शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एन्फा अध्यक्षको विवादास्पद अभिव्यक्ति– तराईतिर राष्ट्रियताको भावना कम छ

बुधबार, १४ जेठ २०७७, १२ : १४
बुधबार, १४ जेठ २०७७

चर्चा र विवादमा आइरहने अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले मधेसी समुदायमाथि विवादास्पद टिप्पणी गरेका छन् । 

एक भिडियो अन्तर्वार्तामा शेर्पाले तराई मधेसका जनतामा राष्ट्रियताको भावना कम भएकाले उनीहरुलाई राष्ट्रियता सिकाउन  जरुरी रहेको बताएका छन् । 

‘हामीले नेपाल आर्मीसँगको सहकार्यमा तराईका चार जिल्ला सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा ग्रासहुट फुटबल सुरु गरेका छौं । किनभन्दा त्यहाँ दुईवटा कारण छन् । एउटा, तराईको बच्चाहरुलाई फुटबलप्रति आकर्षण गर्नका लागि, अर्को कुरा राष्ट्रियता सिकाउनका लागि किनभने तराईतिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम छ,’ उनले अन्तर्वार्तामा भनेका छन् । 

उनले कसरी राष्ट्रिय सिकाउने भनेर पनि अर्ति दिन भ्याएका छन् । ‘आर्मीको ब्यारेक आउँदा कम्तिमा राष्ट्रिय गीत गाउने, नेपालको विषयमा चर्चा हुने र फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले पनि हामीले काम गरेका छौं,’ उनले भनेका छन् । उनले ग्रासहुट कार्यक्रम सफलताको शिखरमा पुगेको दाबी समेत गरेका छन् । 
शेर्पाले दिएको अभिव्यक्ति एन्फा विधान विपरित समेत रहेको पाइएको छ । 

एएफसीबाट स्वीकृत एन्फा विधानको धारा ३ मा तटस्थ एन्फामा आवद्धहरु सबै किसिमका विषयमा भेदभावरहित रहने स्पष्ट उल्लेख छ । यस विधानअनुसार रंगभेदी काम गर्नेलाई निलम्बन, निस्कासन वा अनुशासनात्मक कारबाही हुने समेत उल्लेख छ ।

जहाँ पहिलो बुँदामा भनिएको छ – एन्फा सबै प्रकारका राजनीतिक तथा धार्मिक विषयवस्तुमा तटस्थ रहनेछ । 
दोस्रो बुँदामा भनिएको छ– कुनै व्यक्ति, देश, समूह वा जात, रंगभेद, जाति, राष्ट्रियता वा सामाजिक उत्पत्ति, लिङ्ग, अशक्तता, भाषा, धर्म, राजनीतिक वा अन्य कुनै विचार, धन, जन्म वा अन्य कुनै प्रकारको मर्यादा, यौनिक अभिमुखीकरण अथवा अन्य कुनै कारणहरुको आधारमा कुनै पनि प्रकारको भेदभावभालाई निषेध गरिएको छ र यस्तो कार्य दण्डनीय छ । यस्ता भेदभावका कार्य गरेमा निलम्बन, निस्कासन वा अनुशासनात्मक कारबाही गरिने छ ।’  
उनको यो अभिव्यक्तिलाई लिएर एन्फाभित्र असन्तुष्टि बढेको कार्यसमितिका एक सदस्यले बताए ।

लकडाउनले फुटबल गतिविधि ठप्प भएका बेला सस्तो चर्चा कमाउनका लागि  लागि कर्मा छिरिङले यस्तो टिप्पणी गर्नु स्वीकार्य नभएको उनको भनाइ छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप