शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने, लगानी ३.४ प्रतिशतले घट्ने

बुधबार, १४ जेठ २०७७, ०७ : ००
बुधबार, १४ जेठ २०७७

चालू आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म सन्तोषप्रद रहेको नेपाली अर्थतन्त्रका अधिकांश सूचक त्यसयता खुम्चिँदै गएको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ ।

मङ्गलबार अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको चालू आवको आर्थिक सर्वेक्षणले कोरोना सङ्क्रमणका कारण नेपालको अर्थतन्त्रमा चाप परेको देखाएको हो । कोरोनाका कारण सिर्जित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिका कारण आर्थिक गतिविधि शिथिल हुँदै जाँदा पर्यटन, उद्योग, निर्माण, व्यापार लगायतका क्षेत्र बढी प्रभावित भई आर्थिक विकास र स्थायित्वका परिसूचकमा चाप पर्दै गएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरका कारण आर्थिक वृद्धिदर पनि निकै खुम्चिने प्रक्षेपण सर्वेक्षणले गरेको छ । प्रारम्भिक अनुमानअनुसार नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहनेछ; जबकि सरकारले चालू आवको बजेटमा ८.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो । आर्थिक सर्वेक्षणअनुसार वार्षिक प्रतिव्यक्ति आय ७.५ प्रतिशतले बढेर एक लाख २६ हजार रुपियाँ पुग्ने अनुमान छ ।

त्यस्तै कुल गार्हस्थ्य उत्पादनको ८१.९ प्रतिशत कुल उपभोग र बचत १८.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । महामारीले कुल लगानीमा प्रत्यक्ष असर पार्ने अनुमान पनि आर्थिक सर्वेक्षणले गरेको छ । सार्वजनिक एवं निजी क्षेत्रको खर्चमा आएको सङ्कुचनका कारण चालू आवमा कुल लगानी ३.४ प्रतिशतले घटेर १८ खर्ब ८९ अर्ब २६ करोड हुने अनुमान छ । यद्यपि निरपेक्ष गरिबी अघिल्लो आवको १८.७ प्रतिशतले घटेर चालू आवमा १६.६७ प्रतिशत मात्र रहने प्रक्षेपण पनि गरिएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप