केन्द्रीय संस्करण
गणतन्त्र दिवस

खबरदार ! बाटो बिराउँदैछ गणतन्त्रले

person explore access_timeजेठ १५, २०७७ chat_bubble_outline0

काठमाडौं । आज १३ औं गणतन्त्र दिवस । २०६३÷६३ को सफल जनआन्दोलनको जगमा २०६४ चैतमा संविधानसभाको ऐतिहासिक निर्वाचन भएको थियो । ऐतिहासिक निर्वाचनबाट बनेको संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो । यही ऐतिहासिक दिनको सम्झनामा जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

नेपालको राजनीतिक इतिहासमा एउटा युगको अन्त्य र अर्को युगको सुरुवातका रुपमा पनि २०६५ जेठ १५ लाई स्मरण गरिन्छ । राजतन्त्रलाई विधिवत रुपमा इतिहास तुल्याएर हामी रैतीबाट नागरिकमा परिणत भएको दिनका रुपमा गणतन्त्र दिवसलाई सम्झन्छौं ।

१२ वर्षको अवधिमा गणतन्त्रले नेपाल र नेपालीको मुहारमा कति क्रान्ति ल्यायो ? जनताले गरेका अपेक्षा कति पूरा भए ? जनताका नजरमा दलहरु कति खरो उत्रिन सके ? यस्ता विषयमा विवेचना गर्न जरुरी छ । किनकि दशकौंदेखि झेलेका उत्पीडन, अन्याय र विकृतिको भुङ्ग्रोबाटै जनताले राजतन्त्रको विकल्प खोजेका हुन् । जनताले गरेका बलिदानकै जगमा गणतन्त्र स्थापना भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे यसलाई ‘ऐतिहासिक राजनीतिक परिवर्तन’ भन्छन् । उनले भने, ‘२३८ वर्ष लामो शाहवंशीय राजतन्त्रलाई शान्तिपूर्ण आन्दोलनमार्फत उन्मुलन गरेर गणतन्त्र स्थापना भएको हो, यस्तो घटना विश्व इतिहासमा विरलै पाइन्छ ।’

गणतन्त्र स्थापनाले युगलाई नै दुई भागमा विभाजित गरेको उनको भनाइ छ । ‘राजासहितको राजनीतिक प्रणाली भएको नेपाल भनेर गणतन्त्र अघिको अवधिलाई चिनिन्छ,’ उनले भने, ‘राजारहितको नेपाल, अर्थात् राष्ट्रपतिसहितको राजनीतिक प्रणाली भएको नेपाल भनेर त्यस यताको अवधिलाई व्याख्या गरिन्छ ।’

गणतन्त्र ल्याउन जनताको ठूलो योगदान रहेको उनी बताउँछन् । ‘अझ युवा पुस्ताको भूमिका अतुलनीय छ,’ उनले भने, ‘तर दुःखका साथ भन्नुपर्दा यो तथ्यलाई विस्मृतितिर धकेल्न लागेको अनुभूति भइरहेको छ ।’

राजनीतिक परिवर्तनका लागि योगदान गरेको नयाँ पुस्तालाई यी १२ वर्षमा सम्झना नै नगरिएको उनको भनाइ छ । ‘जसले राजनीतिक परिवर्तनमा योगदान गरे, उनीहरुलाई पटक्कै सम्झना गरेनौं,’ उनले भने, ‘आकांक्षा, उमङ्गहरु विस्तारै निराशामा परिणत हुँदै जानुको कारण यो पनि हो ।’

२०३६ सालको जनमत संग्रहको पूर्वसन्ध्यामा विपी कोइरालाले गरेको एउटा भाषणको सार सुनाउँदै उनले भने, ‘विपीले भन्नुभएको थियो– मलाई त सबैले चिन्छन्, देशभित्र यतिधेरै तरुण छन्, जसलाई कसैले चिन्दैनन् । ती सबै तरुण लोकतन्त्रको जगमा गाडिएका पत्थर हुन् ।’

मुलुकमा गणतन्त्र ल्याउने यो परिवर्तनको जगमा पनि त्यस्ता धेरै युवा रहेको कांग्रेस केन्द्रीय सदस्य घिमिरे बताउँछन् । ‘तिनलाई हामीले सम्झन सकेनौँ,’ उनले भने ।

तत्कालील राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि राजनीतिक दलहरु के गर्ने÷कसो गर्ने भन्ने अन्योलमै रहँदा विद्यार्थी संगठनहरुले राजाको कदमको विरोध गरेको उनी सम्झन्छन् । ‘सबै विद्यार्थी संगठनले दलको दायरा भुल्यौं, एकजुट भएर आन्दोलन थाल्यौं,’ नेविसंघका तत्कालीन अध्यक्षसमेत रहेका घिमिरेले भने, ‘जनताले दलहरुलाई पत्याउन छाडिसकेका थिए, तर हामीले प्रजातन्त्र अलोकप्रिय नै थियो भने पनि अलोकप्रिय प्रजातन्त्रको विकल्प भनेको लोकप्रिय प्रजातन्त्र नै हो, लोकतन्त्रको विकल्प निरंकुशता हुन सक्दैन भन्यौँ ।’

गणतन्त्रको यो १२ वर्षमा पुरानै युगका प्रवृत्ति देखिएको उनको भनाइ छ । ‘सिस्टम त फेरियो तर प्रवृत्ति र शासनशैली फेरिएन,’ उनले भने, ‘व्यवस्थाको नाम फेरियो तर बाँकी मेसिनरी र पात्र उही रहे । उनीहरु फेरिएनन् । जसले परिवर्तनमा भूमिका निर्वाह गरे, उनीहरु विस्मृतितिर धकेलिदैँ गए ।’

१२ वर्षअघि अनेक आकांक्षा बोकेका जनताको मुहार अहिले मलिन भइरहेको घिमिरे बताउँछन् । ‘जनताले गणतन्त्र आयो, राजनीतिक परिवर्तन भएर हामीले यति सुविधा पायौं, यति महत्व पायौं भनेर सुखद् अनुभूति गरेको पाइदैँन,’ उनले भने, ‘कोरोना महामारीमै जनताले भोगेका कुरालाई हेरौं न, हामीले अपेक्षा गरेअनुसारको गणतन्त्र त होइन रहेछ भन्न थालेका छन् जनताले ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य रामकुमारी झाँक्री पनि गणतन्त्रको यो १२ वर्षमा जनता सन्तुष्ट हुन नसकेको बताउँछिन् ।

२०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछिको अवस्था सम्झना गर्दै उनी भन्छिन्, ‘असोज २० गते हामीले प्रदर्शनी मार्गमा विरोध जुलुस निकाल्ने कार्यक्रम राख्यौं, त्यतिबेलाको प्रमुख विद्यार्थी संगठनमध्येकै अनेरास्ववियुको अगुवाईमा तत्कालीन नेकपा एमालेको सबैजसो जिल्ला सम्पर्क मञ्चको सहभागिता हुने भएकाले ८–१० हजार मान्छे भेला भइएला भन्ने सोचेको तर सडकमा निस्कँदा दुई/तीन सयमात्र भयौं, रत्नपार्क पुग्दा ५०/६० जनामात्र थियौं ।’

राजाको निरंकुशताविरुद्ध त्यसरी सुरु गरेको आन्दोलन २०६२÷६३ सम्म आइपुग्दा व्यवस्था नै परिवर्तन गर्ने तहमा पुगेको उनको भनाइ छ । विरोध र असन्तुष्टिलाई कहिल्यै सानो आँक्न नहुने उनले बताइन् ।

यो १२ वर्षमा गणतन्त्रलाई राजतन्त्रको फोटोकपी बनाइएको उनको अनुभव छ । ‘राजाको ठाउँमा पात्र परिवर्तन भए तर प्रवृत्ति त्यही रह्यो,’ उनले भनिन्, ‘सुख–सुविधा खोज्ने, व्यक्तिको जयजयकार गर्नुपर्ने प्रवृत्ति देखिएको छ ।’

ठूलो रकम खर्चिएर हेलिकप्टर किन्नुपर्ने, गाडी खरिद गर्नुपर्ने, सुविधा बढाउनुपर्ने जस्ता विषयलाई जनताले राजतन्त्रसँग दाँज्न थालेको उनले बताइन् । ‘राष्ट्रपतिलाई चढ्नमात्र होइन, गर्भवती महिलाको उद्धारमा हेलिकप्टर प्रयोग भइरहेको छ पनि भनिन्छ,’ उनले प्रश्न गरिन्, ‘मुगुबाट एउटी महिलालाई काठमाडौं ल्याएर उपचार गर्न कति खर्च लाग्छ ? कति महिलालाई यसरी ओसार्न सकिन्छ ? त्यो हेलिकप्टर किन्ने रकमले गाउँमा बर्थिङ सेन्टर, स्थानीय तहमा सुविधासम्पन्न प्रसूति अस्पताल स्थापना गरे हुँदैन ?’

२००७ सालको परिवर्तनपछि शैक्षिक जागरणको अभियान चलेको र सोही क्रममा २०२५/३० सालसम्म देशमा विभिन्न विद्यालय स्थापना भएको उनी बताउँछिन् । ‘तीमध्ये कयौं विद्यालयले स्थापनाको स्वर्ण महोत्सव मनाइरहेका छन्,’ उनले भनिन्, ‘विभिन्न जिल्लाका विद्यालयको स्वर्ण महोत्सवमा राष्ट्रपति जाने, राजाकै शैलीमा पैसा बाँड्ने ! यही गणतन्त्र हो हामीले खोजेको ?’ यस्ता कार्यक्रममा लालायित हुनको सट्टा गरिब तथा विपन्न परिवारका लागि शैक्षिक क्षेत्रमा लगानी गरे जनताका छोराछोरी शिक्षाबाट वञ्चित हुन नपर्ने उनको भनाइ छ ।

यद्यपि यो राजनीतिक व्यवस्थाप्रति आफूलाई गर्व लागेको उनी बताउँछिन् । ‘राजतन्त्र अन्त्य अपरिहार्य थियो,’ उनले भनिन्, ‘त्यो बेला हामीले नै त्यसको लागि नेतृत्व गर्नुपर्ने अवस्था थियो, हामीले ग¥यौं । व्यवस्था परिवर्तन भयो, यसमा मलाई गर्व छ ।’

सचेतनापूर्वक आन्दोलनमा लाग्नेको पंक्ति थोरै हुने भए पनि त्यसले निर्णायक मोड ल्याउन सक्ने उनले बताइन् । झाँक्रीका अनुसार बहुसंख्यक जनतालाई व्यवस्था जुनसूकै भए पनि आफ्नो रोजीरोटी, जीविकोपार्जनमै मात्र सरोकार हुन्छ । ठूला तथा धनी वर्गलाई खुला बजारमा कसरी आफ्नो पूँजी वृद्धि गर्ने, कसरी मुनाफा कमाउने भन्ने नै मुख्य चिन्ता हुने उनको भनाइ छ । ‘मध्यम वर्गकाले समस्या देख्छन् र समाधान पनि सम्भव छ भनेर प्रयत्न गर्छन्,’ उनले भनिन्, ‘यस्तो सोच राख्ने थोरै हुन्छन् तर अन्तिममा जीविकोपार्जनमै सरोकार राख्ने वर्गले पनि त्यही मध्यम वर्गले उठाएका कुरामा विश्वास गर्न थाल्छ र धनी वर्गले पनि यताबाट पो मुनाफा बढी हुन्छ कि भनेर समर्थन गर्न थाल्छ । परिवर्तनको प्रक्रिया यसरी नै हुन्छ ।’

अहिले देखिएका कमी कमजोरीलाई पनि निरन्तर खबरदारी गरेर सुधार्दै जानुपर्ने उनी बताउँछिन् ।

राजनीतिक विश्लेषक हरि रोका गणतन्त्रका लागि जनताले निकै ठूलो लडाई लडेको बताउँछन् । ‘दक्षिण एसियाली मुलुकमा हाम्रो गणतन्त्र कान्छो हो,’ उनले भने, ‘तर यसलाई हामीले सहजै प्राप्त गरेका भने होइनौं, जनताले निकै लामो लडाई लडेका छन् ।’

यो राजनीतिक परिवर्तनका लागि बाजेको पुस्तादेखि बाउको पुस्ता हुँदै आफ्नो पुस्तामात्र नभएर छोराको पुस्तालेसमेत संघर्ष गर्नुपरेको उनले बताए । ‘चार पुस्ताले संघर्ष गर्नु प¥यो,’ उनले भने, ‘किनकि राजाले पटक पटक जनताका अधिकार खोसे ।’ माओवादी जनयुद्ध र लोकतान्त्रिक पद्धतिका लागि लडेका पार्टीबीचको सहकार्यबाट गणतन्त्र स्थापना भएको उल्लेख गर्दै उनले भने, ‘यसका लागि हजारौं मानिसले बलिदान गर्नुपरेको छ ।’

यो १२ वर्षमा शिक्षा, स्वास्थ्य, जीवनपद्धतिलाई सहजतातिर लैजाने दिशामा कमी कमजोरी देखिएको उनी बताउँँछन् । यसो हुनुमा गणतन्त्रपछि बनेका सरकारका नीति, कार्यक्रम, प्राथमिकता नै मुख्य कारक रहेको उनको भनाइ छ ।

स्रोत–साधन पर्याप्त भएर पनि देश गरिब भयो, गरिबका छोराछोरीलाई अरु देशमा गएर काम गर्नुपर्ने अवस्था बनाइयो भनेर नै त्यसबाट मुक्तिका लागि जनताले संघर्ष गरेको विश्लेषक रोका बताउँछन् । ‘सबैले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सुविधा सहज पाउँछन्, पूँजी निर्माणमा सबै सहभागी हुन पाउने कल्पनाका साथ गणतन्त्रका लागि संघर्ष गरिएको हो,’ उनले भने ।

पछिल्ला दिनमा गणतन्त्रप्रति नै जनताको अविश्वास बढ्न थालेको हो कि भन्ने अवस्थासमेत देखिएको उनले बताए । ‘राष्ट्रपति, प्रधानमन्त्री सुख–सयलमा केन्द्रित भएको, अधिकार क्षेत्रभन्दा बढी फुई देखाएर हिँड्न थालेको, राष्ट्रप्रमुख र सरकारप्रमुखमा क्षमतावान मान्छे नभएको हो कि जस्तो पनि देखिन्छ,’ उनले भने, ‘समानता, सामाजिक न्याय, आर्थिक–सामाजिक विषयमा समान पहुँचजस्ता कुरा अहिले ओझेलमा परेका छन् ।’

दलहरुले निर्वाचनमा बाचा गर्ने तर निर्वाचनमा जितेपछि आफ्ना बाचा पूरा गर्नेतर्फ ध्यान नदिएको रोकाको भनाइ छ । उनले भने, ‘त्यसैले फेरि अर्को क्रान्ति गर्नुपर्ने पो हो कि भन्नेजस्तो देखिएको छ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.