शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘लकडाउन खुकुलो नपारे कोभिडले भन्दा बढी अरु रोगले नेपालीको मृत्यु हुनेछ’

जनस्वास्थ्यविद् समीरमणि दीक्षितको चुनौती : विज्ञता पुग्दैन भने हामी छौं सुझाव दिनको लागि !
आइतबार, १८ जेठ २०७७, ०१ : ४३
आइतबार, १८ जेठ २०७७

कोभिड–१९ को संक्रमण रोक्ने नाममा सरकारले ‘विकल्परहित विकल्प’ जस्तै गरेर लकडाउनलाई थप्दै जेठ ३२ गतेसम्म लकडाउन लम्बाएको छ । लकडाउनलाई नै विकल्प ठान्ने सरकारको शैलीको विरोध गर्दै जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले ‘कोभिडसँग जोडिएको लकडाउनलाई अब देशले र नागरिकले धान्न नसक्ने’ बताएका छन् ।

‘लकडाउन खुकुलो पार्ने उपाय सहित राज्यलाई मेरो चुनौती । नेपाली नागरिकको मृत्यु कोभिडले भन्दा कैयौं गुणा बढि अन्य समस्याहरुले गराउनेछ। मित्रराष्ट्रहरुले गर्न थालिसके, हामी किन पछाडि ?’ भन्ने सन्देशसहित ट्वीटरमा एक भिडियो जारी गर्दै उनले भनेका छन् :

कोभिडसँग जोडिएको नौ हप्ता खेपिसकेको लकडाउनलाई अब देशले धान्न सक्दैन, नागरिकले झनै धान्न सक्दैन । अब कोभिडले भन्दा अन्य रोगले सताउन थाल्नेछ र मृत्यु बढाउने सुनिश्चित छ ।

आत्महत्या, मानसिक रोग लगायत नसर्ने रोगबाट हुने दुःख मृत्यु, त्यसैगरी अन्य सरुवा रोगबाट हुने दुःख र मृत्यु र आर्थिक भार, कुपोषण लगायत अन्य कुराबाट हुने मृत्यु अब बढ्ने क्रममा हुनेछ । त्यो शुरु पनि भइसकेको छ ।

त्यसो हुनाले लकडाउन खुकुलो पार्नपट्टि लाग्नुपर्छ ।

अब गर्ने कसरी ?

एउटा त परीक्षण हो । सकेसम्म छिटो र धेरै परीक्षण गरौं । मैले क्यूटीटीआर मोडेल भन्ने गरेको छु ः क्वारेन्टिन, टेस्ट, दोस्रो टेस्ट अनि रिलिज । नेगेटिभ भयो भने रिलिज र पोजेटिभ भयो भने आइसोलेसन अथवा क्वारेन्टिन राख्न सकिहालिन्छ । त्यो गर्न सकियो भने गज्जब ।

तर तपाईंलाई, मलाई थाहा छ कि अहिले राज्यले त्यस किसिमले परीक्षण गर्नै सकेको छैन । त्यो हो भने संक्रमणको ठाउँहरु वडा, प्रदेश, जिल्लाहरु हेरिकन, जहाँ आगन्तुक जनसंख्या धेरै छ, जहाँ संक्रमणको लोड धेरै छ, जहाँ लक्षणसहितका विरामीहरु धेरै छन्, त्यहाँ अलि बढी कडीकडाउ गर्ने तर त्यहाँ लगायत जहाँ त्यस्ता छैनन्, विस्तारै सेवाहरु सुचारु गर्ने । कृषि, उद्योग, कलकारखाना, खुद्रा व्यापार, ठूला ठूला पसलहरु यी सबै खोल्न दिनुपर्छ । र, विशेष गरी मजदुरी गर्नेलाई गर्न दिनुपर्छ । त्यसको विकल्पमा विकल्प नै छैन ।

तपाईं हामीले अझै धेरै नेपालीहरुको मृत्यु भएको हेर्न चाहन्छौं भने लकडाउनलाई निरन्तरता दिऔं । म राज्यलाई चुनौती दिन चाहन्छुः तपाईंहरुले लकडाउनलाई खुकुलो पार्नुभएन भने म ग्यारेन्टी लिन्छु– अर्को ६ महिनामा कोभिडले भन्दा बढी अरु रोगले नेपालीहरुको मृत्यु हुन्छ ।

त्यसले गर्दा अब खोल्नपट्टि लागौं । भीडभाड नगरौं, मास्क लगाऔं, सामाजिक वा व्यक्तिगत दूरी कायम गरौं । किनभने भाइरस हामीमाझ छ, अब त्यो भाइरस जाँदैन । जोखिम समूहलाई केही समयका लागि अलि छुट्याएर राखौं तर अरु जनसमुह चाहिँ हिँड्न थालौं, काम गर्न थालौं, देशलाई अगाडि लगौं । आफू बचौं, अरुलाई पनि बचाऔं । त्यो हिसाबले अगाडि बढौं ।

त्यसै गरी अर्को एक ट्वीट गर्दै उनले ‘विज्ञता पुग्दैन भने हामी छौं सुझाव दिनको लागि । तर यसरी विना कार्य योजना लकडाउन कतिसम्म लम्ब्याउने सरकार ?’ भनेर प्रश्न पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप