई चीन परस्त हुनबाट मुक्त हुनुपर्ने बताएका थिए ।

म्पले आफूले माग गरेको सुधार डब्लूएचओले पुरा गर्न नसकेको र चीनसँग मिलेर कोरोनाभाइरसबारे पूरै विश्वलाई गुमराह गरेको आरोप लगाए ।

चीनप्रति निशाना साध्दै उनले भनेका थिए, ‘चीनले वैश्विक महामारीको सुरुवात गर्यो र यसको मूल्य एक लाखभन्दा बढी अमेरिकीले ज्यान गुमाएर तिर्न परिरहेको छ ।

‘चीनमा पहिलो पटक भाइरस भेटिँदा सूचना लुकाइयो । चीनले पनि पूरा मामिलामा पारदर्शिता अपनाएन । चीन डब्लूएचओलाई हरेक वर्ष मात्र ४ करोड डलर कोष दिन्छ । यसको तुलनामा अमेरिकाले डब्लूएचओलाई हरेक वर्ष ४५ करोड डलर सहयोग गर्छ । हामीले डब्लूएचओलाई विस्तारमा हामीले चाहेको सुधारको बारेमा बतायौँ तर उसले यस्तो गर्नबाट अस्वीकार गर्यो ।’ ट्रम्पले संयुक्त राष्ट्रसंघमाथि पनि प्रश्न उठाउँदै आएका छन् ।

के हो विश्व स्वास्थ्य संगठन ?

– विश्व स्वास्थ्य संगठनको स्थापना सन् १९४८ मा भयो । यो स्विटजरल्याण्डको जेनेभामा  छ । यो संयुक्त राष्ट्रको एउटा एजेन्सी हो जसले विश्वव्यापी स्वास्थ्य सेवा र रोगमाथि काम गर्छ ।

– यसका कूल १९ सदस्य देश छन् । यसको उद्देश्य कुनै पनि समस्याग्रस्त स्थितीबाट बच्नका लागि संसारलाई स्वस्थ राख्नु हो ।

– खोप अभियानमा डब्ल्यूएचओको महत्वपूर्ण भूमिका रहेको छ । आपतकालीन स्थितीमा यो एजेन्सीको सधैं महत्वपूर्ण योगदान रहँदै आएको छ ।

– यसलाई सदस्य देशले नै कोष उपलब्ध गराउने गर्छ । कोषको राशि जनसंख्या र आर्थिक हैसियतको आधारमा निश्चित हुन्छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप