शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा कोरोना संक्रमित बढ्दै, क्वारेन्टाइनबाटै थप संक्रमण फैलिने खतरा

शुक्रबार, १६ जेठ २०७७, १४ : ४८
शुक्रबार, १६ जेठ २०७७

पोरखा । गण्डकी प्रदेशमा शुक्रबारसम्म कोरोनाभाइरस संक्रमितको संख्या१९ पुगेको पुगेको छ । स्थानीयस्तरमा भन्दा भारतबाट फर्किएहरुमा संक्रमण देखिएको छ । 

संक्रमितको संख्या बढ्दै गर्दा प्रदेश सरकारले कोरोना रोकथाम र न्यूनीकरणका लागि जति काम गर्नुपर्ने हो त्यो नभएको गुनासो बढ्दो छ। यद्यपि प्रदेश सरकारले भने कोरोना नियन्त्रणमा तदारुकताका साथ काम भइरहेको जिकिर गरेको छ । 

गण्डकी प्रदेश सभाको जेठ ११ गतेको सम्बोधनमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोनाविरुद्ध लड्न सबै तयारीका साथ सरकार जुटेको बताए । उनले तयारी पुगेको मात्र बताएनन् बरु मुक्तिनाथको कृपाले प्रदेशमा संक्रमण फैलिन नभ्याएको समेत भन्न भ्याए । 

 मुख्यमन्त्रीले आवश्यक तयारी र तिव्रताका साथ काम भइरहेकाे बताउँदा सांसदहरुले भने उनले संसदमा कोरोना तयारीको विषयमा ढाँटेको आरोप लगाएका छन् । उनीहरुका अनुसार कोरोना नियन्त्रणमा आवश्यक तयारी गरेको भनिएता पनि बाहिर केही देखिँदैन । प्रदेशमा रहेका धेरै क्वारेन्टाइनहरु देखाउनका लागि मात्र छन् । मापदण्ड पूरा भएको क्वारेन्टाइनको संख्या न्यून रहेको छ । संक्रमितको संख्या बढ्दै जाने अवस्थामा आइसोलेसन वेडको संख्या नै कम हुने चिकित्सकहरु बताउँछन् । 

गण्डकी प्रदेशका सांसद दोवाटे विश्वकर्माले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारको तयारी सुस्त रहेको आरोप लगाउँदै मुख्यमन्त्रीले ढाँटेको आरोप लगाए । 

प्रदेशमा क्वारेन्टाइन बेड, आईसीयूका साथै कोरोना परीक्षणमा प्रभावकारी काम हुन नसकेको उनको भनाइ छ । 

गण्डकी प्रदेशमा संक्रमितको संख्या १९ पुगिसक्दा त्यसको लागि पूर्वतयारी पर्याप्त छैन । जिल्ला जिल्लामा क्वारेन्टाइन त छ तर त्यसको मापदण्ड पूरा भएको छैन भन्ने सांसदहरुकै गुनासो छ । 

कोरोना अस्पताल भनेर पोखरामा बनाइएको निजी अस्पतालहरुले पनि काम गर्न सकेका छैनन् । सरकारले घोषणा गरेको निजी अस्पतालका आइसोलेसन बेडहरु पनि प्रयोग आएका छैनन् । सामान्य ज्वरो आएका बिरामीलाई पनि निजी अस्पतालले उपचार गर्न आनाकानी गरेको गुनासो आउने गरेका छन् ।  पोखरा ७ बस्ने धनमाया नेपालीले सामान्य ज्वरो आएर चेक गर्न जाँदा चरक हस्पिटलले गण्डकी अस्पताल जान सुझाएको बताइन् ।  उता स्याङ्जा र बाग्लुङका जिल्ला अस्पताहरुमा पनि विरामी चाप बढेको छ । 

यसो त अहिले पोखरामा रहेको गण्डकी अस्पतालमा स्याङ्जाका संक्रमित ल्याएर राखिएसँगै अस्पतालमा अन्य बिरामीको संख्या घटाइएको छ । 

क्वारेन्टाइनबाटै संक्रमण फैलिने खतरा  
भारतबाट आएकाहरु र अन्य शंकास्पद बिरामीका लागि बनाइएको क्वारेन्टाइमा राख्दा संक्रमणको जोखिम झन बढेको प्रदेश सांसद बिन्दुकमार थापा बताउँछन् । 

‘क्वारेन्टाइनबाट नै संक्रमणको खतरा देखियो । सबैलाई एकै ठाउँमा राख्दा एक जनामा संक्रमण देखिएमा सवैलाई कोरोना लाग्ने भयो । त्यसैले बाहिरबाट आएका सवैलाई होटलमा क्वारेन्टाइन बनाएर राखौँ’ थापाले बताए ।
 क्वारेन्टाइनको अभावको कारण क्षमता भन्दा बढी मान्छेहरु बस्नुपर्ने बाध्यता रहेको अर्का सांसद हरिशरण आचार्यले बताए । 

गण्डकी प्रदेश स्वास्थ निर्देशनालयले आजसम्म पीसीआर परीक्षणका लागि २४४३ को स्वाव स्वाव निकालिएको जनाएको छ । त्यो मध्य १०९ जनाको मात्र रिपोर्ट आउन बाँकी रहेको छ  । त्यसैगरी प्रदेशमा ७९५० को आटडीटी परीक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका प्रमुख डा. बिनोद बिन्दु शर्माले बताए ।

 गण्डकी अस्पतालको भरोसामा प्रदेश 
गण्डकी प्रदेश सरकारले गण्डकी अस्पताललाई नै केन्द्र बनाएर कोरोना विरुद्धको लडाईँ लडिरहेको छ । गण्डकी प्रदेशको प्रयोगशालामा पीसीआर मेसिन राखेर परीक्षण गर्दै आएको डा. शर्माले बताए । पुरानै मेसिनबाट परीक्षणको काम गरिरहेको ल्याव टेक्निसियन शंकर भण्डारीले बताए । 

‘नयाँ मेसिनमा भन्दा पुरानो मेसिनमा काम गर्न सजिलो र धेरै संख्यामा परीक्षण गर्न सकिने भएको कारणले पुरानै मेसिन चलाएका हौँ । अहिले थप अर्को मेसिन पनि आएको छ, प्रविधिको हिसावले हामीलाई काम गर्न खासै समस्या छैन’, ’ भण्डारीले भने ।

 भण्डारीका अनुसार दैनिक सयको हाराहारीमा परीक्षण भइरहेको छ भने संक्रमितको संख्या बढेसँगै परीक्षणको संख्या पनि बढ्ने देखिएको छ । हाल कोरोना अस्पतालको रुपमा गण्डकी अस्पतालाई तोकिएसँग अन्य बिरामीहरुलाई अफ्ठ्यारो परेको गण्डकी अस्पतालका एक चिकित्सकले बताए । अस्पतालको प्रयोगशालालाई नै प्रदेश प्रयोगशाला बनाएर काम गरिरहेको गण्डकी प्रदेश सरकारले बिहिबार स्याङ्जाको संक्रमितलाई पनि ल्याएर आइसुलेसनमा राखेको छ । 

प्रदेशको कोरोना विशेष अस्पतालको काम अझै सकिएन 
गण्डकी प्रदेश सरकारले कोरोना विशेष अस्पताल भनेर घोषणा गरेको लेखनाथ लायन्स अस्पतालमा अझैसम्म काम सुरु भएको छैन । अस्पताल व्यवस्थापनसँग स्वामित्व लिएर लायन्स अस्पतालाई कोरोना विशेष अस्पताल बनाउने तयारी अन्तिम चरणमा पुगेको मुख्यमन्त्री गुरुङले बताए । 

गण्डकी प्रदेशमा जम्मा एक सयको हाराहारीमा आइसोलेसन वेड रहेको मुख्यमन्त्री गुरुङले बताएका छन् । 

हरेक स्थानीय तहमा क्वारेन्टाइन रहेको जानकारी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ । तर पर्याप्त भने छैनन् । 

यता पोखरा महानगरपालिकाले भने प्रत्येक वडामा ५० वेडको क्वारेन्टाइन बनाउने घोषणा गरेको छ । ‘भारतबाट फर्कनेहरुको संख्या बढेसँगै हामीले प्रत्येक वडामा ५० वेडको क्वारेन्टाइन बनाउने घोषणा गरेका हौँ । अहिले पनि महानगरको क्वारेन्टाइमा ४० जना बसिरहेका छन् ।’ पोखरा महानगरका मेयर जिसिले बताए । प्रदेशभरीमा अहिलेसम्म ७७८ जना क्वारेन्टाइनमा बसेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।  

भारतबाट जेठ १४ गतेसम्म ३१८४ जना भारतबाट गण्डकी प्रदेश भित्रिएको गण्डकी प्रदेश कानुन मन्त्रालयका प्रवक्ता काशिराम गैह्रेले बताए । भारतबाट आएकाहरु केहि क्वारेन्टाइन बसेका छन् भने दुई हजारभन्दा बढी प्रदेश सरकारको सम्पर्कका नरहेको बुझिएको छ ।  

कोरोना संक्रमित रहेका तीन जिल्ला मध्ये स्याङ्जा र बाग्लुङका जिल्लामा एक जनाबाहेक अरु संक्रमितहरुको उपचार त्यहिको सरकारी अस्पतालमा भइरहेको छ।  । स्याङ्जामा संक्रमण देखिएको चार जना पुरुषको उपचार स्याङ्जा जिल्ला अस्पतालमा नै भइरहेको डा.शुशिल कुमार मरासनीले बताए । 

मरासनीका अनुसार उनीलाई आइसोलेसन वार्डमा राखेर उपचार गराइराखिएको छ ।  एक महिलालाई भने गण्डकी अस्पतालको आइसोलेसनमा पठाइएको मरासनीले बताए । यसैगरी बाग्लुङको धौलागिरी अस्पतालमा पनि संक्रमित उपचार भइरहेको छ । धौलागीरी अस्पतालबाट यसअघि पनि दुईजना संक्रमितहरु निको भएर घर फर्किएकाले गर्दा अस्पतालको चिकित्सकहरुले उच्च मनोवलका साथ काम गरिरहेको  धौलागिरी अस्पतालका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाले बताए ।

 सापकोटका अनुसार अहिले संक्रमितहरुको अवस्था सामान्य छ । नवलपुर जिल्लाका संक्रमितको भने भरतपुर कोरोना अस्पतालमा उपचार भइरहेको छ । प्रदेश सरकारले हालसम्म कोरोना नियन्त्रणका लागि छ करोड बढी खर्च गरिसकेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप