शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा विवादको विषयमा के भन्छन् कलाकर्मी ?

शनिबार, १७ जेठ २०७७, १९ : ३०
शनिबार, १७ जेठ २०७७

काठमाडौं । भारतको अतिक्रमणमा परेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा नेपाल सरकारले अनुमोदन गर्नुका साथै त्यसलाई आधिकारिकता दिन संविधान संशोधनको तयारी भइरहेको छ । 
सरकारको यो कदमको स्वागत गर्दै ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, हामीले पाउन पर्छ’ भन्ने आवाज देशमा चौतफी गुन्जिरहेको छ । यस्तैमा कलाकर्मी पनि सरकारको निर्णयमा उत्साहित भएका छन् भने उनीहरुले भारतसँग वार्ता गरेर आधिकारिक रुपमा आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने धारणा राखेका छन् ।   सीमा विवाद र सरकारी कदमका सन्दर्भमा नेपाली कलाकर्मीको धारणा उनीहरुकै शब्दमाः

यादव खरेल (गीतकार तथा चलचित्र निर्देशक) 
सीमाको विषयमा अहिले राज्यले चालेको कदम एकदम राम्रो छ । बिभिन्न कालखन्डमा नेपालमा जजसले शासन चलाए । ती सबै विवरण अहिले बाहिर ल्याइएको छ । हामीले आफ्नो भूमिमा दाबी पहिले नै गर्नुपथ्र्याे । त्यो हुन सकेन । महेन्द्रको पालामा बास बस्न मात्र दिएको लिपुलेकमा भारतले पर्मानेन्ट आर्मी राख्नु हँुदैन थियो । हामीले पहिले चुप बस्नु हँुदैन थियो ।
तर पनि अहिले पहल सुरु भएको छ । अहिले विवादमा रहेका भूभाग नेपालको हो भन्ने हामीसँग धेरै प्रमाण छन् । अन्तरार्ष्ट्रिय क्षेत्रमा पनि होला । अहिले भारतले नेपालको भूमिमा सडक बनाएको छ । यो हामी सानो मुलुक भएको हिसावले हेपेर हाम्रो सर्वभौमसत्ता माथिको हस्तक्षप गर्न खोजेको मेरो बुझाइ हो । यो विषय अव वार्ताबाट समाधान गर्नुपर्छ । यसका लागि अव पछि हट्नु हुँदैन । 
अहिले देखिएको विवादका क्षेत्र मात्र होइन । देशका धेरै ठाउँका सीमा भारतले मिचेको छ । जंगे पिल्लर सारेको छ । यो भारतको नेपाल प्रतिको अत्याचार हो । नेपालले सीमा विवाद मिलाएर भारतसँगको सीमामा काँडेतार नै लगाउनु पर्छ भन्ने मेरो धारणा हो । नत्रभने भारतले जहिले पनि हाम्रो भूमिप्रति नराम्रो नियति गरिरहन्छ । 

रायन श्रेष्ठ (जनगायक) 
सीमाको लागि भारतसँग युद्धमा उत्रिने हाम्रो हैसियत छैन । त्यसैले हामीले कुटनीतिक रुपमा यसको समाधानको उपाया खोज्नु पर्छ । हामीसँग भएको प्रमाणले विवादमा रहेको भूभाग हाम्रो हो भन्ने अकाट्य दाबी गर्छ । हाम्रो सीमाको विषयमा भारतीय पक्षले नै बेलाबेलामा प्रकाशन गरेका प्रमाण पनि हामीसँग छन् । ती प्रमाण त उनीहरुले मान्दैनौं भन्न सक्दैनन् होला ।
भारतलेसजिलै मान्छ भन्ने पनि लाग्दैन । तर, हामीले १८१६को सन्धि अगाडि सारेर दर्बिलो रुपमा प्रस्तुत हुनसक्नु पर्छ ।

मदनकृष्ण श्रेष्ठ (कलाकार) 
नेपाल भारतबीचको सीमा विवाद कुटनीतिक तवरबाट प्रमाणहरु पेस गरेर समाधान गर्नुपर्छ । भारतीय पक्षले नक्कली प्रमाण पनि बनाउँला । त्यसमा सचेत हुनुपर्छ । हाम्रो पक्षबाट पनि नक्कली प्रमाण बनाउनु हुँदैन । सत्यतथ्य प्रमाण पेस गरेर, टेबुलटकबाट आफ्नो भूमि फिर्ता लिनुपर्छ । 
हामीलाई भारतको भूभागबाट एक इन्च पनि चाहिँदैन । हाम्रो पनि छोड्नु हुँदैन । अहिले भारतमा शासन गरिरहेको भारतीय जनता पार्टी पनि धर्ममा आधारित छ । त्यसले अन्याय गर्दैन भन्ने हाम्रो विश्वास हो । शान्तिपूर्वक, सम्मानपूर्वक कूटनीतिक तवरबाट हाम्रो भूमि फिर्ता लिनुपर्छ ।
भारतबाट नठगिएको नेपाली सायद छैन होला । त्यसो भन्दैमा भारतमा राम्रा मानिस नभएको पनि होइन । धेरै राम्रा मानिस पनि छन् । नेपाललाई माया गर्ने नेता पनि छन् । ती सबैले नेपाललाई अन्याय हुन दिँदैनन् । 

हरिबंश आचार्य (कलाकार) 
नेपाल भारत सीमा विवाद समाधान त्यति सजिलो त छैन । हामीले लालपुर्जा भर्खर दर्ता गरेका छौं । जुन हराइरहेको थियो । सीमाको विषयमा अहिले देशका राजनीतिक पार्टी, जनतालगायत सबैको एउटै आवाज छ ।
सीमाको विषयमा हामीसँग भएको ऐतिहासिक दस्तावेज, प्रमाण लिएरवार्तामा बसियो भने ढिलोचाँडो हामीले हाम्रो भूभाग पाउन सक्छौं । हामी आफ्नो अधिकार लिन पछि हट्नुहुँदैन । हामीले वार्ता र प्रमाणबाट भारतलाई गलाउन सक्नुपर्छ ।

करिश्मा मानन्धर (अभिनेत्री) 
सीमा विवाद टुङ्ग्याउने विषयमा राज्यले केही न केही अवश्य सोचेको होला । मेरो विचारमा यो विवाद कुटनीतिक तवरबाट समाधान गर्दा राम्रो हुन्छ । भारतले यस विषयमा नेपालसँग वार्तामा बस्न चासो नदेखाएको, समय नदिएको भन्ने पनि आएको छ । सशक्त ढंगले कूटनीतिक पहल गरेर हाम्रो भूमिको विषयमा हामीसँग रहेको प्रमाण मार्फत आफ्नो भूमि फिर्ता लिनुपर्छ ।
हामीले अरुको भूमि मागेको भनेको होइन । आफ्नो भूमि माग्नु हाम्रो अधिकार हो । 

जीवन शर्मा (जनगायक) 
सीमा विवादको समाधान डिप्लोमेटिक तवरबाट खोजिनु पर्छ । यो नै सबैभन्दा राम्रो हो भन्ने मलाई लागेको छ । हाम्रो देशको स्थिति, अवस्थितिलगायत विभिन्न कारणले सीमा विवादका लागि कूटनीतिक प्रयत्न राम्रो हुन्छ । अर्काे अन्तर्राष्ट्रिय जगतको मध्यस्तमा पनि गर्न सकिन्छ ।
त्यसका लागि हामीले हाम्रो प्रमाणहरु खोजेर तयारी अवस्थामा राख्न सक्नुपर्छ । सीमाका लागि हामी पछि हट्नु हुँदैन । अरुको भूमि अलि कति पनि चाहिँदैन । हाम्रो भूमि छोड्नु हुँदैन । हामीले आवश्यक परे अन्तर्राष्ट्रिय दवाव सिर्जना गर्नुपर्ने हुनसक्छ ।

सन्तोष लोहनी (चलचित्र निर्देशक) 
भारतीय पक्षसँग टेबुल टक गरेर आफ्नो प्रमाणहरु राखेर सीमा विवाद मिलाउनु पर्छ । ती भूभाग हाम्रो हो । हामीसँग त्यो आफ्नो हो भन्ने प्रमाण धेरै छन् । अहिले सीमाको विषयमा भारतीय मिडियाबाट नराम्रो प्रचारहरु भइरहेको छ । हामीले त्यस्तो मिडियाबाजी गर्नु भन्दा पनि ऐतिहासिक प्रमाणहरुको आधारमा कसको दाबी बलियो भनेर टेबुल टक गर्नुपर्छ ।
विवादको सबैभन्दा राम्रो समाधान टेबुल टक हो । भारतीय पक्षले यस विषयमा चासो देखाएन, टेबुलटकमा बसेन भने अन्तर्राष्ट्रिय पहलबाट पनि हाम्रो भूमि फिर्ता लिन हामी चुक्नु हँुदैन । पेल्न खोज्यो भने र पर्यो भने सीमा रक्षाका लागि लड्न हामी नेपाली तयार छौं ।

नवल खड्का (अभिनेता) 
वार्ता भन्दा राम्रो विवाद टुङ्ग्याउने उपयुक्त माध्यम अर्काे छैन । त्यसैले पहिले प्रमाण र दाबीको आधारमा भारतीय पक्षसँग दुईपक्ष बार्ता गर्नुपर्छ । यसबाट पनि भएन भने भारत, चीन र नेपालको त्रिपक्षीय वार्ता गर्ने । यो पनि भएन भने यो विषयमा अन्तराष्ट्रिय अदालत जाने । त्यसो गर्दा पनि भएन भने अरु के गर्ने सोच्न सकिन्छ । यसका लागि नेपाल सरकारले सीमा रक्षाका लागि हरेक नेपालीलाई तयार गनुपर्छ । 
दीपकराज गिरी (अभिनेता) 
हाम्रो देश सानो छ । सानोदेश भएको हिसावले अन्तर्राष्ट्रिय स्तरमा हाम्रा आवाज पुर्याउन गाह्रो पनि होला । हाम्रो तुलनामा भारत बलियो छ । अन्तर्राष्ट्रिय अदालतमा पनि प्राय बलियाको नै कुरा सुनिन्छ । मेरो विचारमा नेपाल र भारतबीच दुई पक्षीय वार्ताबाटै सीमा विवाद समाधान गर्नुपर्छ ।
नेपाल र भारतको सम्बन्ध जनता स्तरमा त धेरै राम्रो छ । भारतमा रहेका धेरै राजनीतिक पार्टी नेपालसँग पोजेटिभ पनि छन् । यो विवाद समाधानका लागि वार्ताभन्दा राम्रो उपाया अन्य छैन । लिम्पियाधुरा हाम्रो हो । हामीले लिनुपर्छ । हामीले त्यो भूभाग दाबी गर्ने प्रमाणहरु पेस गर्नुपर्छ । यो विषयमा भारतलाई गाली गर्ने, भारतीयलाई गाली गर्ने कसैले पनि गर्नुहुन्न । 

प्रदीपकुमार उदय (निर्माता) 
सीमा विवाद वार्ताद्वारा टुङ्ग्याउनु पर्छ । त्यसका लागि हामीले आफ्नो दाबी प्रमाण दह्रो पेस गर्नुपर्छ । वार्तामा जुन देशको प्रमाण पुग्छ । त्यो भूमि उसको हुन्छ । मलाई लाग्छ अहिले विवादमा रहेको भूमिका लागि हाम्रो देशको दाबी प्रमाण पुग्छ । त्यो हाम्रो हो । वार्ताबाट समाधान हुन सकेन भने अन्तर्राष्ट्रियकरण गरेर पनि समाधान गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप