शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप ३ जनामा कोरोना सङ्क्रमणः सङ्क्रमितको सङ्ख्या २० पुग्यो

बिहीबार, १५ जेठ २०७७, १६ : १३
बिहीबार, १५ जेठ २०७७

लम्की । सुदूरपश्चिममा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  धनगढीस्थित प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या २० पुगेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।

नयाँ सङ्क्रमितमध्ये दुई जना कैलाली र एक जना दार्चुलाका छन् । कैलालीको जानकी गाउँपालिका वडा नं ४ कञ्चनपुरका २५ र ३० वर्षीय युवकमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । दुबै जना जानकी गाउँपालिकाको सरस्वती मावि दुर्गौलीस्थित क्वारेन्टिनमा बस्दै आएका थिए ।  उनीहरुमध्ये एकजना जेठ १ गते र अर्का जेठ ३ गते भारतबाट आएका थिए । त्यस्तै दार्चुलामा पनि एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  

नयाँ सङ्क्रमितमध्ये दुईजनाको टीकापुर र एकजनाको दार्चुला अस्पतालमा उपचारको व्यवस्था मिलाइएको मन्त्री सुवेदीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशको कैलालीमा पहिलो कोरोना सङ्क्रमित चैत १४ गते फेला परेका थिए । धनगढी उपमहानगरपालिका वडा नं ५ का ३४ वर्षीय युवकमा कोरोना देखिएपछि कैलालीमा त्रास बढेको हो । कैलालीमा दुई महिनाको अवधिमा २० जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमित पाँचजना उपचारपछि घर फर्किएका छन् । 

सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि स्थानीय तहले सङ्क्रमितको सम्पर्कमा आएकाको खोजी कार्य जारी राखेका छन् । ‘सङ्क्रमितको सम्पर्कमा आएकाको परीक्षण शुरु भएको छ’, जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक जितबहादुर चौधरीले भने, ‘प्रहरीको सहयोगमा सङ्क्रमितसँग जोडिएकाको खोजी भइरहेको छ । उनीहरु सबैलाई सेल्फ क्वारेन्टिनमा बस्न लगाएका छौँ ।’ दैनिक रुपमा सङ्क्रमित थपिन थालेपछि जानकीसँग जोडिएका पालिका टीकापुर, जोशीपुर, लम्की चुहामा उच्च सतर्कता अपनाइएको छ । 

स्थानीय पालिकाले भारत तथा अन्य जिल्लाबाट आउनेको उद्धारमा समेत खटेका छन् । ‘हाम्रो पालिकामा ६०० भन्दा बढी नागरिक क्वारेन्टिनमा राखेका छौँ’, टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘१३ वटा विद्यालयमा क्वारेन्टिन स्थापना गरिसक्यौँ, अझै अटेका छैनन् । दैनिक सयौँ नागरिक भित्रिन थालेका छन् ।’ सङ्क्रमणबाट बच्न सरकारमात्र नभई नागरिकसमेत सचेत हुनुपर्ने उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप