बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको सङ्क्रमण रोकथाममा सरकार गम्भीर छ : मन्त्री सुवेदी

बिहीबार, १५ जेठ २०७७, १९ : १८
बिहीबार, १५ जेठ २०७७

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोभिड–१९को सङ्क्रमण रोकथाम व्यवस्थापनका लागि सरकार गम्भीर ढङ्गले लागेको बताएका छन् ।
  
प्रदेशसभाको आज बसेको बैठकको विशेष समयमा कोरोनाले निम्त्याएको सङ्कट र रोगको रोकथामका लागि भइरहेको पहलका बारेमा सदनलाई जानकारी दिनुहुँदै मन्त्री सुवेदीले कोरोनाको रोकथामको प्रयासस्वरुप सेती प्रादेशिक अस्पताल धनगढीको मातहतमा ५० श्ययाको छुट्टै कोरोना अस्पताल निर्माण कार्य पूरा भइसकेको बताए ।

यसैगरी महाकाली अस्पताल भीमदत्तनगरमा कोरोना अस्पताल निर्माणाधीन रहेको, सेती प्रादेशिक र महाकाली अस्पतालमा सघन उपचार कक्ष श्ययाका साथै २६८ आइसोलेशन श्यया र प्रदेशभरि २९ हजार ५६४ क्वारेन्टिन श्ययाकोे व्यवस्थापन गरिएको मन्त्री सुवेदीले जानकारी दिए ।
   
कोरोना सङ्क्रमित छिमेकी देश भारतबाट फर्किने नेपाली पछिल्ला दिनमा बढ्दै जाँदा प्रदेशमा यो रोगको जोखिम पनि बढेको बताउँदै उनले यसको उपचार तथा व्यवस्थापनका लागि खडा गरिएको कोषमा अहिलेसम्म जम्मा भएको रु ३१ करोड १३ लाख १३ हजार रकम आवश्यकताअनुसार खर्च भइरहेको बताए । 
     
भारतबाट प्रदेशका विभिन्न सीमा नाका हुँदै स्वदेश भित्रिन लागेका नेपालका ४० जिल्लाका नागरिकलाई सीमा क्षेत्रबाट उद्धार गरी स्थानीय प्रशासन र स्थानीय तहसँगको समन्वयमा सम्बन्धित जिल्लामा पठाउने व्यवस्था गरिएकोसमेत मन्त्री सुवेदीले जानकारी दिए ।
   
प्रदेशमा आजसम्म पिसिआर र आरडिटी पद्धतिबाट कोरोनाका शङ्कास्पद २६ हजार ७८ जनाको नमूना परीक्षण भइसकेको छ ।

पिसिआर पद्धतिबाट थ्रोट स्वाबको नमूना जाँच गरिएकामध्ये आजसम्म २० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सङ्क्रमितमध्ये पाँच जना उपचारपछि घर फर्किसकेका छन् । 
  
सङ्क्रमितको सेती प्रादेशिक अस्पतालका साथै टीकापुर, डडेलधुरा र बैतडीस्थित अस्पतालमा उपचार भइरहेको छ । आजको बैठक प्रारम्भ हुनासाथ ढ्यापढ्यापे समय लिएर प्रदेशसभा सदस्य दुर्गाकुमारी कामी, टेकबहादुर रैका र उमाकुमारी वादीले रुकुम जिल्लाको चौरजहारीमा दलित व्यक्तिको हत्या घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्थाका लागि पहल गर्न ध्यानाकर्षण गराए । 
   
प्रदेशसभा सदस्य श्यामलाल रानाथारुले क्वारेन्टिनको व्यवस्थापन गर्दा कर्तव्यपालनको सिलसिलामा कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का वडाध्यक्ष कल्लु रानाको निधन भएकाले उहाँको परिवारलाई आवश्यक क्षतिपूर्तिको व्यवस्थाका साथै मृतकलाई शहीद घोषणा गर्न माग गरे।  

अर्का प्रदेशसभा सदस्य कुन्ती जोशीले डडेलधुरा जिल्लामा निर्मला बोहरा मृत फेला परेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न ध्यानाकर्षण गराए ।
  
आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आर्थिक वर्ष २०७७÷७८ को पूर्वबजेट छलफलका लागि प्रस्तुत गर्नुभएको दस्तावेजमाथि सभामा छलफल गरियोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । उक्त प्रस्तावमाथि छलफल शुरु भएको छ । 
 
यसअघि मन्त्री बोहराले सुदूरपश्चिम प्रदेशको आर्थिक कार्यविधि ९पहिलो संशोधन० अध्यादेश २०७७ टेबुल गर्नुभएको थियो । नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा यही जेठ २ गते प्रदेश प्रमुखले प्रदेशको आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न उक्त अध्यादेश जारी गरेका थिए ।

आजको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६’ टेबुल गर्नुभएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप