बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा स्थापनाको ३० वर्ष पूरा, यसरी स्थापना भएको थियो पार्टी

बिहीबार, १५ जेठ २०७७, १२ : ०८
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थापनाको ३० वर्ष पूरा भइ ३१ वर्ष प्रवेश गरेको छ । २०४७ सालमा पञ्चायतको अन्त्य भएपछि राप्रपा गठनको पहल भएको थियो । 

त्यतिबेला पार्टी स्थापनामा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मालगायत संलग्न रहेका थिए । 
तर एकताको पहल हुँदै गर्दा बीचमै नेताहरुबीच विवाद हुँदा  एकै दिन, २०४७ जेठ १५ गते, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भएका थिए ।  

त्यसयताका ३० वर्षमा राप्रपा विभिन्न कालखण्डमा विभाजित हुँदै कमजोर अवस्थामा पुगेका थिए । 

 आपसी टकराव, व्यक्तित्वको दम्भ, एजेण्डामा सम्झौता, सत्तालिप्सा लगायतका कारण यो पार्टी कमजोर अवस्थामा पुगेको कतिपयको टिप्पणी छ । 

अहिले भने विभाजित राप्रपा एक भएका छन् । गत फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच एकता भएको थियो । 
पुरानै पार्टी राप्रपाको नामबाट क्रियाशिल राप्रपामा हाल राणा, लोहनी र थापा अध्यक्ष रहेका छन् । 

एकीकृत पार्टीको वैचारिक आदर्श राष्ट्रियता, प्रजातन्त्र, उदारवाद रहेको छ।  

लामो विभाजन र टुटफुट पछि हाल पार्टी एकीकृत भएपछि सो पार्टीका नेता कार्यकर्ता उत्साहित भएका छन् । उनीहरुले पार्टीलाई फेरि एकढिक्का बनाउँदै अघि बढाउनुपर्नेमा जोड दिँदै आएका छन् । 

कोरोनाभाइरसका कारण पार्टी स्थापनाको ३१ औं वर्ष प्रवेशको अवसरमा राप्रपाले कुनै औपचारिक कार्यक्रम राखेको छैन । 

तर नेताहरुले शुभकामना सन्देशमार्फत पार्टी एकढिक्का भएर अघि बढ्ने पुनः प्रतिबद्धता जनाएका छन् । 

अध्यक्ष कमल थापाले स्थापनाकालदेखि पटकपटक टुटफुटको श्रृंखलाबाट गुज्रेको राप्रपा अब कहिल्यै नफुटने बाचाबन्धन सहित एकताबद्ध भएको बताएका छन् । 

उनले एक शुभकामना सन्देश जारी गर्दै राप्रपालाई माया गर्ने देश बिदेशमा रहेका सम्पूर्णमा आभार व्यक्त गरेका छन् । 

देशमा वैकल्पिक शक्तिको खाँचो रहेको भन्दै थापाले राप्रपामा रहेको फरक विचार, देशव्यापि संगठन र अग्निपरीक्षाबाट उत्तीर्ण नेतृत्वको कारण राप्रपा देशले चाहेको वैकल्पिक शक्ति बन्न सक्ने पनि दावी गरेका छन् । 

‘देशलाई अहिले एउटा बलियो वैकल्पिक शक्तिको आवश्यकता  रहेको छ । यस्तो शक्ति जो राष्ट्रवादी होस्, जसले मन वचन र कर्मले प्रजातन्त्रमा बिश्वास गरोस् अनि नेपाली जनताको चाहना अनुरुप सुशासन र सम्बृद्ध प्रदान गर्न सकोस् । कतिपयलाई तितो लाग्न सक्छ, तर यस्तो विकल्प बन्न सक्ने योग्यता र क्षमता राप्रपामा मात्र छ । राप्रपामा रहेको फरक बिचार, देशव्यापि संगठन र अग्निपरिक्षाबाट उत्तिर्ण नेतृत्वको कारण राप्रपा देशले चाहेको वैकल्पिक शक्ति बन्न सक्दछ’, थापाले भनेका छन् । 

यस्तै  अध्यक्ष  राणा र लाेहनीले पनि पार्टी स्थापनाको ३१ औं वर्ष पुगेका अवसरमा शुभकामना दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप