शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नुवाकोटको वामपन्थी आन्दोलनका धरोहर अर्जुन भण्डारी रहेनन्

मङ्गलबार, १३ जेठ २०७७, १२ : १६
मङ्गलबार, १३ जेठ २०७७

नुवाकोटको वामपन्थी आन्दोलनका धरोहर अर्जुन भण्डारीको निधन भएको छ । 

लामो समयदेखि नसासम्बन्धी रोगले ग्रस्त उनको नुवाकोटको तुप्चेस्थित घरमा सोमबार राति निधन भएको उनका भतिजा नवराज भण्डारीले रातोपाटीलाई जानकारी दिए । 

पछिल्लो १० दिन काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका उनको स्वास्थ्यमा सुधार नहुने देखिएपछि उनकै चाहनामा एम्बुलेन्समार्फत सोमबार  तुप्चे लगिएको थियो । घर पुर्‍यालगत्तै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।  
नुवाकोट र रसुवामा कम्युनिस्टको प्रभाव बढ्दै जानुमा उनको योगदान अतुलनीय रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । नुवाकोट र रसुवामा उनको प्रेरणा र पदचाप पछ्याउँदै कम्युनिस्ट आन्दोलनमा लाग्नेहरु धेरै रहेका सो भेगको वाम आन्दोलनबारे जानकार तथा नुवाकोटको तारुका श्रीकृष्ण क्याम्पसका क्याम्पस प्रमुख भरत सिग्देलले बताए । 

‘निरङ्कुश राजतन्त्रका विरुद्ध नयाँ जनवादको सपना देखाउँदै वर्तमान गणतन्त्रात्मक सत्ताका अनगिन्ती द्वारपालहरू उत्पादन गर्ने रातो आरनका निपूर्ण कालिगड अर्जुन भण्डारी सरप्रति भावपूर्ण शब्द श्रद्धासुमन’, उनको निधनप्रति दुःख व्यक्त गर्दै सिग्देलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैले पनि जीवनको उत्तरार्द्धमा रस चुसिएको उखु झैं सडकमा मिल्काइने खोइला बन्नु नपरोस् भन्ने कामना ।’ पछिल्लो समय राजनीतिमा सक्रिय नरहेका भण्डारीलाई सबैले बिर्सिएको सिग्देलको आशय छ । 
 नुवाकोट र रसुवाका कतिपय अहिलेका चिनिएका कम्युनिस्ट अनुहारहरु उनैबाट प्रशिक्षित कार्यकर्ता भएको सिग्देलको भनाइ छ ।

तत्कालीन माओवादीका लोकप्रिय नेता पोष्ट बहादुर बोगटीका समकक्षी समेत रहेका उनी शिक्षण पेसा हुँदै राजनीतिमा सक्रिय रहेका थिए । 

यस्तै नेकपा चौथा महाधिवेशनको रसुवा नुवाकोट सेक्रेटरी हुँदा उनले संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए । 

२०४२ सालको बम काण्डमा पक्राउ परेका उनी जेलमा चरम यातनाको शिकार भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप