बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इद उल फितरको शुभकामना : कसले के भने ?

सोमबार, १२ जेठ २०७७, ११ : ४२
सोमबार, १२ जेठ २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पर्वहरूले आपसी सद्भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ बनाउन प्रेरित गर्ने बताएकी छन् ।

इस्लाम समुदायको इद उल फितरको अवसरमा शुभकामना सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकासमा यस्ता पर्वहरूले टेवा पुर्याउने विश्वाससमेत व्यक्त गरेकी छन् । उनले नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न ईद पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि इदको अवसरमा शुभकामना सन्देश जारी गर्दै एकजुट भएर कोराना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्नुको विकल्प नभएको बताएका छन् । उनले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहका सरकारले चालिरहेका कदम अझै प्रभावकारी बन्दै जाने विश्वास लिदै  सरकारको प्रयासमा पूर्ण साथ दिन सबैलाई अपीलसमेत गरेका छन् ।

कोरोना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्न सिंगो नेपाली एकताबद्ध हुन र धैर्य गर्न आवश्यक छ भन्दै उपराष्ट्रपति पुनले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इदले एकताबद्ध भएर कोरोना भाइरसविरुद्ध लड्न सबै नेपालीलाई प्रेरणा दिने र कोरोना भाइरस छिट्टै नियन्त्रण हुने विश्वास लिएका छन् ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले इद उल फितरको अवसरमा शुभकामना सन्देश दिदै विश्वव्यापी महामारीबाट बच्न विशेष सर्तकता अपनाउँदै घरमै बसेर इद उल फितर मनाउन आग्रह गरेका छन् ।

‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै गरिने असहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो’ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

त्यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि इद उलको शुभकामना दिदै   नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक भएको र विविधता भित्रको एकता नै हाम्रो मौलिक विशेषता तथा पहिचान भएको बताएका छन् ।

‘बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्दछ’, प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् ।

प्रचण्डले सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोरोना भाइरस (कोभिड–१९) ले समान रुपले आक्रमण गरिरहेको छ र यस महामारी विरुद्धको संघर्षमा एकतावद्ध प्रतिरोधका लागि आग्रह समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप