शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा विकसित घटनाप्रति भारतको चासो,आयो यस्तो विज्ञप्ति

शुक्रबार, १६ जेठ २०७७, ०१ : ००
शुक्रबार, १६ जेठ २०७७

काठमाडौं । भारतले नेपालमा विकसित भैरहेका पछिल्ला गतिविधिहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सीमा मुद्धासँग जोडिएर नेपालमा विकसित भैरहेका घटनाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पारस्पारिक सम्बन्धका आधारमा आफ्ना सबै छिमेकीहरुसँग समान ढंगले सम्बन्ध बिस्तार गर्न भारत तयार रहेको र यसका लागि रचनात्मक र सकारात्मक प्रयासहरू रहने बताइएको छ । 

भारत र नेपालबीच गहिरो ऐतिहासिक, साँस्कृतिक र मैत्री सम्बन्ध रहेको दाबी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीचको सम्बन्ध पछिल्ला वर्षहरुमा निकै उचाईमा पुगेको छ, जसका कारण द्दिपक्षीय सहयोग, विकास र कनेक्टिीभिटीमा भारतको सहयोग बढेको स्पष्ट छ ।’ दुई देश बीचको विकसित सम्बन्धका कारणनै ठुला र महत्वपूर्ण परियोजनाहरुको कार्यान्वयन गर्न सकिएको  र समयमै परिणामहरु प्राप्त भएको जनाउँदै भारतले पछिल्लो कोभिड–१९ (कोरोना) महामारीमा समेत सहकार्यको आवश्यकता रहेकोमा जोड दिएको छ ।  कोभिड–१९ कारण सिर्जित यस चूनौतीपूर्ण महामारीमा भारतले मेडिकल सामाग्रीहरुको आपूर्ति सुनिश्चित गरेको समेत जनाएको छ ।  

केही दिनअघि भारतले एक पक्षीय ढंगले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रबाट तिब्बतको कैलाश मानसरोवरसम्म जोडिने सडकको उद्घाटन गरेपछि दुई देशबीच सीमा विवाद चर्किएको छ । नेपालमा भारतीय कदमको चर्को विरोध भैरहेको छ । भारतले सडक उद्घाटन गरेको केही दिनपछि नेपालले पनि सो क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । यसअघि भारतले पनि सो क्षेत्रलाई आफ्नो दाबी गर्दैै नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसयता भारतीय कदमको नेपालमा चर्को विरोध हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप