शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट धमाधम नेपाली भित्रिँदै, व्यवस्थापनमा चुनौती

मङ्गलबार, १३ जेठ २०७७, १७ : ०८
मङ्गलबार, १३ जेठ २०७७

कैलाली । मजदूरीका लागि भारत गएका नेपालीहरु लकडाउनका बाबजुद सुदूरपश्चिम प्रदेशको त्रिनगर भन्सार नाकाबाट आउने क्रम नरोकिएपछि व्यवस्थापनमा चुनौती थपिएको छ । उनीहरुका लागि तत्काल प्रारम्भिक स्वास्थ्य चेकजाँच, खानपिन र सुरक्षित रुपमा घरसम्म पु¥याउन चुनौती देखिएको हो । यसरी आउनेलाई सम्बन्धित स्थानीय तहमा निर्मित क्वारेन्टाइनमा १४ दिनसम्म राख्ने व्यवस्था भए पनि ठूलो संख्यामा एकसाथ नेपालीहरु भारतबाट आएका कारण स्थानीय तहसम्म पुग्नु अघि आवश्यक व्यवस्थापनमा चुनौती देखिएको हो ।

भारतबाट आउनेहरुलाई सम्बन्धित स्थानीय तहको समन्वयमा पठाउने गरिएको भए पनि तत्काल यातायात, खान–बस्न र स्वास्थ्य जाँचको समस्या देखिएको हो । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकलाई गन्तव्यसम्म पठाउन चुनौती थएिको बताए । अहिले सरकारको समन्वयमा उनीहरुका लागि खाना र स्वास्थ्य परीक्षणको व्यवस्था नाकामै गरेको उनको भनाइ छ ।

१०१ डिग्रीभन्दा माथि ज्वरो आएका व्यक्तिलाई आईसोलेसनमा राखेर चेकजाँच गर्ने गरिएको उनले बताए । संक्रमणको लक्षण नदेखिएकालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाई १४ दिनसम्म क्वारेन्टाइनमा बसाउने गरी पठाउने गरिएको उनले जानकारी दिए ।

कञ्चनपुरको गड्डा चौकी नाका र कैलालीको भन्सार नाकावाट सोमबार र मंगलबार बिहानसम्ममा १८ हजार नेपाली नागरिक प्रवेश गरेको उनको भनाइ छ ।  त्रिनगर भन्सार नाकाबाट मात्रै अझै ३० हजार नेपाली भित्रिने उनले बताए । ‘यसरी भारतबाट धमाधम नेपालीहरु आउन थालेपछि त व्यवस्थापनमा चुनौती आइहाल्छ नै,’ उनले भने, ‘तर पनि सरकार समस्या समाधानमा निडर भएर लागिरहेको छ ।’

मंगलबार बिहानसम्ममा नेपाली नागरिक त्रिनगर भन्सार नाकाबाट आउने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए । भारतबाट आउने नेपालीको व्यवस्थापनमा स्थानीय निकाय, प्रदेश सरकार, उद्योग वाणिज्य संघ लगायत सबैको सहयोग भए पनि व्यवस्थापनमा जटिलता उत्पन्न भईरहेको उनले वताए । 

कोभिड १९ का शंकास्पद २० जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा ८, टीकापुरमा ३, जिल्ला अस्पताल डोटीमा २, बैतडीमा ४, अछाम बयलपाटामा २, डडेल्धुरामा १ गरी २० जनालाई आईसोलेसनमा राखी उपचार भईरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । आइसोलेसनमा रहेका सबै भारतबाट आएका व्यक्ति नै रहेको उनले जनाए । तस्बिर: गगन एडीको फेसबुकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप