बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विरोधः ट्रम्पलाई सोधियो, ‘एक लाखको मृत्यु भएको छ, तपाईंलाई चिन्ता छ ?’ ब्राजिलमा जनताले राष्ट्रपतिलाई भने हत्यारा

मङ्गलबार, १३ जेठ २०७७, ०७ : ५५
मङ्गलबार, १३ जेठ २०७७

अमेरिका, ब्राजिल र बेलायत कोरोनाभाइरसद्वारा सर्वाधिक प्रभावित ५ देशको सूचीमा समावेश छन् । बढ्दो संक्रमण र लगातारको मृत्युका कारण तीन देशका जनता रुष्ट छन् । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारो र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध जनता सडकमा उत्रिएका छन् ।

उनीहरु सोसल मिडियामार्फत् आफ्नो असन्तुष्टि प्रकट गरिरहेका छन् । कतै लकडाउन र सामाजिक दुरीको कडा पालना नगरिएकोमा मानिसहरु रिसाएका छन् भने कतै देशको कमजोर स्वास्थ्य सेवामाथि उनीहरुको असन्तुष्टि छ ।

अमेरिकाः ट्रम्प गल्फ खोलिरहेका छन्, मानिसहरुले भने, ‘अमेरिकामा १ लाखको मृत्यु भएको छ, तपाईंलाई चिन्ता छ ?’

अमेरिकी राष्ट्रपतिले लगातार दुई दिन गल्फ खेले । उनको यस्तो कदममा मानिसहरुले विरोध गरिरहेका छन् । गल्फ क्लब बाहिर केही मानिसहरु पम्प्लेट लिएर उभिएका थिए । यसमा लेखिएको थियो, ‘१ लाख मारिएका छन् । हामीलाई चिन्ता छ । के तपाईंलाई चिन्ता छ ?’

यसबारे ट्रम्पले मिडियासँग भने, ‘हो, मलाई चिन्ता छ तसर्थ मैले कोरोनाका कारण मारिएका व्यक्तिहरुको यादमा मेमोरियल डे विकेन्डमा ह्वाइट हाउसको झण्डा आधा झुकाउने आदेश दिएको थिएँ । हामीलाई विपक्षी नेताले बदनाम गर्ने कोसिस गरिरहेका छन् । हाम्रो राम्रो कामलाई कसैले पनि याद गरिरहेका छैनन् ।’

यसअघि ट्रम्पले ट्वीटमा भने, ‘अमेरिकामा कोरोनाका नयाँ संक्रमितको संख्या कम भएको छ । मृत्युदर पनि कम नै भइरहेको छ ।’

ब्राजिलः पार्टीबाट फर्किएका बोलसोनारोलाई घेरियो, जनताले भने, ‘राष्ट्रपति हत्यारा हुन्’

ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारो खानपिनको एक पार्टीका लागि राजधानी ब्रासिलियाबाट बाहिर गएका थिए । जब उनी फर्किए तब रिसाएका जनताले उनलाई घेरे । मानिसहरुले उनलाई भने, ‘राष्ट्रपति हत्यारा हुन् ।’

बोलसोनारोलाई सुरक्षाकर्मीले सुरक्षित निकाले । बोलसोनारोमाथि जनता यसकारण पनि रिसाएका छन् किनभने उनले कोरोनालाई साधारण फ्लू बताएका छन् ।

एकपटक त उनले ‘कोरोना एउटा कल्पना मात्रै भएकोले यसको चिन्ता गर्न नहुने’ बताएका थिए । उनले कडा लकडाउनको समर्थन पनि गरेका छैनन् । लकडाउनविरुद्ध सडकमा उत्रिने मानिसहरुको समर्थनमा उनी उभिने गर्छन् ।

ब्राजिल कोरोनाद्वारा संक्रमित संसारको दोस्रो सर्वाधिक प्रभावित देश हो ।

लकडाउन तोडेका सहयोगीलाई बचाए, चर्चको निशानामा जोनसन

बेलायतमा लकडाउन तोडेका शीर्ष सहयोगीलाई बचाएको भन्दै प्रधानमन्त्री बोरिस जोनसन निशानामा परेका छन् । जोनसनका मुख्य सल्लाहकार डोमिनिक कमिंग्स कोरोनाको लक्षण देखिँदासमेत श्रीमतीसँगै आमा–बुवालाई भेट्न ४२० किलोमिटर टाढा डरहम गएका थिए, त्यतिबेला जनतालाई घरमा नै बस्न आदेश दिइएको थियो । कतिले पुलिससमक्ष यसको उजुरीसमेत दिए ।

तत्पश्चात् बेलायतमा डोमिनिकको राजीनामाको माग गर्दै प्रदर्शन भइरहेको छ । चर्चका थुप्रै पादरीले पनि जोनसनको आलोचना गरेका छन् ।

मानिसहरुले बेलायतमा सर्वसाधारण र प्रधानमन्त्रीका नजिकका व्यक्तिका लागि भिन्न–भिन्न नियम भएको भन्दै आलोचना गरिरहेका छन् । डोमिनिकले नियम नतोडेको भन्दै आफूले उनलाई नहटाउने प्रधानमन्त्रीले स्पष्टिकरण दिइसकेका छन् ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप