केन्द्रीय संस्करण

पर्यटन क्षेत्रमा सङ्कट : अब के गर्ने ?

person explore access_timeजेठ १२, २०७७ chat_bubble_outline0

-सुदर्शन न्यौपाने

चीनमा कोभिड–१९ महामारीको रूपमा फैलँदै गर्दा विश्वले यो भाइरसले यति डरलाग्दो विश्वव्यापी रूप लेला भन्ने आँकलन हामी कसैले गर्नै सकेनौँ । विश्व अर्थतन्त्रलाई जिरो ग्राउन्डमा ल्याउने खालको अवस्था यो महामारीले ल्याएको छ । विश्वका राजनीतिक, आणविक र वाणिज्य बादशाहहरु कोरोना नामक सूक्ष्म भाइरसअघि नतमस्तक छन् । विश्वको अर्थतन्त्रलाई साम दाम दण्ड र भेदले आफ्नो मुठ्ठीभित्र कैद गर्ने एकाधिकार पुँजीवादी साम्राज्यवादी देशहरु नाथे भाइरसको मुठ्ठीभित्र महिनौँदेखि नजरबन्दमा छन् । न्युयोर्क, मस्को, पेरिस, लन्डन जस्ता कहिल्यै ननिदाउने सहर कैयौँ दिनदेखि कोमाको बिरामीझैँ लम्पसार छन् ।

विश्व जनसङ्ख्याको ७० प्रतिशत बेरोजगार हुने सम्भावना छ । यो ज्यानमारा भाइरसको अन्त्य अनिश्चित छ भन्ने कुरा ठूला राष्ट्रहरु र विश्व स्वास्थ्य सङ्गठनको बारम्बारको भनाइले प्रस्ट हुन्छ । विश्व महिनौँ घरभित्रै कैद भइरहन सक्दैन । मर्न भन्दा बौलाउन राम्रो भनेझैँ अब केही महिनामा विश्व मानव जातिले कोरोना महामारीविरुद्ध अवज्ञा गर्ने छन् । हामी नेपाली पनि सधैं घरभित्र लड्किएर बस्ने छैनौँ । सचेतनापूर्वक कोरोनाविरुद्ध प्रतिवाद गरिने छ । यस्तो अवस्थामा हामी आम पर्यटन व्यवसायी कसरी अघि बढ्ने ? केके हुन् पर्यटनमा हामी सर्भाइभल हुँदै रिभाइभलको मार्गमा अघि बढ्ने उपायहरु ? त्यसका आधार खोजी गरिहाल्नु पर्छ ? नेपाल आर्थिक रूपले तङ्ग्रिने सबैभन्दा अचुक हतियार भनेको पर्यटन नै हो तर अबको हाम्रो पर्यटन स्ट्रटेजी परम्परागत हुन सक्दैन । हाम्रोमा सगरमाथा छ, गोरे न आए कहाँ जान्छ त ? लुम्बिनी छ यहाँ न आए कहाँ हो र जाने ? हाम्रो देशमा पशुपती छन् नआई सुख ? अनि हाम्रोमा एक सिङे गैँडा छन् । ती गोरा हामीकहाँ नआए कहाँ जान्छन् भनेर भाग्यको फेरो समाएर बस्ने दिन अब गए ।

उत्पादन, नयाँ खाले प्रमोसन र एग्रेसिभ बजारीकरणको बाटो समाएन भने हाम्रो पर्यटन बजार कहिले पनि नउठ्ने गरी सुत्ने छ । दुई चारवटा पाँच तारे होटेल, एक दुई दर्जन मल्टी क्विजिन रेस्टुराँ, दुई चार आन्तरिक र बाह्य जहाज चलाएर पर्यटन चलायमान हुँदैन । दुई चारवाट पाँच तारे होटेल, रेष्टुराँ र रिसोर्ट त कमिसन खोर र दलालले मनोरञ्जन र डिलिङ पोइन्टकै रूपमा पनि त चल्न सक्छ, चलिरहेकै हो नि । के पर्यटन उद्योग भनेको यतिमा नै सीमित हुने हो र ? पर्यटन उद्योग बन्न कम्तीमा पनि हाम्रो जनसङ्ख्याको एक चौथाइ हाराहारीमा पर्यटक तान्न सक्न पर्छ । हिजो जस्तो पोल्ट्रीले पर्यटनभन्दा धेरै अर्थतन्त्रमा योगदान दिएको भन्ने खालको सतही मूल्याङ्कन र हल्का टिप्पणी गरिनु हुन्न । पर्यटकहरूले अन्डा र मासु खाएरै पोल्ट्री फस्टाएको भुल्न हुँदैन । आन्तरिक र बाह्य पर्यटनको कारणले ह्याचरी, पोल्ट्री, डेरी, फ्लोरिकल्चर र कृषिमा घुमाउरो योगदान भुल्न हुँदैन । उत्पादनको अन्तर सम्बन्ध र योगदान भुल्नु र सोहीअनुसार अवधारणा बनाउनु राज्यको बुद्धिमता हुँदै होइन । पर्यटकको कारणबाट पनि कृषिको व्यवसायीकरण भएको कुरा भुल्न हुँदैन । दशौँ हजार मेघावाट विद्युत उत्पादनको खपत गर्न पनि पर्यटक चाहिन्छ चाहिन्छ । अब हरेक उत्पादनलाई पर्यटनसँग इन्टिग्रेट गर्नु अबको आवश्यक्ता हो । पर्यटन मात्र यस्तो उद्योग हो, जहाँ आयत शून्य प्रायः हुन्छ । बिना कच्चा पदार्थ असीमित उत्पादन गर्न सकिन्छ ।

पर्यटनलाई प्राङ्गारिक कृषिसँग जोडौँ 
संसारभर प्राङ्गारिक खाना (अर्गानिक खाना) को माग र महत्त्व बढिरहेको छ । केमिकल फर्टिलाइजर र पेस्ट्रिसाइज गरेको तरकारी, सब्जी, फलफूल र अन्नले निम्त्याएको गम्भीर रोगले मानिस महँगो मूल्य तिरेर प्राङ्गारिक खाना खाने प्रचलन बढ्दो छ । हो, यही मौकामा विदेशमा कृषि मजदुरको रूपमा कार्यरत कैयौँ जनशक्तिहरु नेपाल आउने तरखरमा छन् । ती श्रमको महत्त्व बुझेका जनशक्तिलाई व्यवस्थापन गर्नु राज्यको दायित्व पनि हुन्छ । ठीक यही समयमा यस्ता जनशक्तिलाई आवश्यक जमिन र थोरै आर्थिक सहयोग दिएर प्राङ्गारिक कृषि उत्पादनमा प्रेरित गराउनु पर्छ । फ्री रेन्ज चिकेन, पोर्क, खसी बोका टर्की र किवी पालन आन्तरिक र बाहिय पर्यटकलाई आकर्षण गरी अर्थतन्त्र चलायमान बनाउन सकिन्छ । विगतमा नक्कली कृषक बनेर सरकारी सहयोग र सुविधाको दुरूपयोग गरेकाहरुबाट हर्जनासहितको असुली गरी वास्तविक कृषकलाई उक्त सहयोग दिन चुक्न हुन्न । यसरी उत्पादिन तरकारी, फलफूल र खाद्यान्न विदेशमा निर्यात गर्ने र उक्त उत्पादनमा रमाउन नेपालमा पर्यटक आउने सम्भावना धेरै छ । भारतीय र चिनियाँ नागरिकलाई मात्र अर्गानिक खाना खान तान्न सकियो भने प्रयाप्त हुन सक्छ । पाश्चात्य नागरिकहरु हाम्रो अर्गानिक फार्म अवलोकन गर्न लस्कर लाग्नेमा दुई मत छैन ।

पर्यटनलाई प्राकृतिक चिकित्सा र आरोग्यसँग जोडौँ 
अहिले एलोपेथीबाट उपचारपछिको असरको कारण मानिसहरु प्राकृतिक चिकित्सा, आयुर्वेदिक चिकित्सा, ध्यान र योगातिर आकर्षण बढ्दो छ । नेपाल प्रचुर औषधियुक्त जडीबुटीको भूमि नै । त्यसैले जडीबुटी उत्पादन प्रशोधनका लागि राज्यले सहजता र प्रवद्र्धन गर्न सक्नुपर्छ । आयुर्वेदिक औषधि, सौन्दर्यको सामग्री (फेसियल प्याक, क्रिम) उत्पादनमा जोड दिने, ध्यान र योगा केन्द्र खोली स्वदेशी र विदेशी पर्यटकलाई उपचार गर्ने प्रकृतिक उपचारको देशको रूपमा स्थापित गर्दै लानुपर्छ । विश्वभर प्रचुर मात्रामा माग भइरहेको जडीबुटी कच्चा पदार्थ निर्यात गरी मनग्गे पैसा कमाउन सक्छ । योग र ध्यानले स्वयम् देश बासी निरोगी र सबल बन्ने छन् । यीमाथि उल्लेखित कार्य सुरु गर्न केही समय लाग्न सक्छ, त्यसैले तत्कालको लागि पर्यटन क्षेत्रका लागि राज्यले के गर्ने के गर्ने ? पर्यटन व्यवसायी अहिले मुर्छित छन् । भएभरको जाय जेठा, श्रीसम्पत्ति बैङ्कमा राखेर सामान्य, मध्यम र उच्च खालको लगानी पर्यटनमा गरेका व्यवसायी भुकम्पपछि बामे सरिरहेकै बेला कोरोनाले उठ्नै नसक्ने गरी थलिएका छन् । नाफा कुरा छाडौँ बैङ्कको लोन ब्याज कसरी तिर्ने ? घर भाडा के गरी बुझाउने ? बन्द व्यवसाय बिर्सन सकिँदैन । सास रहुन्जेल आस भनेझैं आफ्नो कार्यालय, रेष्टुराँ र होटलको सटर कहिले र कसरी खोल्ने पिरलोले मानसिक रूपले विछिप्त हुने अवस्थामा पुगेका छन् ।

कसरी घर चलाउने भन्ने चिन्ता त्यतिकै छ । घर जग्गामा लगानी गर्नेहरुले अरूलाई पनि रोजगार दिन्छु अनि थोरै आफू पनि कमाउँछु, थोरै कर पनि तिर्छु भन्ने व्यवसायी सबैभन्दा मर्कामा छन् । यहीबेला हो राज्य छ भन्ने अनुभूति गर्ने । सहज बेला त आफैले गर्ने हो आपत विपतमा चाहिने हो सरकार । त्यसैले वर्षांैदेखि मनग्गे पैसा जमाएका कमाएका बैङ्कसँग समन्वय गरी ब्याजमा सहुलियत र किस्ता केही समयका लागि पोस्ट्पोन्ड गराउन सरकारले भूमिका खेल्नै पर्छ । ट्राभल्स र ट्रेकिङ एजेन्सीका लागि व्यवस्था भएको विद्यामान धरौटी खारेज गरिदिए उक्त बैङ्कमा फ्रिज भएको पैसा आफैँमा ठूलो राहत हुन सक्छ । घरभाडामा व्यवसाय सञ्चालन गरेकाको हकमा कम्तीमा एक वर्ष हाल तिरिरहेको घरभाडामा ५० प्रतिशत छुट दिन घरवालालाई निर्देशन दिनुपर्छ । हिजो व्यवसाय चलेको बेला छ महिना, वर्ष दिनको अचाक्ली महँगो भाडा त बुझाएकै हो नि । अहिले कसरी तिर्ने ? ठीक छ घरभाडामा दिने पनि सस्टेन हुनु पर्छ, त्यसैले आधा भाडा दिँदा उनीहरुलाई चल्न गाह्रो हुँदैन । यदि यो मान्य हुँदैन भने व्यवसायीले गरेको लगानी उचित मूल्यमा स्वीकार्न घरवाला तयार हुनुपर्छ । घरवालाले कि आधी भाडा स्वीकार्नु पर्छ या व्यवसायीको लगानी सकारेर आफूलाई व्यवसायी बनाउन सक्नुपर्छ । यस्तो अवस्थामा दुई पक्षलाई समन्वय गर्न राज्यले निष्पक्ष अभिभावकको भूमिका खेलिदिनु पर्छ । व्यवसायलाई पुनः सञ्चालन गर्न पर्यटन व्यवसायको हकमा उसको लगानीको प्रकृति हेरी बिना धितो सहुलियत ब्याज (कृषिमा झैँ) को व्यवस्था गरिदिनु पर्छ ।

त्यसपछि पर्यटनलाई हाम्रो दैनिकीसँग जोड्नु पर्छ । वर्तमान महामारीबाट थोरैभन्दा थोरै मानवीय क्षति भयो भने पनि पर्यटनको लागि सहज वातावरण बन्छ । भुटानले कोरोना मुक्त लगभग घोषणा गर्न लागि सक्यो । महामारी एक कुनाबाट अर्काे कुना, एक सहरबाट अर्काे सहर, एक देशबाट अर्काे देश अनि फिरन्तेझैँ घुमिरहने सम्भावना भइरहेको बेला सामान्य जनचेतना र जवाफदेही सरकारको अनुभूति गराई कोरोना छिटोभन्दा छिटो नियन्त्रण गर्न सके कोरोना नियन्त्रित देशको रूपमा नेपालको प्रचार संसारभर हुन सक्छ । हो हामी फेरि उठ्ने हो भने हामी पुनः अनुरोध गर्छाैं र भन्छौँ कोरोना लगायत कैयाँै रोग र महामारीले कमजोर भएका विदेशीलाई नेपालको स्वच्छ हावा, निर्मल ग्लासियरको पानी, किटनासक रहित अर्गानिक उत्पादन, न्यानो र आत्मीय सत्कार सर्वसुलभ कनेक्टिभिटी र सुलभ मूल्यमा दिन सके आफ्नै उत्पादन नभएको देशका नागरिक, रोजगार गुमेका, अवसरका लागि अझै केही वर्ष कुर्नुपर्ने देशको नागरिकहरुका लागि नेपाल आकर्षणको थलो बन्ने छ ।

हाम्रो हिमाल हेरेर, हाम्रो अर्गानिक उत्पादन खाएर, हाम्रो मौलिक संस्कृतिमा रमेर र हाम्रो अब्बल आतिथ्यता पाएर कम मूल्यमा जिउन पाए मात्र न्युयोर्क, पेरिस, लन्डन, टोक्यो जस्ता अति महँगीसँग जुधिरहेका मानिस नेपाल आउने हुन अबका केही वर्ष । अबको केही वर्षको पर्यटक अचाक्ली पैसा भएर आउने प्रकृतिको हुने छैनन । महँगी छल्न र आरोग्यता प्राप्त गर्न चाहनेलाई नेपाल विकल्प हीन विकल्पको रूपमा उभ्याउनु नै तत्कालको योजना बन्नु पर्छ । खाडी देश र मलेसियाबाट फर्कने हजारौँ युवा जनशक्तिलाई गुणस्तरीय प्राङ्गारिक कृषिमा आकर्षित गराउन निःशुल्क जमिन, सुलभ र सरल ब्याजदरमा कृषि ऋण र निःशुल्क प्राविधिक सहयोगको व्यवस्था हुनुपर्छ । रसायन रहित उत्पादन साबुन, स्याम्पो, लोसन, सौन्दर्यको क्रिम मलम, हेल्म लगायत शरीर र स्वास्थ्यलाई फाइदा गर्ने कपडाको उत्पादन, हस्तकला, चित्रकलाका उत्पादनलाई प्राथमिकता दिनुपर्छ । अनुत्पादित क्षेत्र घर जग्गामा लगानीलाई दुरुत्साहित गरिनु पर्छ । रोजगारी र स्थायित्वको क्षेत्र कृषि, पर्यटन, रिक्रिएसन (योगा, ध्यान, प्रकृतिक चिकित्सा) र जडीबुटी उत्पादन गर्न राज्य निजी क्षेत्रसँग हातेमालो गर्न र आर्थिक सहयोग (सहुलियतमा ऋण) तयार हुनुपर्छ । मुनाफाभन्दा रोजगारी धेरै दिने व्यवसायी प्रोत्साहन स्वरूप कर छुट लगायतका सुविधाबारे पनि राज्यले सोच्नुपर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.