शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युरोपेली युनियनद्वारा १० खर्ब युरोको सहायता योजना प्रस्तुत

बुधबार, १४ जेठ २०७७, १५ : ०५
बुधबार, १४ जेठ २०७७

ब्रसेल्स । कोरोनाभाइरस महामारीका कारण सिर्जित आर्थिक नोक्सानीमा मल्हमपट्टी लगाउने उद्देश्यले युरोपेली युनियनमा आबद्ध मुलुकका लागि बुधबार दश खर्ब युरोको राहत योजना सार्वजनिक गरिने भएको छ । 

महामारीका कारण ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य विश्वका धेरै देशले अभूतपूर्व आपतकालीन उपायहरू घोषणा गरिरहेका छन् । यही शैलीलाई पछ्याउँदै युरोपेली युनियनले पनि विशाल राहत प्याकेज घोषणा गर्न लागेको हो । कोरोनाभाइरसबाट विश्वभर तीन लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने ५७ लाखभन्दा बढी मानिस संक्रमित छन् । 

दक्षिण (ल्याटिन) अमेरिकामा भाइरसको विनाशलिला जारी रहेकै अवस्थामा युरोपमा भने संक्रमणमा केही न्यूनता आएसँगै बिस्तारै व्यवसाय खोल्न थालिएको छ । तर युरोपमै सर्वाधिक क्षति व्यहोरेका इटाली र स्पेनलाई आफ्नो अर्थव्यवस्था पुनर्जीवित तुल्याउन निकै हम्मे पर्ने देखिएको छ । 

युरोपियन युनियनका प्रमुख उर्सुला भोन डर लिनले बुधबार १० खर्ब युरोको आर्थिक प्रस्ताव युरोपेली संसदमा प्रस्तुत गर्नु हुनेछ । कोरोना महामारीबाट सर्वाधिक असर परेका मुलुकका लागि यस प्रस्तावमा ऋण र अनुदान दुबै उपलब्ध गराउने योजना समेटिएको छ । 

युरोपेली संसदमा यस प्रस्तावमाथि निकै चर्को बहस हुनेछ किनकि इटाली र स्पेन जस्ता पहिल्यै ऋणभार बढी भएका र महामारीको क्षति पनि बढी सहनु परेका मुलुकले ऋणभन्दा अनुदानकै लागि पहिलो प्रयास गर्नेछन् ।  युरोपेली महादेशले कोभिड–१९ बाट एक लाख ७२ हजारभन्दा बढी मानिस गुमाइसकेको अवस्थामा आएको नयाँ आर्थिक प्रस्तावले मानवीय क्षति र आर्थिक विनाशलाई सम्बोधन गर्नुपर्ने कठिन अवस्था छ । 

स्पेनमा कोरोनाबाट निधन भएकाहरुको सम्झनामा बुधबारदेखि १० दिने शोक मनाइँदैछ । यहाँ २७,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्पेनका सबै सरकारी, सार्वजनिक भवनमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । 

महामारीको चपेटामा परेका इटाली, जर्मनी, फ्रान्स र बेलायत समेतका धेरै मुलुकले लकडाउनलाई खुकुलो बनाउन थालेका छन् । मानिसहरूलाई पसल जान, समुद्र किनारमा डुल्न, पार्कहरुमा दौडिन अनुमति दिइएको छ । 

यसैबीच, रूसले कोरोना संक्रमणको चरम सीमा पार गरिसकेको जनाएको छ ।  –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप