शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रेमपथका वीर शहीद नवराज विक

आइतबार, १८ जेठ २०७७, ०० : ४७
आइतबार, १८ जेठ २०७७

 ‘भाइ नवराज, तिम्री आमाजस्ता सयौँ आमाको काख रित्तो बनाएर, तिमीजस्ता सयौँ युवाले रगत बगाएर ल्याएको गणतन्त्रले तिम्रो प्रेमको रक्षा गर्न नसक्दा मलाई आत्मग्लानि भएको छ ।’
— गीता रसाइली, कान्तिपुर

व्यक्ति होस् वा समुदाय, जीवनमा दुःख वा दुखान्त आइलाग्दा इतिहासमा गरिएको लगानी सम्झिँदो रहेछ । र ऊ लगानीको फल सुखद् भयो कि दुःखद् भनी हिसाब गर्दो रहेछ । जाजरकोटे भाइ नवराज विक जब मारिए, गीता रसाइलीले इतिहास सम्झेर हिसाब गरिन् । हिसाबको वीभत्स फल भाइको नृशंश हत्या हात लाग्यो, र क्षुव्ध गीता आत्मग्लानिले विव्हल भइन् ।

इतिहासमा दलितमुक्तिका गर्जन थुप्रो गरिए । जनआन्दोलन, जनयुद्ध वा आम चुनावमा दलितको उत्थानका बाचा अनेक गरिए । दलित–पीडकलाई दण्डित गर्ने कानुन पटकपटक बने । तर यी सबै गर्जन, बाचा र कानुन मानौँ कुकुरको पुच्छरमा अड्किए । पाजी पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा हाल्यो, बाङ्गाको बाङ्गै  ! नवराजको जघन्य हत्याले हामीलाई आखिर यसै त भनिरहेछ । 


इतिहासमा दलितमुक्तिका गर्जन थुप्रो गरिए । जनआन्दोलन, जनयुद्ध वा आम चुनावमा दलितको उत्थानका बाचा अनेक गरिए । दलित–पीडकलाई दण्डित गर्ने कानुन पटकपटक बने । तर यी सबै गर्जन, बाचा र कानुन मानौँ कुकुरको पुच्छरमा अड्किए । पाजी पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा हाल्यो, बाङ्गाको बाङ्गै  ! नवराजको जघन्य हत्याले हामीलाई आखिर यसै त भनिरहेछ । 


माओवादीले भनेको सुनेको कुरा हो, रुकुम रोल्पापछि माओवादी जनयुद्धको एक उद्गम हो । त्यो रुकुमले मलाई जनयुद्धको एक विशेष क्षणको याद दिलाउँछ । एक रोचक, रोमाञ्चक र स्मरणीय क्षणको । वास्तवमा मेरा लागि यो जनयुद्धभरिकै एक अर्थपूर्ण क्षण हो । युद्धरत माओवादी त्यो क्षणमा, उसकै शब्दमा, ‘सांस्कृतिक रुपान्तरण अभियान’मा थियो । र, रुकुम थियो त्यसको एउटा तीव्र घर्षण केन्द्र । यो रुपान्तरण प्रक्रियाको एक पाटो बडो हिंस्रक थियो । आङै जिरिङ्ग पार्ने गरी ज्यादतीयुक्त थियो यो । कान खोज्दै आउने समाचार भन्थ्यो— कतै मन्दिरभित्र गाईका टाउका फालिए । कतै पुरेतका टुप्पी काटिए । कतै सहभोजको नाममा बाहुन–क्षेत्रीका घरमा बलात् दलितहरु हुलिए । कतै प्रेम गरेको अपराध वापत कमरेड प्रेमीका लिङ्ग छेदन गरिए । तर यसको अर्को पाटो फरक थियो । मेरो दृष्टिमा सकारात्मक भन्न मिल्ने पाटो । तास खेल्ने कामचोरका मुखमा खेल्दाखेल्दैका तास कोच्याइन्थ्यो । रक्सी खाएर होहल्ला गर्ने र पत्नीलाई सताउनेलाई रुखका फेदमा टन्टनी बाँधिन्थ्यो । धुमपान निषेध थियो, दारुदबा वर्जित । अल्छे पुरुषले घरभित्रको काममा पत्नीलाई हात र साथ दिन अनिवार्य थियो । चाडपर्व र भोजभतेरमा फजुल खर्च मनाही थियो । उत्पादन र सिर्जन कर्ममा लागिपर्न लोकलाई प्रेरित र प्रोत्साहित गरियो । छूवाछूत र भेदभावको कुसंस्कार मास्ने मनसुवाले अन्तर्जातीय विवाहलाई बढाबा दिइयो । बालबालिका, अपाङ्ग र महिलालाई हेप्ने र होच्याउने क्रूरतालाई कुरिकुरी गरियो । माओवादी वृत्तबाट यी सब गतिविधिका अतिरञ्जित वृत्तान्त सुनिन्थे । त्यो अतिरञ्जनाको गाढा रङलाई भारी मात्रामा घटाएर हेर्दा पनि माओवादीको रुपान्तवरण प्रक्रियामा म आशाका किरणहरु देख्थेँ । र, मैले उक्त प्रक्रियाका ज्यादतीहरुको कठोर आलोचना गर्दै त्यसको सकारात्मक पाटोको दिल खोलेरै तारिफ गरेँ । तर सँसँगै मेरो प्रश्न पनि थियो— सांस्कृति र संस्कार मानव जीवनका नितान्त सूक्ष्म, कोमल, संवेदनशील र भावनात्मक पक्षहरु हुन् । तिनको परिवर्तन र रुपान्तरणका नाउँमा जथाभाबी बल प्रयोग गरिए नतिजा के हुन्छ ? समयले उत्तर दिइसकेको छ । नतिजा नितान्त नकारात्मक हुन्छ । क्रान्तिको ज्वार जब मन्द हुन्छ, प्रतिशोधको ज्वार उठ्छ । र, पश्चगमको खाँडो जाग्छ । रुकुम यस कुराको एक ज्वलन्त दृष्टान्त हो, जहाँ कथित उच्च जातका हातबाट दलित नवराज  विक  र उनका पाँच मित्रको हत्या भएको छ ।

जान्नेहरु भन्छन्– जनयुद्धको वेदीमा दलितको आत्मबलिदानमा रुकुम देशैभरि नम्बर एकमा पर्छ । आखिर केका लागि ? छूवाछूत, हेलाँहोलो र गरिबीबाट मुक्तिका लागि । मानवोजित जीवन जिउने हक र अवसरका लागि । आफ्नो भाग्यको निर्णय आफैँ गर्नका लागि । आफ्नो जीवनको स्वायत्ताका लागि । र, राजीखुशीले रोजेर जुनसुकै जातकासँग प्रेम र बिहा गर्ने हकका लागि । रुकुमको त्यो विराट् बलिदानको फल नवराज विकले के पाए ? उत्तर रुकुमका पहराका भित्ताका नवराजको रगतले लेखिएको छ । असफल इतिहासको यो विकृत र वीभत्स उत्तर सम्झँदा मलाई पनि गीता रसाइलीलाई झैँ ग्लानिबोध हुन्छ । र, लाग्छ— जातीय अहंकार, बडप्पन, छुवाछूत र अमानवीयताको भाइरस कोरोना भाइरसभन्दा कता हो कता निर्मम हुँदो रहेछ । नवराजको हत्याको दृष्टान्त आफैँ बोल्छ । कोरोना भाइरस त हामीमध्ये केहीलाई मारेर केही महिना वा वर्षमा विश्रामको बाटो लाग्ला । जातीय भेदभावको संस्कारजन्य जरुवा भाइरसबाट मुक्ति पाइने कहिले  र कसरी हो ?

दलितमुक्तिसहितको जनयुद्धको ध्वजा जसले उठाएको थियो, विडम्बनावश आज दलितको हत्यामा उही पतीत कटिबद्ध छ । नवराज विकको हत्याको कमाण्ड कसका हातमा थियो ? उत्तर खुला आकाशभरि व्याप्त छ— डम्बरबहादुर मल्लका हातमा । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष  श्रीमान् मल्लका हातमा । नग्न सत्य भन्छ— यी मल्ल सत्ताधारी नेकपा डबलका रैथाने माओवादी नाइके हुन् । ती नाइके, जसको हातमा नवराजको रगत लतपिएको छ । र, जसको निधारमा दलित बधको कलङ्कको दाग लागेको छ । यो क्रूर कथाको व्याख्या गरिरहनु पर्दैन । प्रमाणहरु चौरजहारीको सोती गाउँभरि, भेरी नदीका भीरपाखाभरि र बगरभरि छ्यास्छ्यास्ती छरपस्ट छन् । यी त्यस्ता अमिट प्रमाण हन्, जसलाई सत्ता, शक्ति, धन, गन, जालझेल र कपट केहीले पनि मेट्न सक्दैन । तथापि, सूचना भन्छ, हठधर्मी शासक वृत्तमा प्रमाणलाई विकृत झूटले छोप्ने धूर्ततायुक्त चेष्टा हुँदो छ ।

तस्विर साभार : कान्तिपुर दैनिक

नवराजकी आमा उर्मिलासँग उनी भन्थिन्— हाम्रो घरका सप्पै माओवादी हौँ । घरमा मेरो बिहालाई रोकटोक गर्ने कोही छैन । छनलाई किशोरी मल्लकी आमाको मन्जुरी थिएन । त्यसो त नवराजकी आमा पनि राजी थिइनन् । तर प्रेममा अन्धा भएका केटाकेटीलाई लाग्या हुँदा हो— आमाको मन त हो । ऐन मौकामा त्यो कसो नपग्लेला ? तर दुर्भाग्यवश त्यो पग्लिएन ।


नवराज विक र किशोरी मल्लको प्रेम रोमियो–जुलिएट र लैला–मजनूकोभन्दा कता हो कता गहिरो थियो । यो लुकिछिपी होइन, हाकाहाकी प्रेम थियो । यो प्रेम केटाकेटी दुबैका आमाबालाई थाहा थियो । ती दुबैका गाउँलाई थाहा थियो । किशोरी मल्लले नवराजको घरमा अनेक रात बिताएकी थिइन् । नवराजकी आमा उर्मिलासँग उनी भन्थिन्— हाम्रो घरका सप्पै माओवादी हौँ । घरमा मेरो बिहालाई रोकटोक गर्ने कोही छैन । छनलाई किशोरी मल्लकी आमाको मन्जुरी थिएन । त्यसो त नवराजकी आमा पनि राजी थिइनन् । तर प्रेममा अन्धा भएका केटाकेटीलाई लाग्या हुँदा हो— आमाको मन त हो । ऐन मौकामा त्यो कसो नपग्लेला ? तर दुर्भाग्यवश त्यो पग्लिएन । जब नवराज किशोरी मल्ललाई भगाउन साथीहरुको झुण्ड लिएर गए, सब चौपट भयो । यो चौपटकी जनजी किशोरी मल्लकी आमा थिइन् । तिनले वडाध्यक्ष मल्ललाई गुहारिन् । वडाध्यक्षले वडा सदस्य गोर्खे घर्तीलाई गाउँलेलाई खबर गर्न अह्राए । र आफूले प्रहरीलाई खबर गरे । सोती र कोइरी गाउँ उल्टियो । र, केटी लिन आएका अठाह्र जना युवक तिनको घेरामा परे । ढुङ्गा र मूढा, लाठा र भाँटा, हँसिया र खुर्पा— जसका हातमा जे थियो, युवाहरुमाथि त्यो बज्रियो । बाह्र जना उम्केर भागे, ६ जना थलैमा मारिए । नवराज विक किञ्चित् गुप्त भेषमा थिए । तर तिनको गुप्त भेषले उन्मादी आक्रमणकारीका आँखा छल्न सकेन । प्राणपियारी किशोली मल्ललाई लिएर हाँस्दै घर फर्किने सपना थियो, तिनको सपना रगत र आँसुको प्रवाहमा बग्दै भेरी नदीका छालहरुमा मिसिएर अलप भयो । नवराज आमाबाका एक्लो छोरा थिए । प्रहरीमा जागिर खाएर नवराजले नाम कमाउला र आफूलाई सुख–सुबिस्ता देला भन्ने आमाबाको कत्रो आश थियो । छोराको हत्यासँगै यी आमाबाको आशको पनि हत्या भयो ।

वडाध्यक्ष मल्लले प्रहरीलाई फोन गरेको सुन्ने कोही छ ? अवश्य । सुन्ने साछी वडा सदस्य शशिराम विक सप्राण इहलोकमै छन् । शशिराम भन्छन्— चाहेका भए ढुङ्गामूढा गर्ने युवकहरुलाई वडाध्यक्षले सजिलै रोक्न सक्थे । तर रोकेनन् । अध्यक्षले डाकेको प्रहरी जत्था केवल सिठ्ठी बजाउँदै मूक दर्शक बन्यो । कसको इसारामा ? मार्न खटाइएकाहरुले युवकहरुलाई मारिरहे, वडाध्यक्ष र प्रहरीहरुले मारेको हेरिरहे । प्रमाणहरुको रक्तरञ्जित चाङ ठूलो स्वरमा भन्छ— यो हत्याकाण्डका हर्ता, कर्ता, कमाण्डर, निर्देशक जे भने पनि श्री मल्ल हुन् । पतीत माओवादीको काइते पगरी गुथेका वडाध्यक्ष  महामहिम डम्बरबहादुर मल्ल !


नदेखूँ भन्दा पनि नाङ्गा आँखाले देखिइहाल्ने वीभत्स यथार्थ यस्तो छ । तर, बरा रैथाने सरकारी पक्ष मनचिन्ते कथा–किस्सा रचेर यथार्थलाई उल्ट्याउने अनर्थ चेष्टामा लीन छ । ऊ भन्छ— नवराजहरु कुटरे होइन, भाग्दा भेरीमा डुबेर मरेका हुन् । तर जाजरकोट अस्पतालको पोस्टमर्टम रिपोर्ट ‘तेरा कुरा इस्’ भन्छ । रिपोर्टअनुसार डुबेर मरे भनिएका युवाहरुका पेटमा पानीको थोपै छैन । मानौँ कठोर डकडाउनकालमा ती सब मुख टम्म लकडाउन गरेर मरे !


नदेखूँ भन्दा पनि नाङ्गा आँखाले देखिइहाल्ने वीभत्स यथार्थ यस्तो छ । तर, बरा रैथाने सरकारी पक्ष मनचिन्ते कथा–किस्सा रचेर यथार्थलाई उल्ट्याउने अनर्थ चेष्टामा लीन छ । ऊ भन्छ— नवराजहरु कुटरे होइन, भाग्दा भेरीमा डुबेर मरेका हुन् । तर जाजरकोट अस्पतालको पोस्टमर्टम रिपोर्ट ‘तेरा कुरा इस्’ भन्छ । रिपोर्टअनुसार डुबेर मरे भनिएका युवाहरुका पेटमा पानीको थोपै छैन । मानौँ कठोर डकडाउनकालमा ती सब मुख टम्म लकडाउन गरेर मरे !

कल्पनाशील सरकारी पक्षका तर्क तालतालका छन् । लकडाउन उल्लङघन गर्दै आउने उपद्र्यालाई ढुङ्गामूढा नगरे के फूलमाला लाएर स्वागत गर्ने ? अर्काका छोरीचेली लुट्न आउनेलाई लाठा र भाँटाले नलखेटे के जदौ मालिक भनेर लुट्न दिने ? आफैँ काल खोज्दै नदीमा हाम्फाल्छन् त हामीले के गर्ने ? रहरले मर्ने उनीहरु, बित्थामा दोष हामीलाई ? हगेर गु पुछ्न नजान्ने कामी नाथेका मुखेन्जी हामी आजै लज्जावती झार भएर लत्याकलुतक लत्रिने ? ए रात्तै !

बस्–बस् पुग्यो !

सुन्छु— सोती र कोइरी गाउँ रुकुमभरिकै उच्च्च शिक्षित गाउँ हुन् । त्यस्ता गाउँका युवाहरुको सोचाइ, मनोवृत्ति र आचरण यस्तो ! तिनको शिक्षाले जातजन्य अहंकार, घृणा र दुर्भावका भाइरसलाई किञ्चित् निम्छरो तुल्याउन पनि सकेनछ । आश्चर्य लाग्छ, यी युवाहरुको थोरैमात्र पनि मानविकरण गर्न नसक्ने कस्तो शिक्षा होला यो ? त्यो पनि अन्त होइन, सत्ताधारी माओवादीको बिगबिगी भएका गाउँमा !

मार्ने दुष्टहरुले मारे, मर्ने अभागीहरु मरे । अब गर्ने के ? अब शायद सदाझैँ रागरटनाको उही अन्तहीन लाग्ने दुश्चक्र दोहोरिने छ । मार्ने पीडकलाई हदैसम्मको दण्ड–सजाय, मारिने पीडितलाई यथोचित न्याय–निसाप । मार्ने सरकारी पक्षले अब प्रमाण मेट्न र उम्किन साम, दाम, दण्ड, भेद यावत् जुक्ति प्रयोग गर्ला । मारिने पक्ष आर्तनाद गर्दै भनिरहला— खबरदार ! यो जङ्गली राजमा न्यायको किनबेच नहोस् । अमानवीय जातीय छुवाछूत मुर्दावाद ! दलितमुक्ति जिन्दावाद ! नवराज.विकलाई प्रेमपथका शहीद घोषणा गर ! हाम्रो आन्दोलन जारी छ !


मेरै जीवनकालमा कत्राकत्रा आन्दोलन भए, कत्राकता बलिदान भए ! तर, जातीय छुवाछूतको दलितमारा भाइरस मासिएन । अनुभव भन्छ— पुस्तौँदेखि मानिसको रगतका कणकणमा टाँसिएर आएको यो भाइरसलाई मास्न केवल बोक्रे, मौसमी र सतही राजनीतिक हुङ्कारले नपुग्ने रहेछ । क्षणभरको आवेग, उत्तेजना र आक्रोशको वृक्षमा मानव विवेकलाई ब्युँझाउने दिगो फल नलाग्ने रहेछ । माओवादी क्षणिक अभियानको क्षणभङ्गुर र खोक्रो नतिजा देखियो त ! यो मान्छेमारा भाइरससँग जुध्न दीर्घकालीन र अटुट सांस्कृतिक अभियानको खाँचो छ ।


मेरै जीवनकालमा कत्राकत्रा आन्दोलन भए, कत्राकता बलिदान भए ! तर, जातीय छुवाछूतको दलितमारा भाइरस मासिएन । अनुभव भन्छ— पुस्तौँदेखि मानिसको रगतका कणकणमा टाँसिएर आएको यो भाइरसलाई मास्न केवल बोक्रे, मौसमी र सतही राजनीतिक हुङ्कारले नपुग्ने रहेछ । क्षणभरको आवेग, उत्तेजना र आक्रोशको वृक्षमा मानव विवेकलाई ब्युँझाउने दिगो फल नलाग्ने रहेछ । माओवादी क्षणिक अभियानको क्षणभङ्गुर र खोक्रो नतिजा देखियो त ! यो मान्छेमारा भाइरससँग जुध्न दीर्घकालीन र अटुट सांस्कृतिक अभियानको खाँचो छ । सुकुलगण्डे गफमा होइन, बस्तीबस्तीमा । माध्यम मूलतः गीत, नाटक, फिल्म, व्यङ्ग्य, परिहास र चित्ताकर्षक एवं उद्वेलनकारी वचन–प्रवाह हुनसक्छ । खिया लागेको आत्मामा जातीय दुर्वाभका विषाणहरुको धोक्रो बोकेर हिँडेका दुराग्रही, संकीर्णमति र कुपमण्डुक दुःखीहरुलाई पूर्वाग्रह र अन्धविश्वासको लम्पट निन्द्राबाट ब्युँझाउन किमार्थ सजिलो छैन । तर, नम्र निवेदन, प्रेमपूर्ण सम्झाइ–बुझाइ, सद्बुद्धिदायी ज्ञानगुनको प्रसार, इख्याउने कुरिकुरी र अर्थयुक्त मनोरञ्जनका माध्यमहरुको अविच्छिन्न प्रयोगले रुढ एवं जड मानव–आत्मालाई ब्युँझाउन कसो नसकिएला ? नूतन, विवेकशील र साझा जनपथको जागरणकारी अभियानमा नडट्ने भए ‘नयाँ शक्ति’, ‘विवेकशील’ र ‘’साझा’ भनिन रुचाउनेहरुको आखिर के काम ? केवल आत्ममुग्धताकारी गफले स्वतः नयाँ, विवेकशील र साझा भइने होइन केरे ! अँ, आहुति नेतृत्वको ‘समाजवादी–वैज्ञानिक’ले आफ्नो दृष्टि, मति र सामर्थ्य तौल्न इतिहासको परीक्षामा बस्न बाँकी नै छ । जातिवादका अनेकओली मानवद्वेषी भाइरसविरुद्वको खाली मैदानमा यो ‘समाजवादी–वैज्ञानिक’ लोकलाई के भन्न र के गर्न कहाँनेर उँभिएला भनी हेर्न शायद धेरैको उत्सुकता होला ।

प्रेमपथका वीर शहीद नवराज विक र सहयोगीजन जिन्दावाद !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप