शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

बिहीबार, १५ जेठ २०७७, ०८ : ०९
बिहीबार, १५ जेठ २०७७

पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परीक्षण गरिएकामध्ये वीरेन्द्रनगर नगरपालिकाका सात पुरुष, तीन महिला, चौकुने गाउँपालिकाका दुई महिला, एक पुरुष, सुदुरपश्चिमको बझाङ घर भएका ५५ वर्षीय एक पुरुष र पहिचान हुन बाँकी एक महिलामा गरी १५ जनामा कोरोना पोजिटिभ देखिएको छ । 

महाशाखा प्रमख डा लक्ष्मीनारायण तिवारीले नयाँ पहिचान भएका सबै सङ्क्रमितलाई आइसोलेसनमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । बझाङका ५५ वर्षीय पुरुष तथा बोल्न नसक्ने एक महिलाको ठेगाना पत्ता लगाउन प्रयास भइरहेको उनले बताए । 

मन्त्रालयले प्रदेशका सबै जिल्लामा आरडिटी र पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेसन, १७ भेन्टिलेटर रहेका छन् । पछिल्लो २४ घण्टामा सुर्खेत र जुम्लामा गरिएको १६० पिसीआर परीक्षणमध्ये सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशालामा १५ जनाको रिर्पोट पोजिटिभ आएको हो ।
 
मृतक युवाको रिर्पोट नेगेटिभ

भारत गुजरातबाट फर्कने क्रममा मङ्गलबार राति मृत्यु भएका सुर्खेतका एक युवकको कोरोना रिर्पोट नेगेटिभ देखिएको छ । प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार मृतकको बुधबार स्वाब परीक्षणका क्रममा कोरोना नभएको पाइएको छ । आफन्तका अनुसार ती युवामा बाथ रोगसम्बन्धी समस्या थियो । बबईबाट वीरेन्द्रनगर आउँदै गर्दा बान्ता गर्न थालेपछि उनलाई अस्पताल पु¥याइएको थियो । कोरोना नदेखिएपछि अस्पतालले शव परीक्षण गरेर परिवारलाई बुझाउनेछ ।

चौरजहारी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग

कर्णाली प्रदेशका मानवअधिकारकर्मी तथा नागरिक सङ्गठनले रुकुमपश्चिमको चौरजहारीस्थित अन्तरजातीय विवाहको सिलसिलामा कुटपिट गरी हत्या गरेको घटनाको अनुसन्धान गरी संलग्न सबैलाई कानूनी दायरामा ल्याउन ध्यानाकर्षण गराएका छन् । नागरिक सङ्गठनले बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको यथाशीघ्र उच्चस्तरीय छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसमक्ष माग गरेका हुन् ।

चौरजहारी नगरपालिका–८ सोतीगाउँमा जेठ १० गते जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विश्वकर्मा तथा उनका साथमा गएका युवाको समूहमाथि गाउँलेले आक्रमण गरेका थिए । नवराजसहित तीन जनाको शव फेला परेको छ भने चार जना अझै बेपत्ता छन् । वडाध्यक्षसहितको सहभागितामा भएको घटनालाई सरकारले गम्भीरतापूर्वक अनुसन्धान गरी दोषी जोसुकै भए पनि कारवाही गर्नुपर्ने अधिकारकर्मीको माग छ ।

नागरिक सङ्गठनहरुले घाइतेको उपचार तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न समेत प्रदेश र सङ्घीय सरकारसमक्ष अनुरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ तत्कालीन व्यवस्थापिका संसद्बाट छुट्टै कानून पारित भएको जेठ १० गते अर्थात् दलित समुदायले उत्सव मनाउने दिनमा सामूहिक प्रकृतिको हत्याको घटनाले सिङ्गो मुलुकलाई स्तब्ध बनाएको छ ।”

विज्ञप्ती जारी गर्नेहरुमा उच्च अदालत बार एशोसिएसन सुर्खेत, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेत, गैरसरकारी संस्था महासङ्घ, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश, आवाज, कर्णाली प्रदेश दलित अधिकार सञ्जाल, समाज जागरण केन्द्र (स्याक), सुन्दर नेपाल संस्था, मानवअधिकार एलाइन्स, दलित महिला सङ्घ र स्थानीय सरोकार समूह रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप