शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवादित ‘पाताल लोक’ बारे अनुष्काको स्पष्टिकरणः समाजको चित्र देखाउँदै सही–गलत छुट्टाउने अधिकार दर्शकमा छोड्यौं

शुक्रबार, १६ जेठ २०७७, १३ : ३९
शुक्रबार, १६ जेठ २०७७

नायिका अनुष्का शर्माले पाताल लोक नामको वेब शो निर्माण गरेकी छिन् जुन विभिन्न कारणले नेपाललगायत भारतमा चर्चित बनेको छ । अनुष्काले आफूले विश्वास गरेको विषयवस्तुले निकै चर्चा पाएकोमा खुसी छिन् । यसबारे उनले एक भारतीय मिडियासँग कुराकानी गरेकी छिन् ।

अनुष्कालाई अपराधीलाई सकारात्मक मानवीय तरिकाले किन देखाउन खोजिएको भन्ने प्रश्न सोधिएको थियो यसमा उनले जवाफ दिएकी छिन्, ‘हामीले अपराधीलाई सकारात्मक मानवीय तरिकाले देखाउने कोसिस गरेका होइनौं । हामीले त हरेक व्यक्तिको पछाडि एउटा कहानी हुन्छ र उसले जे गर्छ, जहाँ ऊ हुर्किएको छ, त्यसैलाई आधार मानेर नै ऊ समाजमा चित्रित हुन्छ । हामीले समाजको चित्र देखाएका छौं । यसमा सही वा गलत छुट्याउने अधिकार दर्शकलाई नै छोडिदिएका छौं ।’


अनुष्काले आफ्नो विषयलाई पूरा प्रमाणका साथ पेश गर्ने कोसिस गर्ने गरेको बताएकी छिन् । पाताल लोकमा पनि आफूले त्यस्तै गरेको बताइन् । उनी भन्छिन्, ‘कहानी, पात्र र परिवेशको निकै नजिक रह्यौं । आज जब शो चर्चामा छ, यसको प्रशंसा भइरहेकोले मलाई निकै खुसी लागिरहेको छ । इन्डियाको निकै राम्रो थ्रिलर वेब शो हामीले बनाएका छौं भन्ने सुन्दा निकै खुसी लाग्छ ।’

यसका साथै समाज र नियमको क्रुर अनुहार यति नजिकबाट देखाउने पहिले नै योजना थियो भनेर उनलाई प्रश्न सोधिएको छ । यसबारे उनी भन्छिन्, ‘हो । हामीले समाजको विभिन्न पाटोलाई दर्सायौं । यो बतायौं कि हामी मानिस भइकन पनि सभ्य समाजको निर्माणमा असफल भयौं । शक्तिशाली बन्ने नाममा मानवताको घाँटी अँठ्यायौं ।’

यद्यपि, उक्त अन्तरवार्तामा नेपाली महिलामाथि जुन अपशब्दको प्रयोग गरिएको थियो, त्यसबारे अनुष्काले कुनै टिप्पणी गरेकी भने छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप