शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना उपचारमा स्वास्थ्यकर्मी र आम नागरिकको दायित्व

बिहीबार, १५ जेठ २०७७, १७ : ११
बिहीबार, १५ जेठ २०७७

 कोरोना भाइरसको सङ्क्रमणले सम्पूर्ण मानव जातिलाई नै चुनौती दिइरहेको छ । ४, ५ महिनाको अवधिमा महामारी नियन्त्रणसम्बन्धी विभिन्न अनुमान गरिँदै आएको छ । दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी त्रास कोरोनाले निम्त्याएको छ । 

हालसम्मको अनुसन्धानले यो भाइरसबाट संसारले मुक्ति पाउने समय निश्चित गर्न सकेको छैन तर सबै वैज्ञानिकहरु यसको उपचारको खोजीमा अनुसन्धानरत छन् । 

भ्याक्सिन सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था गाभी ९न्ब्ख्क्ष्० का अनुसार यो भाइरसको फैलिने, नियन्त्रण हुने काम अहिलेकै गतिमा गए २ वर्ष पछाडि (सन् २०२२) सम्म रहने छ । यसको पहिलो सङ्क्रमणको छाल गत ४, ५ महिनालाई मानेर चल्दा दोस्रो अझ भयानक छाल सेप्टेम्बर अक्टोवर (असोज–कात्तिक) मा बढेर आउनेछ । त्यसले धेरै मान्छेलाई क्षति पुर्याउने दोस्रो अनुमान र अहिलेको गति विस्तारै धिमा भएर फ्याट्टफुट्ट वर्षैभरी सङ्क्रमणका केशहरु देखिने तेस्रो अनुमान छ । 

यो भाइरस सुरुमा जनावरबाट मान्छेलाई सरेको अनुमानको आधारमा जेनेटिक रोगको रूपमा कोभिडलाई लिइए पनि अहिले मान्छेबाट मान्छेलाई सङ्क्रमण गरिराखेको र आफ्ना व्यवहार पनि फरक फरक ठाउँमा फरक देखिएकाले तत्काल भ्याक्सिनको विकास हुने सम्भावना पनि कम छ । यस हिसाबले कोरोना सङ्क्रमण यो वर्षभरीको लागि रहने लगभग निश्चित प्रायः भएको छ । तसर्थ वर्षभरीलाई नै यो त्रास रहने भयो । के हामी सधैँ यसरी त्रसित भएर आफ्ना दैनिकी कामलाई थाँती राख्दा बाँकी जिन्दगी चल्ला त ? यक्ष प्रश्न यो हो ? 

अमेरिका र जापानतिर केही वर्षदेखि उतै परिवारसाथ रहेका अथवा अहिले केही दिनका लागि आफ्ने देशमा आएका व्यक्तिहरुले प्लेन चार्टर गरेर जोखिमै मोलेर नेपाल एररपोर्टबाट उतै गन्तव्यतर्फ लागेका छन् । यो त एउटा उदाहरण मात्र हो । 

प्रदेश ५ को लुम्बिनी प्रादेशिक अस्पताल जहाँ कोरोना सङ्क्रमित (पोजेटिभ) बिरामीहरुको उपचार व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ, त्यसको कार्यकारी प्रमुख भएको नाताले आफ्ना व्यक्तिगत अनुभवका आधारमा केही सुझाव समेट्न चाहन्छु । आमरुपमा कोरोना सङ्क्रमित व्यक्तिहरु ८५–९० प्रतिशतसम्म लाई सामान्य समस्या देखिने वा बिना लक्षण आफ्नै रोग प्रतिरोध क्षमताबाट कोरोना मुक्त हुने सम्भावना हुन्छ । जसका लागि हाम्रै अस्पतालको आइसोलेसनमा रहेका सुरुका ३६ मध्ये ११ जना कुनै लक्षण बिना २, ३ हप्ताको अवधिमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएर गए ।  अहिले थपिएका  सहित अरु ३६ जनामा पनि खास कुनै समस्या भएको पाइएको छैन । समाज नै कोरोना भनेपछि त्रसित भएर क्वारेन्टाइनमा रहेका व्यक्तिमा पीसीआरबाट पुष्टि कोरोना पोजेटिभ रिपोर्टको आधारमा बडा दुःखले एम्बुलेन्समा राखेर स्थानीय जनप्रतिनिधि प्रशासनले हामीकहाँ पठाएको अवस्था छ । हाम्रो निगरानीमा आउनु भनेको स्वास्थ्यकर्मीको प्रोटोकल अनुसार उपचार व्यवस्थापन गर्ने हो ।

यसमा पठाइएको व्यक्तिलाई एम्बुलेन्सबाट सुरक्षित तरिकाले ओराल्ने, रेडियोग्राफरबाट छातीको एक्सरे गराउने, रगत, पिसाबका प्रारम्भिक टेस्ट र सङ्क्रमण भएका व्यक्तिलाई फिजिसियनबाट सोधपुछ, शारीरिक जाँचबाट पत्ता लागेका तथ्यहरु लेखेर राख्नु र आइसोलेसनमा तोकिएको बेडमा राख्ने व्यवस्था सहयोगी कर्मचारी, नर्सिङ स्टाफ र सुरक्षाकर्मीबाट गराउनु प्रोटोकल अनुसार सुरुमा गर्ने कामहरु हुन् । त्यसपछि व्यक्तिलाई आफ्नो व्यक्तिगत सरसफाई, चर्पीको व्यवस्थापन, खानासम्बन्धी व्यवस्थापन र जाँचसम्बन्धी काउन्सेलिङ गरिनु पनि महत्त्वपूर्ण हुन्छ । समय समयमा नर्सिङ स्टाफहरु, डाक्टर गएर प्रत्यक्ष रुपमा राउन्ड गर्नु  र नयाँ केही समस्या भए टिप्नु र अद्यावधिक गरिनु कर्तव्य भित्रकै काम हुन् । यसरी बिना लक्षणका व्यक्तिहरुलाई अस्पतालको निगरानीमा राख्दा कामको हिसाबले ठिकै हो । तर सिकिस्त बिरामीको तुलनामा हामीलाई सजिलो हुन्छ  । तर  भारतबाट आउनेहरू बढढ्दै जाँदा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।

यो परिप्रेक्षमा लक्षणबिनाका केशहरुले कोरोना उपचारका लागि छुट्टयाइएका अस्पतालहरु भरिँदै जाने र  पीपीई लगायतका सुरक्षा कवचहरुको अत्यधिक खपत हुने हो भने भने व्यवस्थापन गर्न कठिनाइ हुँदै जानेछ । स्वास्थ्य मन्त्रालयको निर्देशिकाले स्वास्थ्यकर्मीलाई १४ दिन बिरामी लाई हेर्ने, १४ दिन होटल वा अन्य सुरक्षित ठाउँमा आफूसँग प्रत्यक्ष सम्पर्कमा नआउने गरी क्वारेन्टाइनमा राख्नुपर्ने भनेको छ । क्वारेन्टाइन सिद्धिएपछि पीसीआरको टेस्टमा नेगेटिभ आएपछि पनि घरमै सामाजिक दूरी कायम गरी १ हप्ताको बिदा दिई बस्ने व्यवस्था मिलाउने भनेको छ । यस कार्यले स्वास्थ्यकर्मी जनशक्तिको अभाव हुने देखिन्छन् । अझ बिरामी भई आउने कोरोना सङ्क्रमित व्यक्तिहरुले बेड नपाउने र स्वास्थ्यकर्मीको निगरानी नपाउने अवस्था सिर्जना हुन सक्दछ । पीपीई लगायतका सुरक्षा सामग्री प्रयोग गर्दा पनि स्वास्थ्यकर्मी पनि लक्षण बिनाका बिरामीबाट सङ्क्रमित भइदिए भने व्यवस्थापन गर्न गाह्रो देखिन्छ । यसको एउटा उदाहरण हाम्रै एक स्वास्थ्यकर्मी पीसीआर टेस्ट गर्दा सङ्क्रमित भएको पाइएको छ ।

तसर्थ अबदेखि हाम्रो जस्तो स्रोतको कमी भएको देशमा कोरोना पोजेटिभ तर लक्षण वा अन्य स्वास्थ्य समस्या नभएका व्यक्तिलाई बिनापूर्वाग्रह माया र स्नेहपूर्वक आफ्नै समुदाय, निज व्यक्तिको घरको अवस्था हेरी एउटा किरियापुत्रीलाई जस्तै लसपस नहुने गरी सुरक्षित राख्नुपर्ने हुन्छ । उसलाई अलग्गै चर्पीको व्यवस्थापनसहित अनुशासनमा राख्नुपर्छ । अथवा कुनै सामुदायिक भवनमा छुट्टै कोठामा १४ दिनसम्म राख्ने व्यवस्था गर्नु उचित हुन्छ । निजहरुलाई स्वास्थ्य समस्या आइहालेमा तत्काल कोरोना उपचार केन्द्रमा आवश्यक समन्वयसहित पठाउने व्यवस्था गर्नुपर्छ । समुदायले स्ट्यान्ड बाई एम्बुलेन्स राख्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । 

समाजले कोरोना सङ्क्रमित भनेपछि नबुझेर हो या किन हो सकेसम्म पन्छाउनेतिर लागेको देखिन्छ । त्यसो गर्नु एउटा अपराध हो । अहिलेको अवस्थामा कुनै पनि बिरामीलाई अस्पतालमा ल्याइँदा कहाँबाट ल्याइएको हो, कुनै सङ्क्रमितसँग सम्पर्क थियो कि थिएन, बाहिरतिरबाट आएको हो कि होइन ? ज्वरो, खोकी स्वास्प्रस्वासमा समस्या भए खुलस्त रूपमा सत्य तथ्य बताउनु पर्छ । त्यस्तो जानकारी दिँदा स्वास्थ्यकर्मीले सुरक्षाको बन्दोबस्ती साथ हेर्ने वातावरण बन्न सक्छ । शङ्कास्पद भएमा आवश्यक टेस्टका लागि पहल सुरु हुने अवस्थामा हुन्छ । निजलाई हरेक अस्पतालले शङ्कास्पदलाई आइसोलेसनमा राखेर उपचार गराउने व्यवस्थापनले सबैको हित हुन्छ भन्ने बुझ्नु आवश्यक छ  । अबको अवस्थामा हरेक व्यक्ति अस्पतालमा आउँदा मास्क लगाएर, सामाजिक दूरी कायम गरेर अनावश्यक साथीहरुलाई नलिई आउनु बुद्धिमानी हुन्छ । अहिले  कोरोना पोजेटिभ भएका बिरामीभन्दा शङ्कास्पद बिरामीको स्वास्थ्य स्थिति नाजुक अवस्थामा छ । उनीहरुको उपचार व्यवस्थापन गर्नु जति सान्दर्भिक छ निर्बल, शारीरिक रूपमा कमजोर वृद्धवृद्धा र जीर्ण रोगीहरुलाई विशेष तरिकाले उपचार गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ । बाहिरबाट आएका जोकोहीसँग अनिवार्य सामाजिक दूरी कायम गरेर केही समय आफ्नो दैनिक गतिविधि चलाउनु वाञ्छनीय छ । 

(लेखक लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्ट हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. राजेन्द्र प्रसाद खनाल
डा. राजेन्द्र प्रसाद खनाल
लेखकबाट थप