बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अब भिडभाडमा एकैपटक ज्वरो नाप्न सकिने, राम लक्ष्मण दाजुभाइले तयार गरे थर्मोग्राफिक क्यामेरा

के हो थर्मोग्राफिक क्यामेरा तथा कम्प्युटर सफ्टवेयर ?
शनिबार, १७ जेठ २०७७, १२ : ५०
शनिबार, १७ जेठ २०७७

विश्वभर जस्तै नेपालमा पनि कोरोनाभाइरस (कोभिड–१९) महामारीको समय छ । महामारीको जोखिम न्यूनीकरणका लागि मुलुक ६८ दिनयता ‘लकडाउन’ मा छ । हालसम्म कोरोनाको कुनै औषधि पत्ता नलागिसकेको तथा महामारी पनि कहिलेसम्म जान्छ भन्ने ठोस जवाफ कसैसँग नहुँदा चौतर्फी अन्योलता र त्रास व्याप्त छ । 

लकडाउन नै कोरोना नियन्त्रणको सधैं विकल्प हुन पनि सक्दैन, न त निर्विकल्प समाधान । त्यसैले, परिस्थितिलाई सामान्य कसरी पार्ने भन्ने विषयनै अहिलेको मुख्य सवाल हो । परिस्थिति सामान्य बनाउने प्रयासस्वरुप नेपालमै पनि विभिन्न अन्वेषणहरु हुन थालेका छन् । यस्तैमा सूचना प्रविधि क्षेत्रमा अनुसन्धान र विकासमा सक्रिय नेपाली जुम्ल्याहा दाजुभाइ राम लक्ष्मण रिमालले समूहमा भएका व्यक्तिहरुमा ज्वरो भए–नभएको पहिचान गर्ने ‘थर्मोग्राफिक क्यामेरा’को विकास गरेका छन् । 

राम लक्ष्मणको प्रविधिसम्बन्धी कम्पनी ‘रामलक्ष्मण इनोभेसन्स् प्रालि’ ले थर्मोग्राफिक क्यामेरा तथा कम्प्युटर सफ्टवेयरको विकास गरी संचालनमा ल्याएको हो । सोही कम्पनीमार्फत उनीहरुले विगत लामो समयदेखि नयाँनयाँ प्रविधिको अनुसन्धान तथा अन्वेषण गरी विभिन्न उपकरणको निर्माण गर्दै आएका छन् । चीनलगायतका विकशित देशले पहिलेदेखिनै प्रयोगमा ल्याइसकेको यो प्रविधि नेपालमा भने विल्कुलै नयाँ हो । 

के हो थर्मोग्राफिक क्यामेरा तथा कम्प्युटर सफ्टवेयर?


विश्वस्वास्थ्य संगठनको अनुसन्धान र हालसम्मको अनुभवले कोरोनाभाइरसको जाँचेर पत्ता लगाउन सकिने मुख्य लक्षण ज्वरो हो । १००.२ डिग्री भन्दा बढि ज्वरो आउनु यसको पहिलो लक्षण मानिन्छ । त्यसैले अहिले सवैतिर सर्वसाधारणहरु आवतजावत गरिने स्थानहरुमा थर्मलगन राखेर ज्वरो मापन भइरहेको छ ।

कोरोना संक्रमणबाट बच्नका लागि सामाजिक दुरी अर्को धेरै सुनिएको र हामीले अनुशरण गरिरहेको कुरा हो । थर्मल गनले ज्वरो नाप्दा कुनै व्यक्तिको १०–१५ सेन्टिमिटरसम्म जानुपर्छ, जुन अत्यन्तै जोखिमको क्षेत्र हो । फेरि ज्वरो देखिइहालेमा दोहोर्याई तेहेर्याई नाप्ने गरिन्छ । तर थर्मल गनमा कुनै रेकर्ड भने हुँदैन । यसले संक्रमणको जोखिम झनै बढाइरहेको हुन्छ । 

यदि ज्वरो नाप्ने व्यक्तिलाई भाइरस सरेमा त्यसको नतिजा अति भयावह रहन्छ । फेरि हामी सामाजिक दुरीलाई लत्याइरहेका छौं । आज नेपालमा पनि दिन दुगुना रात चौगुनाका दरले संक्रमित बढिरहेका छन् ।  केसहरु बढ्दै जाँदा सावधानी झनै अपनाउनु पर्छ ।

यी सबै कुराहरलाई मध्यजनज गर्दै राम लक्ष्मण इनोभेसन्स प्रालिले विभिन्न देशहरुबाट कच्चा पदार्थहरु संकलन गरी थर्मोग्राफिक क्यामेरा तथा कम्प्युटर सफ्टवेयर तयार गरेको जनाएको छ । जसको माध्यमबाट समूहमा रहेका व्यक्तिहरुको एकैपटक तापक्रम मापन गर्न सकिन्छ । 

यदि तोकिएको (मानौ ९९ डिग्री) भन्दा बढि तापक्रम क्यामेराले पायो भने ५ मिटर परैबाट समूहमा रहेको उक्त व्यक्तिलाई चिनेर अलार्म बजाइदिन्छ । जसले गर्दा उक्त व्यक्तिलाई विशेष सावधानीका साथ थप परीक्षणको लागि रोक्न सकिन्छ र सम्भावित संक्रमणको जोखिम कम हुन्छ । र, थर्मोग्राफिक क्यामेराले रेकर्ड गरेका डाटालाई कम्प्युटर सफ्टवेयरले कन्ट्रोल गर्छ । थर्मोग्राफिक क्यामेराको सेन्सर अमेरिकाबाट र क्यामेरा चीनबाट ल्याइ निर्माण गरिएको रिमाल दाजुभाइले बताए । 

कोरोनाको महामारीबाट ‘आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्नकै लागि थर्मोग्राफिक क्यामेरा तथा कम्प्युटर सफ्टवेयर तयार पारेको रामलक्ष्मण इनोभेसन्स्का अध्यक्ष राम रिमालले बताए । 

कसरी काम गर्छ थर्मोग्राफिक क्यामेराले ?
नेपालमा विकास गरिएको थर्मोग्राफिक क्यामेराले एउटै समूहमा रहेका ६ जनासम्मको तामक्रम एकै समयमा नाप्न सक्छ । क्यामेरामा उच्च ज्वरो पत्ता लगाउने प्रणाली जडान गरिएको हुन्छ, जसले समूहमा रहेका मध्ये उच्च तामक्रम हुने व्यक्ति पहिचान गरी अलार्म बजाइदिन्छ । यतिमात्र होइन क्यामेराले उक्त व्यक्तिको फोटो पनि खिचिदिन्छ र सर्भरमा तत्काल पठाइदिन्छ । जसबाट उच्च तापक्रम भएको व्यक्तिलाई समूहबाट छुट्याएर उपचारका लागि लैजान सकिन्छ ।

राम लक्ष्मण इनोभेसन्स्ले निर्माण गरेको यो क्यामेराको रेकर्ड सेन्टर सर्भरमा आउँछ । इनोभेसन्स्का राम रिमालले स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयमा उक्त सर्भरमा प्राप्त डाटालाई तत्काल उपलब्ध गराउने बताएका छन् । त्यसैगरी, इनोभेसन्सले निर्माण गरेको सफ्टवेयर पनि साधारण नेपाली भाषामा सवैले बुझ्ने गरी विकास गरिएको जनाइएको छ । 

 विभिन्न कम्पोनेन्टहरु मिलाएर बनाइएको प्रविधि हो यो । यसलाई ढोका तथा कोठा जहाँ पनि जडान गर्न सकिन्छ । ढोकामा आएका कुनै पनि व्यक्तिमा यदि ज्वरो छ भने उक्त सेन्सरले ढोका बन्द गरिदिन्छ, यसबाट उक्त व्यक्तिले आफूमा ज्वरो भएको थाहा पाउन सक्छ ।

यसको आफ्नै सर्भर छ र मोबाइल, कम्प्यूटर, ल्यापटप, प्याड, क्लाउडमा आउने सिस्टम पनि भएकाले सवैले सजिलै हेर्न मिल्ने रिमाल बताउँछन् । ५ मिटर परैबाट समूहमा ज्वरो भएका व्यक्तिलाई चिनेर अलार्म बजाइदिने भएकाले, भिडभाड हुने स्थलमा यो वरदान सावित हुने निश्चित रहेको रिमाल दाजुभाइको दावी छ ।

थर्मोग्राफिक क्यामेरामा दुईथरी भिजिवल र इन्फारेड(थर्मल) क्यामेरा जडान गरिएको छ । जसले फोटो तथा भिडियो खिच्ने र ज्वरो नाप्ने दुवै काम एकसाथ गर्न सक्छ । भिजिवल क्यामेराले सामान्य फोटो भिडियो खिच्ने काम गर्छ भने इन्फारेडले मानिसको शरीरका हरेक अंग कति कति डिग्रीको छ, मापन गर्छ । यसले शरीरका ५० हजार प्वाइन्टलाई पहिचान (डिटेक्ट) गर्ने क्षमता राख्छ । यी ५० हजार प्वाइन्टमध्ये कतै तापक्रम बढी पाउने वित्तिकै खवर गर्छ । सिस्टमले अनुहार पहिचान गर्छ र अनुहारमा भएको तापक्रमलाई डिटेक्ट गरिदिन्छ । अहिले प्रयोग गरिएको थर्मल गनले पनि अनुहार (निधार)कै तापक्रम पत्ता लगाउने काम गर्छ । यसमा राखिएको भिजिवल क्यामेराले रात(अँध्यारो)को समयमा पनि शरीरको तापक्रम थाहा पाउन सक्छ । 

टार्गेट स्थल
कोरोना महामारीको यो अवस्थामा विशेष गरेर क्वारेन्टाइनस्थलमा यो निकै उपयोगी सावित हुने राम रिमाल बताउँछन् । दिनकै ज्वरो नाप्नुपर्ने अवस्थामा थर्मल गन प्रयोग गर्दा एक त समयको वर्वाद, अर्को जाँच गर्नेलाई पनि संक्रमणको जोखिमा बढी । र, अर्को भनेको यदि जाँच गराउनेलाई संक्रमण रहेछ भने जाँच गर्ने पनि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । 

त्यसैगरी, यो जहाँ पनि जडान गर्न सकिन्छ । घर, अफिस, विद्यालय, कलेज, बाटो, पार्क, सार्वजनिकस्थल, यातायातका साधनलगायतमा यो जडान गर्न सकिन्छ ।
यो अनम्यान सिस्टम हो । मान्छे नहुँदा पनि यसले अलार्म लगाउँछ । मुख्यतयाः सामाजिक र शारीरिक दुरी कायम गर्ने क्रममा यो निकै उपयुक्त हुनेछ र मानिस कोही नहुँदा पनि यसले काम गरिरहेको हुने रिमाल बताउँछन् । 

को हुन् राम लक्ष्मण ?


तपाईँले घरमा पानी तान्ने मेसिमा अटोमेटिक सिस्टम जडान गर्नुभएको छ भने त्यो सिष्टम बनाउने दाजुभाइ हुन् राम लक्ष्मण । अर्थात रामलक्ष्मण इनोभेसन्सका अध्यक्ष हुन्, राम रिमाल र लक्ष्मण रिमाल ।

मुलुकमा लकडाउन सुरु भएसँगै नेपालमा नयाँ प्रविधिको विकासमा जुटेको जुम्लाहा दाजुभाइको कम्पनीले तयार पारेको थर्मोग्राफिक क्यामेरा र कम्प्यूटर सफ्टवेयर अन्ततः संचालनमा आउन थालेको छ । भइरहेका मोडेल र सेन्सरहरुको प्रयोग गरेर नेपालमा नै उत्पादन गरिएको यो मेसिनको मूल्य विदेशबाट खरिद गर्ने भन्दा धेरै नै सस्तो छ  । बाहिरबाट मगाउँदा ज्यादै महंगो पर्ने भएकाले नेपालमा नै उत्पादन गर्न कस्सिएको इनोभेसन्स्का अध्यक्ष राम बताउँछन् । 

क्यामेरामा थर्मलको सेन्सर हुन्छ, यसको लगभग तीन लाख जति पर्न आउँछ । यसको लाइभ रेकर्ड गर्न राम्रो स्क्रिन भएको कम्प्यूटर चाहिन्छ । जसको मूल्य ४० हजार माथि नै पर्न आउँछ र तयारी मूल्य सहित गरेर लगभग चार लाखमा एक सेट तयार हुन्छ । बाहिर प्रयोगमा ल्याइएको भन्दा यो धेरै नै सस्तो पर्न आउँछ । 

नेपालमा थर्मल क्यामेराको प्रयोग विमानस्थल बाहेक अन्तः भएको छैन । विमानस्थलमा जडान गरिएको थर्मल क्यामेराको लगभग १५ लाख पर्न आउँछ भने नेपालमै निर्माण गरिएको थर्मल क्यामेरा लगभग चार लाख पर्ने हुँदा यो धेरै सस्तो पर्न आउँछ । 

यतिमात्र होइन रामलक्ष्मण इनोभेसन्स्ले भोटिङ मेसिन, अटोमेसन सिस्टम (ढोका सेन्सरबाट खुल्ने सिस्टम), बाढी पहिरोको पूर्व सूचना दिने सिस्टम, अटोमेटिक पानी तान्ने मेसिनलगायत लगभग ५० वटा जति आविष्कार गरेर प्रयोगमा ल्याइसकेको छ । यी सवै प्रविधि नास्टले परीक्षण गरेर बजारमा ल्याएको हो । 

त्यसैगरी रामलक्ष्मण इनोभेसन्सले कृषिलाई वैज्ञानिकीकरण गर्ने सिस्टम पनि ल्याएको छ । यसले ठाउँअनुसार कस्ता अन्नबाली लगाउने भन्नेबारे विस्तृत डाटा संकलन गर्ने काम गर्छ, जसलाई कृषि विज्ञले अनुसन्धान गरी अन्नबाली के लगाउने र कसरी लगाउनेबारे थाहा पाउँछ । इनोभेसन्सले अव नार्कसँग मिलेर पनि काम गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप