केन्द्रीय संस्करण

पापको बाउ को ?

person explore access_timeजेठ १४, २०७७ chat_bubble_outline0

चन्द्र शेखर अधिकारी वर्षौंसम्म काशी बसेर पढे । व्याकरण, न्याय, बेदान्त, धर्मशास्त्र आदिको पढाइ सकियो । गुरुहरुबीच उनको प्रतिभा र परिश्रमको प्रायः चर्चा नै हुन्थ्यो । शिष्ट, शालीन र विनम्र थिए । पढाइका आधारमा गुरुहरुबाट उनले ‘पण्डित’ पदवी पनि पाए ।

काशीमा अध्यापनको काम पाएका थिए । उनलाई त्यहाँ बस्न मन लागेन । आफ्नै जन्मभूमिलाई कर्मभूमि बनाउँछु भन्ने निश्चय गरे । केही महत्वपूर्ण पुस्तकहरुको गठरी पारेर काँधमा राखे र घरको बाटो लागे ।

त्यस ताका पैसा भए घोडागाडा वा गोरुगाडामा र पैसा  नभए हिँडेरै बाटो पार गर्नुपर्थ्यो । कसै कसैले विद्यार्थीलाई विद्वानलाई र पथरा परेका वृद्ध तथा बालकलाई पैसा नभए पनि आफ्नो गाडीमा राखेर  केही बाटो कटाइदिन्थे । यो सधैँ सवैलाई मिल्ने सन्जोग भने थिएन ।

त्यस दिन पण्डित चन्द्रशेखरलाई गाडीको कुनै सन्जोग मिलेन । दिनभरी हिँडेपछि बेलुकाको बासमा खाना खाएर गुन्द्रीमा बसेका मात्र थिए त्यसै गुन्द्रनिर अर्को गुन्द्रीमा बस्दै त्यस घरका एक वृद्धले उनलाई अचानक सोधे, “पापको बाउ को हो पण्डितजी, तपाइँ ठूलो विद्वान् हुनुहुन्छ जस्तो लाग्छ । तपाइँ आफ्नो विद्वत्ताका आधारमा मेरो यो जिज्ञासा  मेटाइदिनुहुन्छ कि ?”

युवा पण्डित धेरै बेर घोत्लिए । आफूसँग भएका विभिन्न ग्रन्थका पाना पल्टाएर हेरे । कतै कहीँ पनि यसको जवाफ भेट्टाउन सकेनन् ।


सच्चा विद्वान् जिज्ञासु हुन्छन् । पण्डित चन्द्रशेखर पनि जिज्ञासु थिए । आफूसँग कसैले केही सोधेपछि चित्त बुझ्दो जवाफ नदिएसम्म निद्रै नलाग्ने उनको बानी थियो । विभिन्न कोणबाट सोच्दा पनि जवाफ भेट्टाउन नसकेपछि पण्डित चन्द्रशेखर बिहान उठेर त्यताबाट काशीतिरै फर्के ।


सच्चा विद्वान् जिज्ञासु हुन्छन् । पण्डित चन्द्रशेखर पनि जिज्ञासु थिए । आफूसँग कसैले केही सोधेपछि चित्त बुझ्दो जवाफ नदिएसम्म निद्रै नलाग्ने उनको बानी थियो । विभिन्न कोणबाट सोच्दा पनि जवाफ भेट्टाउन नसकेपछि पण्डित चन्द्रशेखर बिहान उठेर त्यताबाट काशीतिरै फर्के । काशीका विद्वान्हरुसँग बसेर छलफल गर्दा र थप विभिन्न ग्रन्थहरुको अवलोकन गर्दा पनि प्रश्नको चित्त बुझ्दो जवाफ नभेटिएपछि चन्द्रशेखर थप विद्वान् व्यक्तित्वको खोजीमा काशीबाट देशाटनमा निस्के ।

अनेकौ. तीर्थहरुमा पुगे । गुरुकुलहरुमा पुगे । अनेकौं विद्वान्हरुसँग  भेटे । कतैकसैबाट पनि उनले सन्तोषजनक उत्तर पाउन सकेनन् ।

पण्डित चन्द्रशेखर यसरी विभिन्न ठाउँको भ्रमण गर्दै  एक दिन भारतको पूनास्थित सदाशिवपीठबाट निस्केर निकटको एक सडकमा अगाडि बढिरहेका थिए । ठीक त्यसै बेला त्यहाँ सडककिनारकै महलकी एक सुन्दरी वेश्या झ्यालमा बसेर बाहिर हेरिरहकी थिईन् । चन्द्रशखेरमाथि उनको दृष्टि पर्‍यो । चलाख वेश्याले आफ्नी कामदार केटीसँग भनिन्, “यी बाहुन् रङ्गढङ्ग हेर्दा पढेगुनेको विद्वान् जस्ता छन् । तर पनि उदास छन् । यी यति उदास किन छन् ? पत्ता लगाएर आऊ त !”


पण्डित चन्द्रशेखर यसरी विभिन्न ठाउँको भ्रमण गर्दै  एक दिन भारतको पूनास्थित सदाशिवपीठबाट निस्केर निकटको एक सडकमा अगाडि बढिरहेका थिए । ठीक त्यसै बेला त्यहाँ सडककिनारकै महलकी एक सुन्दरी वेश्या झ्यालमा बसेर बाहिर हेरिरहकी थिईन् । चन्द्रशखेरमाथि उनको दृष्टि पर्‍यो । चलाख वेश्याले आफ्नी कामदार केटीसँग भनिन्, “यी बाहुन् रङ्गढङ्ग हेर्दा पढेगुनेको विद्वान् जस्ता छन् । तर पनि उदास छन् । यी यति उदास किन छन् ? पत्ता लगाएर आऊ त !”


कामदार युवती महलबाट बाहिर निस्किन् । फटाफट अघि बढेर ती युवा ब्राह्मणलाई प्रणाम गरिन् र सोधिन्, “हजूर यति उदास किन ? मेरी मालिक्नीले मलाई हजूरका उदासीको कारण सोध्न पठाउनु भएर म आएकी । कृपया बतइदिनुहुन्छ कि ?”

“मलाई कुनै रोग छैन । धनको इच्छाले पनि होइन । तिम्री मालिक्नीले मेरो कुनै सहायत गर्न सक्नुहुन्न । मेरो समस्या शास्त्रीय समस्या हो ।” पण्डित चन्द्रशेखरले भने ।

कामदार युवतीले कर गर्दै भनिन्, “कुनै हानि नोक्सानी छैन भने त्यो समस्या चाहिँ के हो बताइदिनुहोस् न ! बताउँदैमा के फरक पर्छ र ?”

व्राह्मणले केही अनकनाउँदै भने, “पापको बाउ को हो ?’ म यसै प्रश्नको जवाफ खोज्ने चक्करमा छु !”

व्राह्मण अलिकति अगाडि बढेका मात्र थिए कामदार युवति स्याँफ्याँ गर्दै दगुर्दै पुनः आइन् र अगाडि पर्दै भनिन्, “मेरी मालिक्नी भन्नुहुन्छ हजूरको प्रश्न साह्रै सरल छ । यसको उत्तर वहाँले बताइदिन सक्नुहुन्छ । परन्तु यसका लागि हजुरले यहाँ केही दिन पर्खनुपर्छ ।”

यस भनाइबाट पण्डित चन्द्रशेखरमा नयाँ उत्साह पलायो । उनले सहर्ष यो प्रस्ताव सकारे । उनका लागि वेश्याले एक अलग्गै भवनमा बस्ने व्यवस्था मिलाइन् । त्यहाँ पण्डितजीका लागि पूजाकोठा र भान्छाकोठाको व्यवस्था थियो । खाना पकाउने चुल्हो, पकाउने, खाने भाँडा, खाद्यसामग्री सवैको व्यवस्थित बन्दोबस्त थियो । पण्डित चन्द्रशेखर बडो कर्मनिष्ट ब्राह्मण थिए । धाराबाट आफैँ पानी थापेर ल्याउँथे । चुल्हामा आगो बालेर आफैँ खाना तैयार गर्थे । विलासिनी वेश्या दिनदिनै बिहान उनलाई प्रणाम गर्न आउँथिन् । एक दिन उनले विनम्र भावका साथ सहानुभूतिपूर्ण लवजमा भनिन्, “आदरणीय पण्डितजी, हजूर रापिलो आगोको अगाडि बसेर खाना बनाउनुहुन्छ । हजूरलाई धूवाँले सताएको देख्छु । आगोको राप र धूवाँले हजूर उकुस्मुकुस् हुनु भएको देख्दा मलाई दुःख लाग्छ । हजूर आज्ञा दिनुहुन्छ भने म प्रतिदिन बिहान नुहाएर चोखो कपडा फेरेर, जतनसँग, शुद्धताका साथ हजूरको खाना तैयार गरिदिन्छु । सेवाको यो अवसर मलाई दिनुहुन्छ भने म हजूरलाई दिनदिनै दशथान  असर्फी पनि दक्षिणाका रुपमा अर्पण गर्छु । हजूर विद्वान् र तपस्वी  व्राह्मण हुनुहुन्छ, । ममाथि दया गरेर यति सामान्य सेवा गर्ने अवसर दिनुभयो भने म अपवित्र पापिनीको पनि उद्धार हुन्थ्यो कि !”

सरलहृदयी बाहुनचरीका मनमा वेश्याका नम्र प्रार्थनाको राम्रै असर पर्‍यो । सुरुमा त उनका मनमा धेरै नै हिचकिचाहट आयो । अन्तमा लोभले प्रेरणा जगायो । लाग्यो, ‘यसमा त्यति सारो हानि के छ र ? बिचरी यति नम्र बनेर प्रार्थना गरिरहेकी छ । स्नान गरेर शुद्ध वस्त्र पहिरेर भोजन बनाउँछे भने त्यो भोजन ग्रहण गर्नुमा दोष नै के छ र ? यहाँ मलाई कसैले चिन्दैन । हाम्रा गाउँका मान्छे यहाँ कोही आइपुग्दैनन् । दिनको दश थान असर्फी पनि दिन्छु भनेकी छ । धुक्चुक् लाग्यो भने घर गएपछि एउटा प्रायश्चित्त गरुँला !’ यसरी मनसल्लाह गरेर पण्डित  चन्द्रशेखरले वेश्याको प्रस्ताव स्वीकार गरे ।

अर्को दिन बिहान । विलासिनी वेश्याले हिजो आफूले भनेबमोजिम शुद्धताका साथ विविध स्वादिष्ट परिकारसहित भोजन तैयार गरिन् । लोटामा पानी लिएर बडो श्रद्धाका साथ व्राह्मणको गोडा धोइन् । पिर्कामाथि सुकिलो चोखो रुमाल बिच्छ्याइन् । व्रह्मणलाई त्यसमा बसाइन् । ठूलो थालमा वरिपरि स्वादिष्ट परिकारहरुका बटुका सजाएर बीचमा मगमग बास्ना आउने भात पस्किन् । पक्वान्नले भरिएको त्यो थाल बडो श्रद्धा सम्मानसाथ पण्डित चन्द्रशेखरका अगाडि राखिदिइन् ।

पिर्कामा बसेका पण्डित चन्द्रशेखरले खानाका लागि थाली वरिपरि पानी घुमाए । भातको गाँस टिप्न थालमाथि हात पुर्‍याएका मात्र थिए विलासिनीले एकाएक थाल तानेर  त्यहाँबाट अलि पर राखिदिइन् ।

चन्द्रशेखर ट्वाँ  परे । उनका आँखाभरी प्रश्न थिए, “के गरेको यो ?” तत्काल दुवै हात जोड्दै विनम्र आवाजमा विलासिनीले भनिन्, “व्राह्मणदेव,मलाई क्षमा गर्नुहोस् । एक कर्मनिष्ठ व्राह्मणलाई आचारच्युत हुन दिने  सोचमा म हिजो थिइनँ । आज पनि छैन । मैले त हजूरका प्रश्नको सप्रमाण जवाफ दिन मात्र चाहेकी हूँ  । जुन व्राह्मण हजूर हिजोसम्म अर्काले बोकेर ल्याएको पानी पिउन र त्यस पानीबाट खाना बनाउन पनि मान्नुहुन्नथ्यो त्यही शास्त्रज्ञ, सदाचारी व्राह्मण हजूर आज जसका वसमा परेर एक पथच्युत वेश्याले बनाएको खाना स्वीकार गरेर खान तम्सनु भएको छ, त्यही शक्तिशाली ‘लोभ’ नै पापको साक्षात् बाउ हो !’’


जुन व्राह्मण हजूर हिजोसम्म अर्काले बोकेर ल्याएको पानी पिउन र त्यस पानीबाट खाना बनाउन पनि मान्नुहुन्नथ्यो त्यही शास्त्रज्ञ, सदाचारी व्राह्मण हजूर आज जसका वसमा परेर एक पथच्युत वेश्याले बनाएको खाना स्वीकार गरेर खान तम्सनु भएको छ, त्यही शक्तिशाली ‘लोभ’ नै पापको साक्षात् बाउ हो !’’


“यो यथार्थ  हामीबीचको भर्खरैको घटनाबाट स्पष्ट भयो नि हैन र ? दश थान असर्फी दक्षिणाको ‘लोभ’ले हजूरलाई मैले तैयार गरेको भोजनको थालीसम्म तान्यो ।  यस घटनापछि अब ‘लोभको बाउ को हो ?’ भन्ने प्रश्नका सम्बन्धमा कुनै अस्पष्टता बाँकी रह्यो र ?”  विलासिनीले थपिन् ।

चन्द्रशेखर लज्जित हुँदै उठे र विलासिनीलाई नमस्कार गर्दै भने, “मानिसलाई चेतना दिएर रुपान्तरण गर्ने तपाईँको क्षमतालाई म आदरपूर्वक नमन गर्छु । तपाइँ मेरा लागि कुनै पूजनीय गुरुभन्दा कम्तीको हुनु भएन । तपाईँलाई पुनः प्रणाम गर्दै म यहाँबाट अहिले विदा हुन्छु । कृपया मेरो यस पतनशीलतालाई चाहिँ कहिल्यै पनि क्षमा नगर्नुहोला !”

पण्डित चन्द्रशेखर त्यहाँबाट निस्के । दायाँ वायाँ नहेरी फटाफट आफ्नो घरको बाटो लागे । उनका निकटतम त्यति वेलाका मानिसहरुको भनाइ छ, ‘चन्द्रशेखरले जीवनमा कहिल्यै विलासिनीलाई बिर्सेनन् ।  पापको बाउ चिनेका चन्द्रशेखरले लोभलाई आफ्नो मनको नजीक पर्न पनि कहिल्यै दिएनन् ।’

साभारः ‘सत्कथा विशेषाङ्क, गीताप्रेस, गोरखपुर ।’ 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.