बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बजेटबारे काँग्रेसको प्रतिक्रिया : असामान्य परिस्थितिको सामान्य बजेट

बिहीबार, १५ जेठ २०७७, २१ : १७
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटले कोरोना महामारीलाई आँकलन गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पूरक अनुमानको आवश्यकता औँल्याएको छ ।

बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको बजेटबारे रातोपाटीलाई प्रतिक्रिया दिँदै काँग्रेस नेता तथा सांसद डा. मिनेन्द्र रिजालले बजेलले पूरक अनुमान आधार बलियो बनाएको बताए ।

काँग्रेसद्वारा गठित छाया सरकारका अर्थमन्त्री समेत रहेका डा. रिजालले भने, ‘उहाँ (अर्थमन्त्री)लाई अहिले तत्काल गर्नुपर्ने सामान्य कुरा लिएर आउनुहोस् । मोटो रुपमा एउटा बजेटको सिद्धान्त बोकेर आउनुहोस् । त्यसपछि साझा संकल्प गरौँ । साउन महिनापछि  कोरोनाको कहरमा देश कति पर्यो भन्ने देखिन्छ । हामीले सबै राजनीतिक दल एक ठाउँमा छन् भनेर देखाउँदा सहयोग जुटाउन सक्ने आधार पनि बलियो हुन्छ । त्यसपछि पूरक अनुमान ल्याउँ । यसले राष्ट्रिय अठोट हुन्छ भनेको थिएँ । यो बजेट देख्दा मेरो तर्क बलियो र उचित तर्क रहेछ भन्ने आजको बजेटले पुष्टि गर्यो ।’

अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७–०७८ का लागि १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका थिए । 

आगामी आर्थिक वर्षका लागि चालूतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
अर्थतन्त्रको आकार नबढ्ने भएकाले राजश्वको लक्ष्य भेट्न कठिन हुने रिजालको बताए । ‘राजस्वको अनुमान संशोधित भन्दा २२ प्रतिशतले बढाउने भन्नु भएको छ, जुन यथार्थपरक छैन । कोरोनाको कहर कति गहिरो हुन्छ त्यो पनि थाहा छैन,’ उनले भने ।

उनका अनुसार अर्थतन्त्र अर्को वर्षमा तंग्रिएर २२ प्रतिशत राजश्व बढ्ने खालको परिस्थित देखिँदैन । डा. रिजालले संशोधित १२१ अर्बबाट ३ सय अर्ब वैदेशिक ऋण उठाउने भन्ने कुरा सम्भव नभएको बताए । 
‘वैदेशिक ऋण ३ सय अर्ब उठाउँछु भन्नु भएको छ । गत वर्ष पनि त्यही भन्नु भयो, १ सय २१ अर्बमा रह्यो । यो पटक अढाइ गुणा ठूलो वैदेशिक ऋण उठाउन सक्ने सम्भावना देखिँदैन,’ रिजालले भने, ‘त्यसै अनुदान पनि दोब्बर बनाउँछु भन्नु भएको छ । वैदेशिक ऋण र अनुदान यसरी सय प्रतिशले बढ्ने कुरा हुँदैहुन्न । खालि छोप्नका लागि मात्र त्यत्रो अंग राखिएको होजस्तो लाग्छ ।’ 

उनले लक्ष्य अनुसार आन्तरिक ऋण उठाउँदा उद्योगी व्यवसायीलाई बजारबाट ऋण लिन गाह्रो पर्ने बताए ।  रिजालले भने, ‘त्यसो हुँदा आन्तरिक ऋणमा दबाब पर्छ । त्यसले नीजी क्षेत्रलाई संकटबाट तंग्रिन अप्ठ्यारो पार्छ। ’
उनका अनुसार त्यसको सबैभन्दा बढी भर साढे ३ सय अर्बको पुँजीगत खर्च घट्ने बाहेक केही देखिँदैन । 

उनले भने, ‘अहिले २ सय ४० अर्व खर्च भएको छ । गत वर्ष २ सय ४१ भएको थियो । आउने वर्ष साढे तीन सय अर्ब खर्च हुन सम्भव छैन । त्यसैले अथतन्त्रलाई अगाडि बढाउन सरकारले पुँजी निर्माण नगरे निजी क्षेत्रलाई पनि पुँजी निर्माण गर्न गाह्रो हुन्छ । यसबाट अर्थतन्त्र सँग्लिन कठिनाइ हुन्छ ।’ 

यस्तै पूर्वअर्थमन्त्री महेश आचार्यले कोरोनाको कहरका बेला परम्परागत जस्तै बजेट आएको बताए । 

कार्यक्रमहरु आशालाग्दो रुपमा प्रस्तुत गरिए पनि असामान्य अवस्थामा सामान्य परिस्थितिको जस्तो बजेट आएको बताए ।

‘अर्थमन्त्रीले भने जस्तो ७  प्रतिशत आर्थिक वृद्धि, साधन स्रोत जुटाउन र कार्यान्वयन गर्न समस्या नै देख्छु । सामान्य अवस्थाको जस्तो बजेट आएको छ । असामान्य परिस्थितिमा आएको सामान्य बजेट अब कार्यान्वन कसरी हुन्छ हेर्नुपर्छ ।’

काँग्रेस सांसद गगन थापाले बजेटले कोरोनाको प्रभावबारे वास्तविक आंकलन नगरेको बताए । 

उनले भने, ‘सरकारले अझै पनि सरकारले यो कोरोना प्रभाव छ र त्यसले  वर्षैभरी प्रभावित गर्छ भन्ने कुराको असाध्यै कम आंकलन गरेको छ । जे आंकलन गरिरहेको छ त्यो वास्तविक छैन ।’

स्रोत जुटाउने र खर्च गर्ने प्राथमिकता हेर्दा आगामी दुई–तीन महिनाभित्र कोरोनाबाट पूर्णरुपमा मुक्त भइन्छ भन्ने हिसाबले बजेट आएको उनको भनाइ छ । 

थापाले भने, ‘स्रोत जुटाउने र खर्च गर्ने प्राथमिकता हेर्दा आगामी दुई–तीन महिनाभित्र कोरोनाबाट पूर्णरुपमा मुक्त भइन्छ भन्ने हिसाबले बजेट आएको देखिन्छ  । जबकि कोरोनाबाट सिंगो वर्ष प्रभावित हुने देखिन्छ ।’ 
सार्वजनिक खर्च निर्मम ढंगले कटौति गर्ने मौका भए पनि सरकारले आँट गर्न नसकेको थापाले बताए ।  

सरकारले यो वर्षको बजेटमा मुख्य गरी संक्रामक रोगहरूको उपचार नियन्त्रण र अनुसन्धानलाई जोड दिएको छ ।

आर्थिक वर्षमा सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ । यसलाई काँग्रेसले सकारात्मक रुपमा लिएको छ । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले स्वास्थ्य क्षेत्रमा बजेट बढाउन सकरात्मक भएको बताए ।  

उनले भने, ‘स्वास्थ्यमा करिब २२ अर्ब बढ्यो । यो सकारात्मक हो । तर हामी दुई वटा पाटो हेर्नुपर्छ । हामीले स्वास्थ्य मन्त्रालयको जुन संरचना जस्ताको तस्तै राखेर अहिले हामीले ल्याएका कुराहरु परिचान गर्न सक्छौ कि सक्दैनौँ ? सुरुदेखिनै मैले संसदमा उठाउँदै आएको एउटा कुरा यस पटक पनि हामीले बिर्सियौँ । स्वास्थ्यलाई हामीले एउटा प्रणालीका रुपमा हेर्यौं भने हाम्रो काम ठीक ठाउँमा जान्छ ।’ 

स्वास्थ्य क्षेत्रको पूर्वाधारको लागि १२ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्य संस्थामा दरबन्दी थप गर्नको लागि पनि बजेट विनियोजन गरिएको छ ।

कोरोना संक्रमितहरुको उपचारका लागि ६ अर्ब छुट्याइएको छ भने संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूको लागि ५ लाखको बीमाको व्यवस्था गरिएको छ । 

स्थानीय तहमा थप दुई सय ७२ वटा स्वास्थ्य संस्था निर्माण गर्नका लागि १४ अर्ब ७२ करोड रुपैयाँ छुट्याइएको छ । हरेक स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको आधारभूत अस्पताल स्थापना र स्तरोन्नति गरिनुका साथै प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शय्याको अस्पताल र अञ्चल अस्पताललाई २०० शय्याको जनरल अस्पतालमा स्तरोन्नति गरिने भनिएको छ । 

यसले सबैको ध्यान एकीकृत गरेको महेश आचार्यको भनाइ छ । आचार्यले भने, ‘अर्थमन्त्रीजीले स्वास्थ्य क्षेत्रको पूर्वाधारमा ध्यान एकीकृत गराउने चेष्टा गराउनु भएको छ । यो कुन लेबलमा कार्यान्वयन जाला र कति परिणाम मुखी होला हेर्न बाँकी नै छ ।’ 

तर रिजालले भने कोरोनाको रोकथाम र उपचारमा धेरै पैसा खर्च हुने भएकाले स्वास्थ्यमा बजेटको आकार बढेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप