बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अब्बल बन्दैछ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

शनिबार, १७ जेठ २०७७, १७ : ४०
शनिबार, १७ जेठ २०७७

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आफ्नो  अब्बलता प्रस्तुत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना उपचारका लागि निर्धारण गरेका देशका  अस्पतालमध्ये सो अस्पताल अहिले दोस्रो स्थानमा रहेको जनाइएको छ ।

कोरोनाको सम्भावित जोखिमलाई ध्यानदिँदै प्रतिष्ठानका नेतृत्वले शुरुमै यसको नियन्त्रण तथा उपचारमा स्वास्थ्यकर्मीबीचको छलफललाई सघनता दिएका थिए ।  अस्पताल निर्देशक डा मङ्गल रावल भने, ‘नेपालमा कोरोनाका बिरामी देखा परेसँगै प्रतिष्ठानले कोभिड टाक्स ग्रुप बनाएर आफ्नो गतिविधि अगाडि बढाइसकेको थियो । प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जोखिमका बारेमा पूर्व तयारीमा रहन ध्यान आन्तरिक तयार गरेका थिऔँ ।’
 
शुरुआति दिनमा स्थानीयस्तरमै पिपिइ सेट तथा स्यानिटाइजरको प्रतिष्ठानले आफैले व्यवस्थापन थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल्याङ्कनका अनुसार  कोरोना सम्बन्धी सेवा तथा उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पछि  प्रतिष्ठान परेको छ । 

आगामी वर्षको बजेटमा समेत प्रतिष्ठान उच्च प्रथामिकतामा परेको छ । ‘कर्णावासीलाई स्वास्थ्य सेवा दिन प्रतिष्ठानले अहोरात्र जुटिरहेको छ ।’ प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज बाग्लेले भने ।   कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय समिति सिसिएमसीको बैठकमा प्रतिष्ठानको कामले यतिबेला चर्चा पाएको छ । प्रतिष्ठानले परिचालन गरेको जनशक्ति र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको बिधि (मोडालिटी) देशभरिका लागि नै अनुशरण योग्य भएको बताइएको छ । 
 
माथिल्लो कर्णालीको मात्र कोरोना परीक्षण जिम्मेवारी पाएको प्रतिष्ठानले सुर्खेत र  दैलेख जिल्लाका पनि स्वाब परीक्षण गर्न थालेको छ । ती जिल्लाका एक हजार ४० जनाको स्वाब परीक्षणमा दैलेख नारायण नगरपालिकाभित्रका १४ जना कोरोना सङ्क्रमण पुष्टि भएको प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरले जानकारी दिए । गत वैशाख २२ देखि सञ्चालनमा ल्याएको पिसीआर उपकरणबाट अहिलेसम्म तीन हजार बढीको स्वाब परीक्षण भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाले जानकारी दिए ।  सबैभन्दापछि उपकरण सञ्चालनमा ल्याए पनि काम द्रुतगतिमा भइरहेको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए ।  

प्रतिष्ठानमा कार्यरत विशेषज्ञ चिकित्सक अशोक गौतम हुम्लामा स्वास्थ्य सेवा प्रदान गरिरहनुभएको छ । दैनिक आठ घण्टाको यात्रा गरेर सर्वसाधारणलाई स्वास्थ्य सेवा दिइरहेका छन् । कोरोना भाइरस सङ्क्रमण फैलन अपनाउनुपर्ने सावधानीका विषयमा स्थानीयवासीलाई सतर्क गरिरहेका छन् । सधैँ प्रतिष्ठानमा आउने बिरामीको मात्र हेरबिचार गर्नुभएका उनी दुर्गममा निकै जमेका छन् । उनीसँगै स्वास्थ्यकर्मी कर्मेन्द्र न्यौपाने रहेका छन् । सदरमुकाम सिमिकोटबाट झण्डै तीन दिनको यात्रा गरेर पुगिने दुर्गम क्षेत्रका सेवा गर्दै आएका छन् ।

प्रतिष्ठानका अर्का विशेषज्ञ चिकित्सक शेरमान गुरुङ मुगुको कार्मारोङमा खटिएका छन् । उनी निकै खुशी छन् । कर्णाली पहिलेदेखि स्वास्थ्य सेवाका हिसाबले निकै कमजोर क्षेत्र हो । तर अहिले गाउँगाउँमा विशेषज्ञ सेवा सञ्चालन भइरहेको छ । कोराना भाइरसको जोखिमका समयमा उनी स्वाब सङ्कलन गर्ने र बिरामीको जाँच गर्ने कार्य गरिरहेका छन् । 

विशेषज्ञ चिकित्सक टङ्क आचार्य कालिकोटमा सेवारत रहेका छन्  । उनी यतिबेला बिरामीको उपचार तथा  स्वाब सङ्कलनमा ब्यस्त छन् । हुम्लाको एलवाङ, सर्केघाट, दार्मा, श्रीनगर र अदानचुलीमा चिकित्सक तथा स्वास्थ्यकर्मी खटिएका छन् । हुम्लाको लागि मात्र छ चिकित्सक खटिएका हुन् । मुगुको सोरु र कार्मारोङ क्षेत्रमा एक महिनाको लागि चिकित्सकको टोली खटाइएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।  कोरोनामा केन्द्रित गरेर चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको उनको भनाइ छ । गाउँमा स्वास्थ्यकर्मी पुग्दा मुगुबासी निकै खुशी छन् । कर्णालीको हुम्ला, मुगु हेलिकोप्टरले स्वास्थ्यकर्मीको टोली पु¥याएको थियो ।

कालिकोट जिल्लाको रासकोट, शुभकालिका र महावै गाउँपालिकामा प्रतिष्ठानको चिकित्सक खटिएका छन् । गाउँमा बिरामीको जाँच, कोरानाका बारे सचेतना र कोरोना परीक्षणका लागि स्वाब सङ्कलन  जारी रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप