शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठकमा जंगिए बामदेव : अर्थमन्त्रीबाट पार्टीको अपमान भयो

अनुमोदन नभएसम्म एमसीसीका कुनैपनि काम अघि नबढाइने
शनिबार, १७ जेठ २०७७, १३ : ५६
शनिबार, १७ जेठ २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतम अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडामाथि खनिएका छन् । 

बैठकमा नेताहरुले आर्थिक वर्ष २०७७–७८ को बजेटमा एमसीसी घुसाइएको भन्दै असन्तुष्टि जनाएपछि अर्थमन्त्री खतिवडाले पहिलेदेखि नै चर्चामा आएको विषय भएकाले बजेटमा सो कुरा राखिएको हल्का जवाफ दिएका थिए । उनले एमसीसीको विषय नीति तथा कार्यक्रममा पनि रहेको र संसदबाट पारित हुने क्रममा रहेको भन्दै बजेटमा राखिएको विषयलाई अन्यथा लिन नहुने बताएका थिए । 

अर्थमन्त्रीको यस्तो बताएलगत्तै उपाध्यक्ष गौतम उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले बजेट  कानुन पनि भएको भन्दै मनपरी निर्णय गरेर अर्थमन्त्रीले पार्टीलाई नै अपमान गरेको आरोप लगाए ।

 ‘बजेटमा एमसीसी राख्ने विषयमा कहाँ कुरा भयो ? पार्टीभित्र छलफल नै नभइ मनपरी बजेटमा राख्ने ? अर्थमन्त्रीमाथि खनिँदै बैठकमा बामदेवले भनेका थिए, ‘बजेट भनेको कानुन हो । होइन यत्तिकै राखेको भनेर गलत कुरा गर्नु भयो । पार्टीको निर्णय नभइ बजेटमा राखेर पार्टीको अपमान गर्नुभयो ।’

बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित, झलनाथ खनाल, माधवकुमार नेपाल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले बजेटमा एमसीसी घुसाइएपनि असन्तुष्टि जनाएका थिए । तर इश्वर पोखरेल मौन बसेका थिए । 
यस्तै बैठकमा आमन्त्रित भीम रावलले पनि एमसीसीका कतिपय बुँदाहरु राष्ट्रिय हितअनुरुप नभएको भन्दै यही अवस्थामा बजेटमा घुसाइनु गम्भीर गल्ती भएको बताएका थिए । 

स्रोतका अनुसार बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने विश्वसनीय परराष्ट्र सम्बन्ध र कूटनीतिमा पर्नसक्ने असरको कुरा पुरानो कुरा दोहोर्याउँदै एमसीसी पास हुनुपर्ने धारणा राखेका थिए । 

बैठकमा एमसीसीको विषयमा गरमागरम बहस भएपनि शनिबार बैठकमा प्रधानमन्त्री ओली शान्त देखिन्थे । यसअघिका बैठकमा दवावमा परेपछि आक्रोशित बन्ने गरेका ओलीको आजको शालिन प्रस्तुतीले आफूहरुलाई खुसी बनाएको एक सचिवालय सदस्यले प्रतिक्रिया दिए । 

उनले एमसीसी संसदमा विचाराधीन अवस्थामा रहेको भन्दै त्यहाँबाट पारित भएमात्रै कार्यान्वयनमा जाने बताए । 

एमसीसी अनुमोदन नभएसम्म त्यससँग सम्बन्धित कुनैपनि काम अघि नबढाउने समेत बताएका छन् । त्यसका लागि कर्मचारीलाई बोलाएर आवश्यक निर्देशन दिने पनि प्रमले बताएका छन् । 

बैठकमा प्रधानमन्त्रीले एमसीसीमा राष्ट्रिय स्वाधीनताको सवालमा केही आँच आउने र सच्याउन पर्ने कुरा केही छ त्यसलाई छलफलबाट निष्कर्षमा पुर्याउने बताएका थिए । 

बैठकले एमसीसीको सन्दर्भमा यसअघि पार्टीको अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन समेतको आधारमा आगामी बैठकबाट थप निर्णय गर्ने निष्कर्ष समेत निकालेको छ । 
यस्तै एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको छिनोफानो संसदबाटै हुने निष्कर्ष पनि निकालिएको छ ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा एमसीसीको विषय उल्लेख भएकोबारे छलफल भएको भन्दै संसदबाट पारित भएको अवस्थामा मात्रै सो विषय कार्यान्वयन हुने बताए ।

 यसअघि नै प्रधानमन्त्रीले एमसीसी पारित हुने आशय व्यक्त गरेका थिए भने संसदमा निणयार्थ पेस भएपछि जे निर्णय आउँछ सोही आधारमा सरकार अघि बढ्ने बताएका थिए । 

बैठकले संसदमा एमसीसीको विषयमा अर्थमन्त्रीले सोहीअनुसार जवाफ दिने निर्णय समेत भएको प्रवक्ता श्रेष्ठले बताए । 

नेकपाभित्र एमसीसीको विषयमा चर्को विवाद रहेको छ । विवाद समाधान उद्देश्यले नै गत केन्द्रीय समिति बैठकबाट नेकपाले झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदीप कुमार ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो । 

सो कार्यददले एमसीसीसँग सम्बन्धित ११ वटा बुँदाहरू सच्याउन सुझाव दिएको थियो  । यस्तै नेपालको राष्ट्रिय सुरक्षाका विषयहरूलाई गम्भीर रूपमा सम्बोधन गर्न संशोधनको आवश्यकता रहेको पनि ठहर गरिएको थियो । एमसीसीकै विषयमा छलफल हुने भएपछि सचिवालय टीममा नरहेका  रावल, खतिवडा र ज्ञवालीलाई पनि आजको वैठकमा सहभागी गराइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप