शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको आरोपितलाई नै १३ वर्षीया दलित किशोरीको पति बनाइयो

विवाह गराइएकै दिन रहस्यमय मृत्यु, तीन पक्राउ
शुक्रबार, १६ जेठ २०७७, १३ : ४४
शुक्रबार, १६ जेठ २०७७

बुटवल ।  गत शनिवार रुपन्देहीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी १३ वर्षीया एक दलित किशोरीको बलात्कारपछि हत्या भएको भन्दै उनको परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

जिल्लाको देवदह नगरपालिका वडा नम्वर–११ बड्की गुम्नीटोलीको १३ वर्षीया दलित किशोरी अङ्घिरा पासी र स्थानीय २५ बर्षीय वीरेन्द्र भरलाई गत शुक्रवार राति छिमेकीहरुले आपत्तिजनक अवस्थामा पक्राउ गरेका थिए । घरमा अबेरसम्म छोरी नआएपछि उनकी आमा शान्त पासीले छोरी खोज्न छिमेकीहरुलाई गुहार गरे पछि खोज्दै जाने क्रममा आपत्तिजनक अवस्थामा आफुहरुले देखेको एक स्थानीय युवाले बताए ।

अर्को दिन विहान वडाका वडाध्यक्ष अमरबहादुर चौधरीसहितका भद्रभलाद्मीहरु बसेर छलफल गर्दा ती किशोरीले आफूलाई वीरेन्द्र भरले जबरजस्ती गरेको सुनाएकी थिइन् ।

तर, दुई लाखसम्म क्षतिपूर्ती दिने लालच देखाएर जवरजस्ती करणीको मुद्दा त्यही थामथुम पार्न खोजिएको आमा शान्ति पासीले बताएकी छन् ।

शनिवार दिउँसो तीन बजेसम्म चलेको छलफल पछि वडाध्यक्ष चौधरी लगायतका भलाद्मीहरुले जवरजस्ती करणीको  कानुनी पाटो तर्फ जानेभन्दा किशोरीलाई भरको श्रीमति बनाएर घर भित्राउने सुझाव दिएका थिए ।

उनीहरुको सुझाव पछि वीरेन्द्र भरले पनि ‘मैले लैजान्छु’ भन्दै हात समातेर किशोरीलाई घरतर्फ लगेका थिए । तर, घरमा लगेपछि ‘तल्लो जातकी केटी मैले भित्राउनै दिन्न’ भन्दै भरकी आमा अकाली भरले अङ्घिरा पासीलाई कुटपिट लछार पछार गरेको स्थानीयले बताए ।

घरभित्र पस्न नदिए पछि ति किशोरी रोहणीखोला तिर आएर बसको उनकी आमाको भनाइ छ । पछि उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । 

यससम्बन्धमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रदीप सिंह राठौर सँग सम्पर्क राख्दा उनले वीरेन्द्र भर, उनकी आमा अकाली भर र ठूली आमा शीतल भरलाई हिजो पक्राउ गरि अनुसन्धान थालिएको बताए ।

ति किशोरीको भिसरा चेक गराउन पठाईएको र रिपोर्ट आएपछि मात्र बलात्कार पछि हत्या भएको हो वा होइन भन्ने कुरा खुल्ने डिएसपी राठौरको भनाइ छ ।

यता, किशोरीकी आमा शान्ति पासीले भने छोरीको बलात्कारपछि हत्या भएको भन्दै किटानी जाहेरी दिएको बताइन् ।

किशोरीको भनाइ अनुसार जवरजस्ती करणीको मुद्दा दर्ता गर्नु पर्नेमा किशोरीलाई  बलात्कारको आरोपीकै श्रीमतीका रुपमा घर भित्राइ दिँदा उनको अकालमा ज्यान जान पुगेको छ ।

यता, वडाध्यक्ष चौधरीले भने आफुले मात्र नभइ सिंगो गाउँले निर्णय गरेर अङ्घिरा पासीलाई भरको घर भित्राइदिएको प्रतिकृया दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप