केन्द्रीय संस्करण
कारोनाभाइरस

पीसीआर परीक्षण छाडेर सरकारले किन किनिरहेछ एन्टीबडी जाँच्ने र्‍यापिड टेस्ट कीट ?

person explore access_timeजेठ १३, २०७७ chat_bubble_outline0

स्वास्थ्य सेवा विभागले गत शुक्रबार अर्थात् जेठ ९ गते एक लाख २१ हजार थान र्‍यापिड डायग्नोष्टिक कीट किन्नका लागि नयाँ सम्झौता गर्‍यो । बिट्स म्यानेज्मेन्ट नामक कम्पनीसँग गरिएको सम्झौता अनुसार सम्झौता भएको मितिले ढिलोमा पनि १४ दिन भित्र कीट उपलब्ध गराइसक्नेछ ।

सरकारले कम्तिमा ३ लाख जनाको कोरोना संक्रमणको अवस्थाबारे थाहा पाउनका लागि र्‍यापिड टेस्ट गर्ने निर्णय लिएको थियो । केही समयअघि स्वास्थ्य मन्त्रालयमा भएको स्वास्थ्य क्षेत्रका विज्ञ समूह, उच्चस्तरीय समिति र स्वास्थ्यमन्त्री तथा मन्त्रालयका कर्मचारी सम्मिलित बैठकले कम्तिमा ३ लाख जनाको र्‍यापिड टेस्ट र २ लाख जनाको पीसीआर टेस्ट गराउने निर्णय भएको थियो । त्यही निर्णयअनुसार बाँकी १ लाख २१ हजार थान र्‍यापिड टेस्ट कीट किन्न स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाले गत शुक्रबार यस्तो सम्झौता गरेको हो ।

यसअघि नै विभागले एकपटक १ लाख थान कीट किनेर ल्याइसकेको छ भने विभिन्न देशले दिएका कीटहरूसमेत गरी सरकारले यसअगाडि नै १ लाख ७९ हजार थान र्‍यापिड डाइग्नोस्टिक कीट ल्याएर परीक्षण गरिरहेको थियो । र, बाँकी एक लाख २१ हजार थान र्‍यापिड टेस्ट कीट किन्न विभागले बिट्स म्यानेज्मेन्टलाई टेण्डर दिएर सम्झौता समेत गरिसकेको छ ।

सरकारले चिनियाँ मेडिकल उपकरण उत्पादक कम्पनी बेइजिङ लिपु मेडिकल टेक्नोलोजीले उत्पादन गरेको कोरोनाको एन्टीबडी जाँच गर्ने र्‍यापिड डायग्नोस्टिक टेस्ट कीट अर्थात् आरडीटी कीट खरिद गर्न लागेको छ । बिट्स म्यानेज्मेन्टले ५ सय ६५ रुपैयाँ प्रति गोटाका दरले आरडीटी कीट नेपाल सरकारलाई उपलब्ध गराउनेछ ।

बेइजिङ लिपुको टेस्ट कीट गुणस्तरीय रहेको दाबी

स्वास्थ्य सेवा विभागले अहिले ल्याउने भनेर सम्झौता गरिएको एन्टीबडी कीट अर्थात् र्‍यापिड कीट गुणस्तरीय रहेको र युरोपियन स्ट्याण्डर्डको रहेको विभागको दाबी छ । विभागका आपूर्ति महाशाखा प्रमुख भोगेन्द्रराज डोटेलका अनुसार बेइजिङ लिपु मेडिकल टेक्नोलोजीले उत्पादन गर्ने र्‍यापिड टेस्ट कीटले आइजीजी र आइजीएम दुवै टेस्ट गर्ने र यो युरोपियन स्ट्याण्डर्ड अर्थात् सिई सर्टिफाइड कीट हो । यो कम्पनीले उत्पादन गरेको कीटले युरोपमा मान्यता पाइसकेको र यसले राम्रो नतिजा दिइरहेको डोटेलले बताएका छन् ।

सस्तो मूल्यमा कीट खरिदको सम्झौता

बेइजिङ लिपु मेडिकल टेक्नोलोजीले उत्पादन गरेको एन्टीबडी मापन गर्ने र्‍यापिड टेष्टको मूल्य अहिले सस्तिएर आएको छ । यसअघि ओम्नी ग्रुपसँग विभागले खरिद सम्झौता गर्दा प्रतिथान ८ डलर अर्थात् ९ सय ६० रुपैयाँभन्दा बढी रकममा खरिद सम्झौता गरेको थियो । यद्यपि अघिल्लोपटक बिट्स म्यानेज्मेण्टसँगै खरिद गर्दा भने ५ सय ६५ रूपैयाँमै खरिद गरिएको थियो । यद्यपि चिनमा भने यस किटको खरिद मूल्य करिब ३ सय ५० रुपैयाँ पर्ने स्रोतको दाबी छ । ओम्नी ग्रुपले ल्याएकोभन्दा यो कीट गुणस्तरीयसमेत भएको विभागले जनाएको छ ।

के हो र्‍यापिड टेस्ट कीट ? यसले कसरी काम गर्छ ?

आरडीटी अर्थात् र्‍यापिड टेस्ट कीट कोरोना रोगको परीक्षणका लागि सबैभन्दा छरितो मानिन्छ । यसले परीक्षण गरिएका मानिसको शरीरमा कोरोनाको संक्रमण भएको थियो कि थिएन देखाउँछ । यद्यपि, धेरै जनस्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको संक्रमण पहिचान गर्न यसको प्रभावकारिताबारे प्रश्न उठाएका छन् ।

अहिले कोरोना भाइरस अर्थात् कोभिड–१९ को माहामारीको अवस्था छ । यस्तो अवस्थामा कतिपय मानिसको शरीरमा कोरोना भाइरसको संक्रमण भएको भए पनि त्यसको लक्षण नदेखिन पनि सक्छ । तीमध्ये कतिपयमा लक्षण नै नदेखाइ कोरोनाको संक्रमण निको भइसकेको पनि हुन सक्छ भने कतिपयले चाहिँ लक्षण नै नदेखाइ नै भित्रभित्रै रोग सल्काइरहेको पनि हुन सक्छ । यो अवस्थामा कोरोना संक्रमण पत्ता लगाउने सजिलो उपाय भनेको र्‍यापिड टेस्ट नै हो ।

जब मानिसको शरीरमा भाइरस अर्थात् कीटाणु पस्छ, त्यसका विरुद्ध हाम्रो शरीरले प्राकृतिक रुपमा नै लड्न थाल्छ । त्यसरी लड्ने क्रममा हाम्रो शरीरको प्रतिरक्षा प्रणाली अर्थात् इम्युन सिस्टमले एन्टिबडी नामक प्रोटिनको निर्माण गर्छ । त्यस एन्टिबडीले शरीरमा पसेको कीटाणुलाई निष्क्रिय पार्ने वा ध्वस्त पार्ने काम गरिदिन्छ । यो क्रममा हामीलाई ज्वरो आउने तथा अन्य लक्षणहरु देखापर्न सक्छ । त्यो भनेको कीटाणुको विरुद्ध हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले लडेको कुराको संकेत पनि हो ।

शरीरमा पसेको कीटाणुका विरुद्ध निर्माण भएको एन्टीबडीले पछि पछि त्यही कीटाणु शरीरमा पस्यो भने हामीलाई पहिले जस्तो बिरामी बनाउन सक्दैन । हामीले अत्तो पत्तो नपाइ नै शरीरमा विद्यमान त्यस कीटाणु विरुद्धको एन्टीबडीले लडेर हामीलाई जोगाइरहेको हुन्छ ।

शरीरमा भएको भाइरस वा भाइरसको मात्रालाई एन्टीजिन भनिन्छ । शरीरमा भाइरस पसिसकेपछि करिब एक सातापछि पहिलो चरणको एन्टीबडी अर्थात् आइजीएम अर्थात् इम्युनोग्लोबुलिन एम बनाउन थाल्छ । तर यो आइजीएम करिब एक सातापछि हराएर जान्छ । मतलब भाइरससंक्रमण भएको ७ दिनपछि आइजीएम बन्न थाल्छ र त्यसको एक साता अर्थात् १४ दिनपछि आइजीएम हराएर जान थाल्छ ।

शरीरमा भाइरस प्रवेश गरी लक्षण देखिन थालेको २१ दिनसम्म पनि भाइरस बन्ने क्रम रहिरहन सक्छ । तर शरीरमा भाइरस प्रवेश गरेको १४ दिनपछि भने शरीरले रोग प्रतिरोध गर्ने एन्टीबडीको उत्पादन सुरु गरिसकेको हुन्छ, जसलाई आइजीजी भनिन्छ । आइजीजी अर्थात् इम्युनोग्लोबुलिन जी भनेको रोगसँग लड्न शरीरभित्रैको प्रतिरक्षा प्रणालीले निर्माण गरेको प्रोटिन नै हो, जसले भाइरस अर्थात् नकारात्मक प्रोटिनलाई नष्ट गर्न सहयोग पुराउँछ ।

अहिले विश्वभरी नै प्रयोगमा आइरहेको र्‍यापिड टेस्ट कीट अर्थात् आरडीटीले देखाउने भनेको यही नै हो । शरीरमा एन्टीजिन वा एन्टीबडीको अवस्था के छ भनेर यो कीटले देखाउनेछ । त्यसपछि त्यसको थप पुष्टिका लागि पीसीआर ल्याबमा लगेर टेस्ट गर्नुपर्ने हुन्छ ।

र्‍यापिड टेस्ट कीटमा कोरोना परीक्षण गर्दा औँलाबाट थोरै रगत निकालेर कीटमा राखेर परीक्षण गरिन्छ । यसरी परीक्षण गर्दा उक्त व्यक्तिमा कोरोनाको संक्रमण भइसकेको वा लक्षण देखिन थालिसकेको भए त्यसले उसको शरीरमा विद्यमान कोरोनाविरुद्धको एन्टीबडीको आधारमा पोजिटिभ देखाउनेछ ।

तर यदि कुनै व्यक्तिलाई भर्खरै मात्र कोरोना भाइरसको संक्रमण भएको छ भने यो कीटले काम नगर्न पनि सक्छ अर्थात् मानिसमा कोरोनाको संक्रमण चाहिँ शुरु भएको छ तर रिपोर्ट चाहिँ नेगेटिभ आउन पनि सक्छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार र्‍यापिड टेस्ट कीटबाट परीक्षण गर्दा पहिलो चरण अर्थात् सुरुको एक सातासम्मका बिरामीलाई संक्रमण भएको वा नभएको देखिँदैन । उनको भनाइमा कीटाणुले शरीरमा प्रवेश गर्ने बित्तिकै शरीरले त्यसका विरुद्ध एन्टीबडी बनाइसकेको नहुनाले त्यस्तो स्थिति आउन पनि सक्नेछ । फेरि र्‍यापिड टेस्ट कीटले परीक्षण गर्ने भनेको शरीरमा भाइरसको उपस्थिति छ कि छैन भन्ने नभई एन्टीबडी जाँच मात्रै गर्ने हो ।

महानिर्देशक श्रेष्ठका अनुसार ‘शरीरमा कोभिड भाइरसको प्रवेश भएको पहिलो दिन देखि नै त्यसको संख्यामा अत्यधिक बृद्धि हुन थाल्छ । शरीरमा भाइरस पसेको दुई सातामा त्यो अधिकतम विन्दुमा पुग्छ र त्यो अवस्थामा मात्रै संक्रमित व्यक्तिमा रोगका लक्षणहरु देखाउन थाल्छन् । त्यो कुरा र्‍यापिड टेस्टबाट पत्ता नलाग्न पनि सक्छ र त्यसका लागि पीसीआर टेस्ट गर्नुपर्छ । पीसीआरले शरीरमा रहेको एन्टीजिन अर्थात् भाइरसका मलिक्युलहरु पत्ता लगाउँछ । अर्थात् शरीरमा भाइरस छ कि छैन भनेर पत्ता लगाउने भरपर्दो विधि भनेको चाहिँ पीसीआर नै हो ।’

विज्ञ भन्छन्, पीसीआरमा जाऊ, तर सरकार र्‍यापिड किन्नमै ब्यस्त

विज्ञहरुले कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउनका लागि पीसीआर विधिमै जान दबाव दिइरहेको छ । र्‍यापिड टेस्टको गुणस्तर र विश्वसनियतामाथि प्रश्न उठाउँदै पीसीआर विधिबाटै कोरोना परीक्षण गर्न दबाव दिएपनि नेपाल सरकारले भने थप एक लाख २१ हजार थान आरडीटी कीट खरिद गर्न सम्झौता गरिसकेको छ ।

यसअघि नै ओम्नी समूहसँग ७५ हजार थान र अर्को कम्पनीसँग एक लाख थान आरडीटी कीट खरिद गरिसकेको थियो । अब थप १ लाख २१ हजार थान अर्थात् करिब ७ करोड मुल्य बराबरको र्‍यापिड टेस्ट कीट किन्न लागिएको छ ।

र्‍यापिड टेस्ट कीटको गुणस्तर तथा विश्वसनीयताका शंका रहेको र विश्व स्वास्थ्य संगठनले नै पीसीआर विधिमा जान सुझाव दिइसकेको अवस्थामा सरकारले किन पटकपटक र्‍यापिड टेस्ट कीट किन्दैछ भन्ने सवाल खडा गरिदिएको छ ।

कतिपयले यसलाई कमिसन खाने मेलो भनेर आरोप लगाइरहेका छन् भने कतिपयले जनतालाई भुल्याउने सरकारी रणनीति भनेका छन् । यद्यपि पीसीआर भन्दा धेरै सस्तो पर्ने भएकाले सरकारको ध्यान भने आरडीटी टेस्टमै बढी केन्द्रीत रहेको देखिन्छ ।

पीसीआर परीक्षण प्रतिव्यक्ति करिब १० हजार !

कोरोना भाइरस संक्रमणको अवस्था छ कि छैन वा निको भइसक्यो भनेर जाँच गर्नका लागि अपनाइने रियल टाइम मेसिन अर्थात् पीसीआर मेसिन खरिद तथा स्थापनाका लागि कम्तिमा पनि २ करोड रुपैयाँ खर्च हुन्छ । त्यहाँ लाग्ने जनशक्ति र टेस्ट कीटका लागि पनि प्रतिव्यक्ति प्रतिपटक ८ देखि १० हजार रुपैयाँ खर्च हुने स्वास्थ्य मन्त्रालयका अधिकारीको भनाइ छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार पीसीआरका रिएजेन्ट कीटको मात्र ५ हजार रुपैयाँ पर्दछ । त्यस्तै, पीपीई लगायत अन्य खर्च जोड्दा कूल लागत झण्डै दश हजार पुग्छ । यता, आरडीटी टेस्ट गराउँदा प्रतिव्यक्ति करिब ७ सय रूपैयाँमै काम हुन्छ । खर्च जोगाउन र जनतालाई भुल्याउन पनि सरकारको ध्यान पीसीआरभन्दा आरडीटीमै बढी केन्द्रीत भएको बुझ्न सकिन्छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको दाबी गरेअनुसार कै शुल्कलाई हेर्ने हो भने सरकारले सबै जनताको आरडीटी टेस्ट गराउन सक्छ । तर कुल जनसङ्ख्याको १० प्रतिशत अर्थात् २९ लाख नागरिकको पीसीआर टेस्ट गराउने हो भने पनि राज्यले २९ अर्ब खर्च गर्नुपर्ने हुन्छ । तर नेपाल जस्तो सानो र गरीब देशका लागि त्यो रकम सम्भव छ कि छैन भन्ने बहस पनि आउन सक्ला । यद्यपि रोग संक्रमणको अवस्था र रोकथामका लागि अघि बढ्न भने सरकारले पीसीआर विधिमै जोड दिनुपर्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.