मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

‘जनता कोरोनाबाट पीडित छन्, सरकार रेल, पानी जहाज र युरेनियमको कुरा गर्छ’

परम्परावादी ढंगले कनिका छरेको बजेटले अहिलेको संकट समाधान हुँदैन : डा भट्टराई
बिहीबार, १५ जेठ २०७७, २२ : २२
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारले आगामी आर्थिक वर्षको बजेट कोरोनाभाइरस नियन्त्रणतर्फ केन्द्रीत हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताएको छ । सो पार्टीले विगतमा जस्तै बजेट योजनाबद्ध ढंगले नआएको समेत बताएका छन् । 

जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम परम्परागत ढंगबाट आएको अहिलेको बजेटले वर्तमान संकट समाधान नगर्ने प्रतिक्रिया दिए । 

‘अहिलेको अवस्था भनेको एउटा विशिष्ट संकटको अवस्था हो । कोरोना महामारीले जनस्वास्थ्यमा जुन संकट ल्याएको छ, यस्तो बेलामा राज्यले विशिष्ट किसिमका नीतिहरु ल्याउनुपर्छ । अर्कोतर्फ आर्थिक क्षेत्रमा पनि ठूलो संकुचन ल्याउँदैछ । त्यसलाई समाधन गर्ने ढंगले बजेटको विनियोजन हुनुपथ्र्यो, संरचनात्मक ढंगले परिवर्तन हुनुपथ्र्यो, त्यो ढंगले आएको छैन पुरानै बजेटको निरन्तरतामा आयो । ’

उनले यसबारे उदाहरण दिँदै भने, ‘पोहोरको बजेट १५ खर्ब २८ अर्ब थियो । यो वर्ष १४ खर्ब ७४ अर्ब पोहोरको भन्दा कम छ । यो वर्ष ४६ अर्ब बजेट कम आएको छ । राजस्वमा पोहोर ९ खर्ब र यो वर्ष ८ खर्ब हेदा १ खर्ब कम छ ।  पोहोरको तुलनामा राजस्वसँगै बजेट घटाएर बनाउनुभएको छ । तर बजेट वितरणलाई हेर्ने हो भने पोहोर र अहिलेको उस्तै उस्तै छ । 

अहिले त सबैभन्दा बढी जोड स्वास्थ्य क्षेत्रमा दिनुपथ्र्यो, कृषिलाई दिनुपथ्र्यो । स्वास्थ्य क्षेत्रको पोहोरको बजेट ६८ अर्बको थियो, अहिले ९० अर्ब छ । २२ अर्बले मात्रै यति धेरै अस्पताल, स्वास्थ्य सामग्री आवश्यक पर्ने कुरा गर्नुभएको छ, ती सबैको लागि पुग्दैन ।’

उनले अगाडि भने, ‘यस्ता कुराले के देखाउँछ भने यो निरन्तरतामा आएको छ । यो वर्ष बजेट कनिका छर्ने हैन, अहिलेको अवस्थामा पानी जहाज, रेलका कुरा गर्न आवश्यक थिएन । सांसद पूर्वाधार विकास कोष पनि अहिले आवश्यक थिएन । निर्वाचन क्षेत्रमा समानुपातिक ढंगले योजना हाल्नुस भनेर हामीले भनेका थियौँ । पोहोर ९ अर्बजति थियो, अहिलेचाही ६ अर्ब भन्नुभएको छ । ६ करोडको सट्टा ४ करोड भन्दा झन कनिका छरेर के अर्थ हुन्छ । यस्ता कुरामा सुधार गर्न सकिन्थ्यो, उहाँले चाहनुभएन ।’

भट्टराईले आफू अहिलेको अवस्थामा अर्थमन्त्री भएको भए बजेट बढाउने पक्षमा रहेको तर्क गरे । ‘रकमहरु खास खास ठाउँमा केन्द्रीत गर्ने हो भने म १५ देखि १८ खर्बसम्मको बजेट ल्याउथेँ । आन्तरिक रुपमा स्वतः राजस्व त घट्छ तर बाह्य रुपमा एसियाली विकास बैंक जस्ता निकायहरुले हाम्रो जस्तो पिछडिएको क्षेत्रका लागि जुन रकम छुट्याएका छन्, सहुलियत रुपमा लिन सकिन्थ्यो । अहिलेको बजेटमा राजस्व घटेको छ तर बजेटको वितरणको क्षेत्र धेरै छ । यो बजेट मुख्य क्षेत्रमा त केन्द्रीत हुँदैन ।’ 

परम्पराबादी ढंगले आएको बजेटले समस्या समाधान नगर्ने बरु यसले संकट कायमै रहने उनको तर्क छ। 

यसैगरी जसपाका अर्का नेता उपेन्द्र यादवले कोरोना महामारीको वर्तमान संकटलाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट नआएको टिप्पणी गरे । उनले देशको अवस्था एकातिर र बजेट अर्कोतिर भएको समेत बताए ।  रातोपाटीसँग कुरा गर्दै यादवले भने, ‘देशमा कोरोना महामारी छ र त्यसविरुद्ध मुकाबिला गर्ने बजेटको अभाव छ, त्यतातिर सरकारको ध्यान गएको छैन ।’

अहिलेको अवस्थामा स्वास्थ्य महत्त्व कुरा भएपनि स्वास्थ्य शीर्षकमा बजेट अपुग भएको उनको दावी छ।  ‘अहिले स्वास्थ्यको बजेटलाई सिधै दोब्बर बनाउनु पथ्र्यो र कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार होमिनु पथ्र्यो तर त्यस्तो छैन, शिक्षाको पनि त्यही अवस्था छ, शिक्षा र स्वास्थ्य सुदृढ नभए देशको विकास हुन सक्दैन ।’

गरिबी कम गर्ने माध्यम कृषि भएपनि बजेट विनियोजन कम भएको भन्दै उनले कृषिमा आधुनिकीकरण हुन नसके देशको गरिबी समाप्त हुन नसक्ने धारणा राखे ।  नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने बजेट पनि नआएको टिप्पणी गर्दै यादवले बजेट परम्परागत र महत्वकाँक्षी रहेको प्रतिक्रिया दिए । तर महत्वकाँक्षी बजेटमा स्रोतको कुरा कहिँकतै उल्लेख नगरिएको उनको टिप्पणी छ । 

यसैगरी जसपा नेपालका अर्का नेता शरतसिंह भण्डारीले पनि वजेट परम्परागत रहेको बताए । कोरोनाबाट कसरी जुध्ने त्यस बारेमा वजेटले खासै केही नबोलेको बताउँदै उनले पुराना कुराहरुलाई दोहोर्याइएको प्रतिक्रया दिए । 
देशका जनता कोरोनाबाट पीडित हुँदा सरकारले भने रेल, पानी, जहाज र युरेनियमको कुरा गरिरहेको टिप्पणी गर्दै उनले सरकार अहिले कोरोना नियन्त्रणतर्फमात्रै  केन्द्रीत हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । 
अर्थमन्त्री युवराज खतिवडाले बिहीबार १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप