मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रेमिट्यान्स घट्यो, बेरोजगारीसँगै गरिबी बढ्ने प्रक्षेपण

बुधबार, १४ जेठ २०७७, ०७ : ३१
बुधबार, १४ जेठ २०७७

वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण आयले गरिबी र बेरोजगारी न्यूनीकरण हुँदै गए पनि विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड १९ को प्रभावले विप्रेषणमा असर पर्ने देखिएको छ । सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले मङ्गलबार सार्वजनिक गर्नुभएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनमा यस्तो देखाएइको छ । सार्वजनिक प्रतिवेदनले चालू आर्थिक वर्षका पछिल्ला महिनाहरूमा भने कोभिड १९ को प्रकोपका कारण बेरोजगारीसँगै गरिबी बढ्ने प्रक्षेपण गरेको छ ।

प्रतिवेदनअनुसार गएको फागुनसम्म वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ५० लाख ४१ हजार रहेको छ । तिनीहरूले पठाएको विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ । यसले गर्दा देशको गरिबी घटाउन महत्त्वपूर्ण भूमिका खेलेको अनुमान गर्न सकिन्छ । नेपाल कुल गार्हस्थ्य उत्पादनको अनुपातमा उच्च विप्रेष्ण भित्राउने मुलुकको सूचीमा रहेको र विगत १० वर्षको औसत विप्रेषण आप्रवाह कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत रहेको छ ।

प्रतिवेदनमा वैदेशिक रोजगारीले विप्रेषणका साथै सामाजिक तथा मानवीय पुँजीका रूपमा ज्ञान, सीप र अनुभव हासिल भई उद्यमशीलता हासिल हुने उल्लेख गरिएको छ । साथै प्रतिवेदनले पछिल्ला दुई वर्षयता मुलुकभित्र आर्थिक क्रियाकलाप वृद्धिमा रोजगारीको अवसर सिर्जना हुँदै गएको र श्रम गन्तव्य मुलुकबाट श्रमिकको माग कम हुँदै गएकाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको जनाएको छ । प्रतिवेदनमा श्रम क्षेत्रमा भएका उपलब्धिमध्ये रोजगारसम्बन्धी एकीकृत तथ्याङ्क व्यवस्थित र अद्यावधिक राख्न ७५३ तहमा रोजगार व्यवस्थापन सूचना प्रणाली अद्यावधिक गरी सञ्चालनमा आएको उल्लेख गरिएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप