केन्द्रीय संस्करण

चौरजहारी घटनाका केही भ्रम र यथार्थ

person explore access_timeजेठ १६, २०७७ chat_bubble_outline0

-मेगराज खड्का 

रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा शनिबार साँझ भएको घटना अहिले देशभरीमा एउटा चर्चा र चासोको विषय भएको छ । संसद, सडक, स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ समाचार तथा यससँग सम्बन्धित सामाग्रीहरु आइरहेका छन् । यसभित्र कति सत्य कुराहरु आए, कतिपय समाचार तथ्यभन्दा बाहिर पनि देखिए । घटनापछि जाजरकोटमा दर्जनौं युट्युवरहरु पुगेर मृतकका परिवारहरुलाई थप पीडा दिने काम भएको भन्दै सामाजिक संजालमा आलोचनाहरु समेत भैरहेका छन् । घटनाका विषयमा केही उठेका प्रश्न, भ्रम, आफूले बुझेको यथार्थ र अनुसन्धान प्रकृयाका विषयमा केही उजागर गर्ने प्रयास गरिएको छ। 

के हो चौरजहारी घटना ?
रुकुम चौरजहारी घटना एउटा दुःखद र जघन्य घटना हो । घटना हुनुपूर्वका दुबै पक्षका विभिन्न कमीकमजोरी, घटनाक्रमहरु बाहिरिएका छन् । तर यस अवस्थामा ती सबै बिषयहरु सहायक विषय भएका छन् । किनकी ५ जना मान्छेको ज्यान गएको छ, एक जना बेपत्ता छन् । यसअर्थमा पीडितले न्याय पाउनुपर्छ, दोषीलाई हदैसम्मका सजाय हुनुपर्छ । यसका लागि उक्त घटना कानुनी प्रकृयामा प्रवेश गरेको छ । मृतक परिवारका तर्फबाट किटानी जाहेरी दर्ता भैसकेको छ । जसअनुसार १८ जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरि अदालतबाट समेत १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । घटनाको भित्रि कारण र विषयमा आधिकारिक रुपमा प्रहरीले कुनै पनि कुराहरु सार्वजनिक गरेको छैन । 

सार्वजनिक गरेको छ त केवल बिहे र प्रेम समन्धका विषयमा उक्त घटना घटेको, केटा पक्षका ५ जनाको शव फेला गरेको, एक जना बेपत्ता भएको, घटनाको आशंका र किटानी दर्ताको आधारमा केटी पक्षका १८ जना पक्राउ परेको र अन्य कारणहरुको बिषयमा रुकुम पश्चिम र जाजरकोट प्रहरी लगायतका निकायहरुबाट अनुसन्धान भैरहेको मात्र बताएको छ । 

घटनाको विषयमा केटा र केटी पक्षका विषयहरु लिएर आ–आफ्नै तर्क र धारणाहरु सार्वजनिक हुने क्रम भने रोकिएको छैनन् । अहिलेसम्म उक्त घटनाको विषयमा अधिकारकर्मीहरुले पनि अनुगमन त गरेका छन तर कुनै स्वतन्त्र अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छैनन् । जसका कारण दुबै पक्षका कुराहरु नै विश्लेषण भैरहेका हुन् ।

जसअनुसार केटा पक्षको आफन्तजन तथा साथीहरुको अनुसार जाजरकोटबाट नवराज बिक आफ्नो १९ जना साथीहरु लिएर चौरजहारी नगरपालिका स्थित सोती गाउँमा एक मल्ल थरकी किशोरी भगाउन पुगेका थिए । केटा–केटीबीचको सम्बन्ध राम्रो थियो, केटीले नै केटालाई फोन गरेर आफूलाई लिन डाकेकी थिइन् । जब उनीहरु केटीको घरनजिक पुगे तब केटीको आफन्तजनहरुले जातीय भेदभाव गर्दै लखेटियो, कुटियो र गाउँ नजिकैबाट बग्ने भेरि नदिमा बगाइयो । उता केटीपक्षका आफन्तको कुरा अनुसार साँझको समय थियो, लकडाउनको समय थियो, जसका कारण जाजरकोटबाट १९÷२० जनाको समूह गाउँमा आउँदा, केटीको घरनजिक पुगेर होहल्ला गर्दा कहाँ के भयो भनेर गाउँलेहरु जम्मा भएको र लकडाउनको समयमा किन यत्रो मान्छे बाहिरबाट आएको भनेर बादबिबादहरु र झगडा हुँदा भागदौड हुन पुगेको र यस क्रममा भेरी नदीमा बगेर उनीहरुको ज्यान गएको हुनसक्ने बताएका छन् । उनीहरु अन्तरजातीय भेदभावका कारण घटना घटेको भनाइप्रति सहमत छैनन् । जेजस्तो तर्क आएपनि प्रहरी प्रशासनको अनुसन्धान र शवको पोष्र्टमार्टम रिपोर्टपछि घटनाको पक्कै पनि सत्यतथ्य बाहिर आउने छ र पीडितले न्याय पाउनेछन् ।  

घटनाको कारण के?
यो घटना हुनुमा अन्य कारणसँगै अन्तरजातीय प्रेमसम्बन्ध पनि एउटा कारण हुनसक्छ । तर जातीय विभेदमात्र कारण हो भन्ने अहिलेसम्म कुनै आधिकारिक पुष्टि भने भएको छैन । अर्को कुरा उक्त घटनामा केटाको पक्षबाट आएका सबै दलित मात्र छैनन् । शाही, बुढा, मगर र अन्य जाती पनि छन् । केटा पक्षकै तर्फबाट आउने १८ जना मध्येका एक जना जाजरकोटकै गोबिन्द शाही बेपत्ता नै छन् ।

यसको मतलव उक्त घटनामा केटा र केटीको तर्फबाट दलित, जनजाती र कथित ठुलो जात भनिने मल्ल ठकुरीहरु पनि संलग्न देखिन्छन् ।  तर मृतकका परिवारले यो घटनाका घट्नुमा अन्तरजातीय विभेदकै रुपमा लिएका कारण केहीले त्यस विषय पनि अथ्र्याएका छन् । 

तर केटी पक्षका आफन्तहरुले अन्तरजातीय भनेर विभेदलाई स्वीकार गरेका छैनन् । उनीहरुले गाउँको लागि यो नौलो कुनै अन्तरजातीय प्रेम वा विवाहको विषय नै नभएको बताएका छन् । सोती गाउँमा नै दलितको छोरी मल्ल परिवारले र मल्ल परिवारले दलितको छोरी लिएर कुनै भेदभावबिनै सहज तरिकाले घरव्यवहार चलाएको तीनचार वटै उदारहणहरु छन् । त्यसकारण दलित र गैरदलित बिचको खाडल नै समस्याको मु्ल जड हो भन्ने हालसम्म कुनै आधिकारिक पुष्टि छैन । 

जसरी उक्त घटनामा वडा अध्यक्षले जातीय भेदभाव गरेको र उनकै नेतृत्वमा घटना घटाइएको भनिएको छ उनी आफैले पनि पुन मगरकी छोरी बिहे गरेका छन् । यसको मतलव वडा अध्यक्ष वा अन्यले गाउँमा अन्तरजातीय बिहे गर्दैमा ती व्यक्तिहरु अन्य अपराधमा संलग्न हुँदैन भन्ने तर्क होइन । तर यसअघि अन्य तीनचार वटा अन्तरजातीय बिहे स्वीकारिसकेको ठाउँमा यसपटक कसरी अन्तरजातीय विभेद भयो, वा उक्त घटना घट्यो त्यो भने फरक पाटो र अनुसन्धानकै विषय छ, र बनाउनुपर्छ । 

के भेरीमा भेटिएको शव डोरीले बाँधिएको अवस्थामा थियो ?
घटनामा वेपत्ता भएका ६ जनामध्ये एक जनाको शव डोरीले बाँधिएको अवस्थामा भेरी नदीमा फेला परेको भनेर स्थानीय तथा राष्ट्रिय संचार माध्यामहरुमा पनि समाचार आयो । के भेरी नदीमा भेटिएको शव डोरीले बाँधिएको अवस्थामै भेटिएको हो त ? प्रहरीले त्यसलाई पुष्टि गरेको छ त ? पक्कै पनि उक्त विषयमा प्रहरीले पुष्टि गरेको छैन । केही स्थानीयको हवाला दिँदै उक्त समाचार बनाइएको छ । प्रहरीले उक्त शवको एउटा हातमा माछा मार्ने जाल मात्र बेरिएको बताएको छ । 

घटना घटेपछि राजनीतिक रंग दिने प्रयास समेत भएको छ । रुकुम पश्चिमका सांसद तथा पूर्वगृहमन्त्री जर्नादन शर्मा र जाजरकोटका सांसद तथा हालका बनमन्त्री शक्ति बस्नेतको बिरुद्धमा जसरी प्रचारबाजी भैरहेको छ यसले घटनालाई थप राजनीतिकरण गर्न मलजल गरेको छ । यस्तो प्रचारबाजीमा विपक्षी पार्टी सक्रिय देखिन्छ । एउटा जघन्य अपराधको रुपमा देखिएको घटनालाई यही मौकामा एउटा पार्टीले अर्को पार्टीलाई र एक व्यक्तिले अर्को व्यक्तिलाई वा अन्य विषयमा हिलो छ्यापाछ्याप गर्नु राम्रो होइन । दुबै जिल्लामा सांसदहरुले पनि घटनालाई राजनीतिकरण हुन जोगाएर, सत्य, तथ्य छानबिन, मृतक परिवारलाई न्याय र राहत उपलब्ध गराउनमा नै केन्द्रित हुनुपर्छ । 

घटनामा घटेपछि केटा र केटी पक्षको तर्फबाट आएका कुराहरुलाई आआफ्नो धारणा बनाएर टिप्पणी र तर्कबितर्क बढेका छन् । उक्त घटनामा एउटा मुख्य कुरा त जातीय विभेद भनेर आएको छ नै त्यसपछि अन्य केहि विषयहरुमा पनि बाहिरिएका छन् । त्यसबीचमा एउटा हो बालबिबाह । स्थानीय प्रहरी र संसदमा गृहमन्त्रीले दिएको जवाफमा पनि केटीको उमेर १७ बर्ष छ । के १७ बर्षकी बालिकालाई बिहे गर्न पाइन्छ ? जातीय भेदभाव जस्तै बालबिबाह पनि सामाजिक तथा कानुनी अपराध हो भन्ने पनि तर्कबितर्क र प्रश्न नउठेको होइन । त्यस्तै प्रेम नै भएको भए १९÷२० जनाको जमात नै लिएर जान आवश्यक थियो त ? अन्य कुनै यसअघिका विवादित घटनाक्रमले पनि उत्तेजित रुपमा लियो की ? केटीले नै आफूलाई लिन बोलाएको सत्य रहेछ भने पनि के उमेर नपुगेको बालिकाले गरेको निर्णय सही ठहर्छ ? के दुबै पक्षले सचेतना वा संवेदनशिनता अपनाउन नसक्दा यस्तो घटना घटेको हो ? यी र यस्तै थुपैं प्रश्न र प्रतिप्रश्न पनि नउब्जिएका होइनन् ।

यी सबै प्रश्न प्रतिप्रश्नको जवाफ आउने गरी र त्यसपछि सृजित घटनालाई कसरी लिने जस्ता कुराहरु पक्कै पनि थप अनुसन्धानका क्रममा आउने नै छ । सँगसँगै सञ्चारकर्मीले पनि सत्य, तथ्य, सन्तुलित र निष्पक्ष भइ यथार्थ बाहिर ल्याउन भूमिका खेल्नुपर्छ । 

(लेखक खड्का रुकुम पश्चिमबाट प्रकाशित हुने आहा सञ्चार साप्ताहिकका सम्पादक हुन् )

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.