केन्द्रीय संस्करण

के कोरोना भाइरसबाट कालाजातिका मानिस बढी मरेका छन् ?

person explore access_timeजेठ १४, २०७७ chat_bubble_outline0

कोरोना भाइरसको महामारी अमेरिकामा भयावह रूपले फैलिएको छ । यो लेख तयार गर्दासम्म अमेरिकामा मात्र ९३ हजार मानिसको मृत्यु भइसकेको छ ।  अमेरिकाको न्युयोर्क त अझ यसको केन्द्रविन्दुका रूपमा उदय भएको छ । अमेरिकाभर मर्नेहरूमध्ये आधाजति न्युयोर्कका छन् । यसले पनि न्युयोर्कमा अत्यधिक रूपमा कोरोना भाइरसले सङ्क्रमण गरेको पुष्टि गर्दछ । त्यसो त कोरोना भाइरसले गोराभन्दा काला जातिका मानिसलाई बढी आक्रमण गरेको छ भन्ने कुरा विभिन्न समाचार माध्यममा आएका छन् । के त्यो कुरा साँचो हो ? यदि हो भने किन त्यस्तो भइरहेको छ ? यो लेख त्यसैमा केन्द्रित रहनेछ ।

अमेरिकामा अफ्रिकन अमेरिकनहरू (जसलाई हामी काला जातिका रूपमा चिन्छौँ) को कुल सङ्ख्याको १३ प्रतिशत छ । कोभिड १९ को मुख्य केन्द्रविन्दुका रूपमा रहेको न्युयोर्क, मिचिगनको सिकागो, न्युजर्सी र लुजियानामा कोरोना भाइरसको उपचारार्थ भर्ना भएकामध्ये मरेका अधिकांशतः काला जातिका मानिसहरूको आधारमा यो सङ्ख्या निकालिएको हो । करिब ३२ वटा राज्यमा काला जातिको बसोवास कम भए पनि मृतकको सङ्ख्या भने बढी भएको पाइएको छ । सिकागोमा मरेका मानिसमध्ये काला जातिको सङ्ख्या ७२ प्रतिशत रहेको सर्वेक्षणहरूले जनाएका छन् भने लुजियानाको स्थिति पनि त्यस्तै त्यस्तै रहेको छ । लुजियानामा कोभिडबाट मर्ने काला जातिको सङ्ख्या ७० प्रतिशत रहेको जनाइएको छ । यो कुराको पुष्टि सिकागोका मेयर लोरी लाइटफुट र लुजियानाका गभर्नर जोन वेल एडवार्डले गरेका छन् । मिजोरी र मिचिगनको स्थिति पनि करिब यस्तै छ । त्यस्तै न्युयोर्कका गभर्नर एन्ड्रयु क्युमोले न्युयोर्कमा सिकागो र लुजियानाको स्थिति नभए पनि मृतकहरूमा कालाजातिको बाहुल्य रहेकोमा किन यस्तो भइरहेको छ र गरिबले किन ठूलो मूल्य चुकाएका छन् भनेर प्रश्न गरेका छन् । कन्सासमा त गोराहरूभन्दा सात गुना बढी कालाहरू यो रोगको शिकार भएका छन् । कुनै पनि पार्टीसँग असम्बद्ध एपीएम अनुसन्धान ल्याबले जारी गरेको कोरोना भाइरसको रङमा करिब तीन गुना काला जातिका मानिसहरू मरेको तथ्य सार्वजनिक गरेको छ । उसले जारी गरेको तथ्याङ्कमा प्रति एक लाख अफ्रिकन अमेरिकनमा ५०.३, गोराहरू २०.७, ल्याटिनो २२.९ र २२.७ एसियन अमेरिकन मरेका छन् । यो तथ्याङ्क ४० वटा राज्यका आधारमा तयार गरिएको बताइएको छ । न्युयोर्कमा हाल ८० लाख मानिसको आवादी छ । त्यसमध्ये २८ प्रतिशत काला जातिका छन् र त्यसमध्ये हालसम्म २० हजारले ज्यान गुमाइसकेका छन् । जे भए पनि गरिबी नै यो रोगको मृत्युको मुख्य कारण भएको कुरालाई नकार्न सकिन्न । यो कुरालाई जोन हप्किन्स विश्वविद्यालयले गरेको अनुसन्धानले मात्र होइन, जातिय विभेदविरुद्ध अनुसन्धान तथा नीति निर्माण केन्द्रले पनि स्वीकार गरेको छ ।

किन यस्तो भइरहेको छ ? गरिबीलाई उनीहरूले पहिलो श्रेणीमा राखेका छन् र जातीय असमानता र स्वास्थ्य सेवामा उनीहरूको सहज पहँुच नहुनुलाई पनि यसो हुनुको कारक मानेका छन् । त्यसो त कुनै पनि रोगव्याधी आउनासाथ पहिलो शिकार गरिब वर्गमा नै पर्छ । चाहे अमेरिका होस्, युरोप होस् वा नेपाल नै किन नहोस् जुनसुकै रोगले पनि गरिबलाई नै आक्रमणको पहिलो शिकार बनाउने गर्दछ । अमेरिकामा पनि कालाहरू गरिब बढी भएकाले यस्तो भएको हो । कानुनी रूपमा अमेरिकामा जातीय विभेद छैन तथापि गोराहरूको बहुल रहेकाले व्यावहारिक रूपमा कालाहरूमाथि समानताको व्यवहार गरिँदैन । सामान्यतया अमेरिकामा चारजनाको एउटा परिवारका लागि सामान्य आम्दानी गर्ने परिवारले प्रतिमहिना तीन सयदेखि चार सय डलर स्वास्थ्य बिमाका लागि तिर्नुपर्ने हुन्छ । यति महँगो बिमा तिर्न मानिसहरू हत्तपत्त तयार हुन्नन् । पैसा हुने र कमाउने वर्गले त जसोतसो यसको व्यवस्थापन गर्छन् तर गरिबहरू भने यति मोटो रकम तिर्न नसकेर अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा नियमित स्वास्थ्य जाँचका लागि जान सक्दैनन् र आफूभित्रै रोग पालेर बस्न बाध्य हुन्छन् । कोभिडको सङ्क्रमण अगावै मधुमेह, मोटोपन, श्वासप्रश्वास, हृदयरोग, चिन्ता र भय जस्ता रोग लागेका ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोरोना भाइरसले आक्रमण गरेको खण्डमा उनीहरूको रोगप्रतिरोधात्मक क्षमतामा कमी आउने र मृत्यु हुने गरेको पाइएको छ । उनीहरूको बाल मृत्युदर पनि बढी रहेको छ । काला जातिहरू प्रायः सहरी इलाकामा सगोलमा बसोबास गर्ने र सहरी क्षेत्रमा भाइरसको सङ्क्रमण ज्यादा चाँडो सल्कने हुँदा पनि यसो भएको अनुसन्धानहरूले बताएका छन् । अमेरिकाबाट प्रकाशित हुने पत्रपत्रिकाहरूले पनि यो विषयलाई महत्त्वका साथ उठाएका छन् । तर केही जातीय सङ्गठनका प्रमुखहरूले भने कालाहरूमाथि सदियौँदेखि भएको थिचोमिचोको यो प्रमाण हो भनेर वकालत गरेका छन् ।

अपवादबाहेक काला जातिहरू गोराभन्दा गरिब हुनु, राज्यले उनीहरूप्रति फरक व्यवहार गर्नु, यस्तो महाव्याधीको समयमा पनि बाध्य भएर काम गर्न जानु, घरबाटै काम गर्ने खालको कार्यालयमा उनीहरूको सेवा कम हुनु, (पिउ नामक संस्थाले गरेको सर्वेक्षणमा २० प्रतिशत काला जातिका मानिसहरू मात्रै यस्तो परिस्थितिमा घरबाटै काम गर्न सक्षम बताएको छ) स्वास्थ्य संस्था तथा अन्य जनसम्पर्क हुने खालका नितान्त निम्नस्तरको काम गर्न बाध्य हुनु, निजी कार नभएका कारण सार्वजनिक यातायातको साधन बढी प्रयोग गर्नु, दिनदिनै कमाएर खर्च गर्नुपर्ने बाध्यता हुनु र बारम्बार ग्रोसरी स्टोर जाँदा धेरै मानिससँग सम्पर्क र सम्बन्ध हुनु र समाचारहरूमा उनीहरूको पहुँच कम हुनु जस्ता कारणले काला जातिहरू यो रोगको बढी मारमा परेको देखिन्छ ।

बोस्टन, अमेरिका । 

Title Photo: https://www.usnews.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.