बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले लिएको पहलकदमी गौरवपूर्ण र ऐतिहासिक: मुख्यमन्त्री पौडेल

सोमबार, १२ जेठ २०७७, १८ : ४७
सोमबार, १२ जेठ २०७७

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अतिक्रमित भूभाग समेटेर नक्सा सार्वजनिक गर्ने कार्य तथा अतिक्रमित भूमि फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको पहलकदमी गौरवपूर्ण र ऐतिहासिक भएको उल्लेख गरेका छन् । आज वाग्मती प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन (छैटौँ अधिवेशन) लाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यस कार्यका लागि नेपाल सरकारप्रति आभार एवं धन्यवाद व्यक्त बताए ।

मुख्यमन्त्री पौडेलले सत्तारुढ, प्रतिपक्षी तथा अन्य राजनीतिक दलहरुको तर्फबाट राष्ट्रियताको सन्दर्भमा प्रकट भएको अद्वितीय एकता तथा नागरिकस्तरबाट प्राप्त समर्थनले नयाँ आशा एवं विश्वास सिर्जना भएको उल्लेख गरे । उनले कसैको उपनिवेश नबनेको गौरवशाली इतिहास भएको हाम्रो देशको भूभागमाथि भएको अतिक्रमण कुनै पनि देशभक्त नागरिक र सरकारलाई सह्य हुनै नसक्ने बताए ।

सम्पूर्ण विश्व नै कोरोना महामारीविरुद्ध जुधिरहेको तथा यसले निम्त्याएको सङ्कटबाट नेपाल पनि अछुतो नरहेको भन्दै मुख्यमन्त्री पौडेलले सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकार महामारीविरुद्धको लडाइँमा केन्द्रित भइरहेको सन्दर्भमा राष्ट्रियता र सार्वभौमसत्तालाई अक्षुण राख्न नेपालीहरु पुनः उच्चस्तरको एकता कायम गर्दै अगाडि बढ्नुपर्ने परिस्थिति सिर्जना भएको उल्लेख गरे । ‘कोरोना महामारीका कारण सिर्जित चुनौतीबीच सीमा समस्यालाई सुझबुझ पूर्णरुपमा सुल्झाउँदै ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणको बाटोमा देशलाई अघि बढाउन सम्पूर्ण नागरिकको बलियो साथको आवश्यकता पर्छ’, पौडेलले भने ।

सम्बोधनका क्रममा मुख्यमन्त्री पौडेलले कोरोना महामारीको कारण स्वदेश तथा विदेशमा ज्यान गुमाउनुहुने सम्पूर्णमा श्रदाञ्जलि, शोकसन्तप्त परिवारजनमा समवेदना तथा उपचारका क्रममा रहनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत व्यक्त गरे । उनले भने, ‘चैत ११ गतेबाट शुरु भएको लकडाउनले हाम्रो दैनिक जीवन व्यवहारमा असहजता उत्पन्न भएको छ । यसलाई सामना गर्न वाग्मती प्रदेश सरकारले अथक प्रयास गर्दै आएको यहाँहरुमा सर्वविदितै छ ।’ यस क्रममा प्रदेश सरकारले स्वास्थ्य सामग्रीको व्यवस्थापन, क्वारेन्टिन तथा आइसोलेशन वार्ड निर्माण, आइसियु श्यया निर्माण, सूचना तथा सञ्चारका कार्यहरु, पर्याप्त स्वास्थ्यकर्मीको व्यवस्थापन, आरडिटी तथा पिसिआर परीक्षण, लकडाउनको प्रभावकारिताको अनुगमन, स्थानीय तहलाई सहयोग तथा समन्वय गर्दै कोरोना महामारी सामना गर्न प्रयासरत रहँदै आएको उनले उल्लेख गरे । 

सङ्घीय सरकारले समयमै घोषणा गरेको लकडाउन तथा तिनै तहका सरकारको सुझबुझपूर्ण एवं जिम्मेवारीसहितको  पहलकदमीको कारण हालसम्म कोरोना महामारीले ठूलो मानवीय क्षति गर्न नसकेको उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले सङ्क्रमण दर भने दिन प्रतिदिन बढ्दो रहेको बताउँदै बढ्दो सङ्क्रमण दरसँगै महामारीको सामना गर्न थप संवेदनशील बन्नुपर्ने आवश्यकता देखिएको बताए । 

हालसम्म विभिन्न देशमा यस महामारीविरुद्ध खोपको परीक्षण भए तापनि ठोस उपलब्धि हासिल हुन नसकेको बताउँदै पौडेलले यस अवस्थामा एकातिर नागरिकको सुरक्षाका लागि लकडाउनलाई कुनै न कुनै रुपमा जारी राख्नुपर्ने तथा अर्कोतर्फ अर्थतन्त्रलाई चलायमान गरी पुनःजीवन प्रदान गर्न आर्थिक गतिविधिलाई अघि बढाउनुपर्ने चुनौती उत्तिकै रहेको धारणा राखे । 

मुख्यमन्त्री पौडेलले कोरोनाका कारण यस वर्षको नीति तथा कार्यक्रममा सरकारको प्राथमिकता परिवर्तन गरिएको बताए । उनले विगतका वर्षमा पूर्वाधार विकासमा जोड दिने गरिएकामा यस वर्ष कृषि, स्वास्थ्य, शिक्षा तथा रोजगारीलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको जानकारी दिए । उनले कृषिमार्फत उत्पादकत्वको वृद्धि तथा रोजगारी सिर्जना गर्न सरकारले लिने नीति उपयोगी हुने विश्वास लिएको बताए ।

मुख्यमन्त्री पौडेलले कोरोना महामारीबाट प्रभावित भई स्वदेश फर्किएका प्रदेशवासीका लागि प्रदेश सरकारले आवश्यक व्यवस्थापन गर्नेसमेत जानकारी गराए । सबै राजनीतिक दलबीचको समझदारीमा संविधान निर्माणका लागि ‘भूकम्प’लाई अवसरका रुपमा बदल्न सफल भएको उल्लेख गर्दै नाकाबन्दीको सामना गर्नु परेपनि यसले हामीलाई आत्मनिर्भर बन्न अग्रसर गराएको बताए ।

नेपालीले प्रत्येक चुनौतीलाई अवसरमा बदल्दै आएको बताउँदै भने, ‘‘सानो देश, गरिब देश भन्ने हीन भावनाबाट माथि उठेर ‘भूगोल सानो ठूलो हुनसक्छ तर सार्वभौमिकता समान हुन्छ, भन्ने मान्यता स्थापित गरायो । कालापानी, लिपुलेक, लिम्पियाधुरासहित सम्पूर्ण भूभाग फिर्ता लिएरै छाड्छौँ तर सरकार एकल प्रयासबाट मात्र यो सम्भव छैन ।’ नागरिकस्तरबाट प्राप्त बलियो साथ र समर्थनले मात्रै सरकारका प्रयासले सातर्कता पाउने उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप