शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाँकेमा १७० सङ्क्रमितः रुकुमपूर्वमा पहिलो पटक फेला

बुधबार, १४ जेठ २०७७, १८ : ५२
बुधबार, १४ जेठ २०७७

बाँके जिल्लामा कोरोना सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा संक्रमण रोकिन आजसम्म रोकिन सकेको छैन । जिल्लामा आज मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ ।
 
जिल्लाका आठ स्थानीय तहमध्ये आजसम्म छ स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन्  । आज जिल्लाका चार स्थानीय तहका १६ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या १७० पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


जिल्लामा नरैनापुर गाउँपालिका कोरोना सङ्क्रमणको केन्द्रविन्दु बन्न पुगेको छ । नरैनापुरमा मात्र एक जनाको ज्यान जाने गरी ११४ जनामा कोरोना सङ्क्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले बताए ।

बाँकेका २२ कोरोना सङ्क्रमित उपचारपछि निको भई घर फर्किएका छन् ।  आज थपिएका हरुलाई सम्बन्धित स्थानीय तहमा निर्मित आइसोलेशन केन्द्रमा राखेर उपचार गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।


 मलेसियाबाट आउनेमा सङ्क्रमण

रुकुम(पूर्व) जिल्लामा पहिलो पटक कोरोना संक्रमित  भेटिएका छन् । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

गाउँपालिका वडा नं १३ का २३ वर्षीय पुरुष, वडा नं १४ की १५ वर्षीया महिला र १८ वर्षीय पुरुषमा आज दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमणको पुष्टि गरेको छ ।


कोरोना परीक्षणका लागि जिल्लाभरबाट स्वाब संकलन गरिएका ५७ जनामध्ये तीन जनामा कोरोना पुष्टि भएको छ । अरुको रिपोर्ट भने नेगेटिभ आएको छ । 

कोरोना देखिएका २३ वर्षीय युवक गत चैत ६ गते मलेसियाबाट फर्किएका र अन्य दुई जना यही महिना बाराबाट फर्किएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु बारामा इँटाभट्टामा काम गरेर फर्किएका हुन् । 

कोरोना पुष्टि भएका दुई जना सिद्धमण्डली मावि राङ्सीको क्वारेन्टाइन तथा मलेसियाबाट आएका युवा  होम क्वारेन्टाइनमा रहेका छन् । 


ती युवकको गत वैशाख १२ गते आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो । 

आरडिटीबाट  उनको कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का निमित्त कार्यालय प्रमुख यादव शर्माले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप