शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालसँग मात्र होइन, चीन लगायत ६ मुलुकसँग भारतको सीमा विवाद

आइतबार, ११ जेठ २०७७, १८ : ०७
आइतबार, ११ जेठ २०७७

काठमाडौं । दक्षिण एसियाको ठूलो मुलुक भारत आफ्ना सबै छिमेकी मुलुकसँग सीमा विवादमा अल्झिएको छ । पछिल्लो समय कुनै पनि छिमेकीसँग उसको सुमधुर सम्बन्ध देखिएको छैन ।

भौगोलिक रुपमा विभिन्न ६ मुलुकसँग भारतको सीमा जोडिएको छ । विशाल देश भएकाले स्वाभाविक रुपमा भारतसँग सीमा जोडिएका मुलुक धेरै छन् । तर भुटानलाई छाड्ने हो भने कुनै पनि छिमेकी मुलुकसँग भारतको राम्रो सम्बन्ध छैन । खासगरी सबैजसो छिमेकी मुलुकसँग भारतको सीमा विवाद देखिन्छ ।

१. भारत–नेपाल सीमा विवाद
नेपालसँग कालापानी, लिपुलेक, लिम्पियाधुरामा पछिल्लो समय सीमा विवाद निकै चर्किएको छ । लामो समयदेखि सो क्षेत्रमा कब्जा जमाएको भारतले हालै सडक उद्घाटन गरेपछि विवाद चर्किएको हो ।

यस अतिरिक्त सुदूरपश्चिमकै कञ्चनपुरदेखि लिएर पूर्वमा इलामसम्म विभिन्न स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ ।

सुस्ता क्षेत्रमा लामो समयदेखि भारतले विवाद सिर्जना गर्दै आएको छ । त्यहाँको करिब १४५ वर्गकिलोमिटर भूभाग भारतले अतिक्रमण गरेको छ । त्यस्तै इलाममा पनि लामो समयदेखि सीमा विवाद चल्दै आएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि भारतले विवाद सिर्जना गर्दै आएको छ । नेपालीको हातमा लालपुर्जा भएको जमिनमै भारतले आफ्नो दावी गर्दै आएको छ । सो क्षेत्रमा सीमा रक्षार्थ नेपाली युवक गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर सहिदसमेत भएका थिए । 

कालापानी, लिपुलेक, लिम्पियाधुराबाहेक नै भारतले नेपालका विभिन्न ६७ ठाउँमा सीमा अतिक्रमण गरेको सीमाविद् बुद्धिनारायण श्रेष्ठको भनाइ छ ।

२. भारत–चीन सीमा विवाद
भारत र चीनबीच ३ हजार ४८८ किलोमिटर लामो सीमा छ । भारतको जम्मु–कश्मीर, हिमाञ्चल प्रदेश, उत्तराखण्ड, सिक्किम र अरुणाचल प्रदेश राज्य चीनसँग सीमा जोडिएका छन् ।

भारत र चीनबीचको सीमालाई तीन खण्डमा विभाजित गरिएको छ । जम्मु, कश्मीरलाई पश्चिमी क्षेत्र भनिन्छ भने हिमाञ्चल प्रदेश र उत्तराखण्डलाई मध्य क्षेत्र र सिक्किम र अरुणाचल प्रदेशलाई पूर्व क्षेत्र भनिन्छ । यीमध्ये कयौं ठाउँमा दुई देशबीच सीमा विवाद रहँदै आएको छ । विवादकै कारण दशकौंदेखि भारत–चीनको सीमांकन पूर्ण रुपमा हुन सकेको छैन ।

भारतले पश्चिमी क्षेत्रको सीमामा चिनियाँ कब्जामा रहेको केही भूभागलाई आफ्नो दावी गर्दै आएको छ । पूर्व क्षेत्रमा अरुणाचल प्रदेशको केही भूभाग चीनले दावी गर्दै आएको छ । भारतले दावी गरेको क्षेत्रलाई चीनले अस्वीकार गर्ने र चीनले आफ्नो दावी गर्दै आएको क्षेत्रलाई भारतले अस्वीकार गर्ने गरेकै कारण दुई देशबीच सीमा निर्धारण हुन सकेको छैन । यस्तो अवस्थामा सीमा विवाद यथास्थितिमै रहने गरी दुई मुलुकबीच ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ अर्थात ‘एलएसी’ का आधारमा विवादलाई तत्कालका लागि समाधानको प्रयास गरियो । यसअन्तर्गत पूर्ण रुपमा सीमा समाधानका लागि सहमति नहुन्जेलसम्म दुवै मुलुकले आ–आफ्नो नियन्त्रणमा रहेका भूभाग उपभोग गर्ने समझदारी बनेको हो ।

तर एलएसीकै बारेमा दुई मुलुकबीच पछिल्लो समय विवाद हुन थालेको छ । ग्लेशियर, हिउँको फाँट, पहाड र नदी भएका क्षेत्रमा एलएसीका बारेमा बारम्बार विवाद हुँदै आएको छ । परिणामस्वरुप दुई देशका सेनाबीच पटक पटक घुसपैठको आरोपमा झडपसमेत हुँदै आएको पाइन्छ ।
पेङ्गोङ्ग त्सो ताल, गालवन भञ्ज्याङ, डोकलाम, तवाङ्ग, नाथुला लगायतका क्षेत्रमा भारत र चीनबीच मुख्य रुपमा सीमा विवाद चर्किने गरेको छ ।

३. भारत–बंगलादेश सीमा विवाद
भारत र बंगलादेशबीच लामो समयदेखि जारी सीमा विवादलाई सन् २०१५ मा एक सम्झौतामार्फत टुङ्ग्याइएको छ । कतिपयले यसलाई सीमा विवाद समाधानको एउटा उदाहरणका रुपमा पनि लिने गर्दछन् । 
दुई देशको सीमा क्षेत्रमा रहेका करिब डेढसय बस्तीका बारेमा लामो समयदेखि विवाद रहँदै आएको थियो । विवादित क्षेत्रमा भारतले ५१ बस्ती र बंगलादेशले १११ बस्ती लिने गरी दुई देशबीच सीमा सम्झौता भएको थियो । यसका बाबजुद समय समयमा दुई देशबीच सीमा क्षेत्रमा तनाव हुने गरेको छ ।
सन् २०१९ को अक्टोबरमा दुई देशका सुरक्षाकर्मीबीच सीमा क्षेत्रमा विवाद बढेको थियो । सो क्रममा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो । 

४. भारत–पाकिस्तान सीमा विवाद
विभाजनकै समयदेखि भारत–पाकिस्तान सीमा विवाद चल्दै आएको छ । यी दुई मुलुकबीच सीमा कै कारण लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । 

दुई देशबीच कश्मीरलाई लिएर सुरुदेखि नै विवाद हुँदै आएको छ । स्वतन्त्र भारत विभाजन भई भारत र पाकिस्तान गरी दुई देश बनाउँदा स्वतन्त्र रहेको कश्मीरलार्ई त्यहाँका राजासँगको सहमतिमा भारतले आफ्नो भूभागमा गाभ्ने निर्णय गरेपछि विवाद सुरु भएको हो । परिणामतः कश्मीरको केही भाग पाकिस्तानले र केही भाग भारतले लिए । भारतले लिएको कश्मीरलाई भारतको संविधानमै विशेष दर्जा दिइएको थियो । तर गत वर्ष भारतले आफ्नो अधिनमा रहेको कश्मीरलाई विशेष दर्जा खारेज गर्दै दुई प्रदेशमा विभाजन गरेपछि भने भारत र पाकिस्तानबीच थप तनावपूर्ण सम्बन्ध बनेको छ । पटक–पटक सीमा क्षेत्रमा दुई देशबीच आक्रमण हुने गरेको छ भने यी दुई देशले आपसमा सीमाकै कारण युद्धसमेत गरिसकेका छन् ।

५. भारत–म्यानमार सीमा विवाद
भारत र म्यानमारबीच ब्रिटिश साम्राज्यदेखि नै सीमा विवाद चल्दै आएको छ । भारतको मणिपुरसँग जोडिएको केही क्षेत्रलाई लिएर भारत र म्यानमारबीच सीमा विवाद रहँदै आएको छ ।

६. भारत–भुटान सीमा विवाद
भारत र भुटानबीच प्रत्यक्षरुपमा सीमा विवाद छैन । तर भारतले चीनसँगको सीमा विवादलाई भुटानका माध्यमबाट पनि अघि सार्ने गरेको पाइन्छ । 
भुटान स्वतन्त्र राष्ट्र भए पनि धेरै विषयमा भारतसँग निर्भर छ । भुटान र चीनसँगको त्रिदेशीय विन्दुमा भारतले भुटानलाई पनि आफूसँगै अघि सार्ने गरेको छ । परिणामतः भुटान पनि यदाकदा भारतसँगै सीमा विवादमा तानिने गरेको छ ।
डोकलाम क्षेत्रमा चीनसँगको सीमा विवादमा भारतले भुटानलाई पनि आफ्नो पक्षमा तानेको आरोप लाग्दै आएको छ । सन् २०१७ मा सो क्षेत्रमा चीन र भारतका सुरक्षाकर्मीबीच लामो समय तनाव देखिएको थियो ।
त्यतिबेला चाइनिज एकेडेमी अफ सोशल साइन्सेजका अनुसन्धानकर्ता झाङ्ग योङ्गपानले चिनियाँ अखबार ग्लोबल टाइम्सलाई बताएअनुसार भारतले भुटानलाई अघि सारेर डोकलाम मुद्दामा चीनसँग विवाद बढाएको हो । डोकलाम क्षेत्र नजिकै चीनले आफ्नो भूमिमा सैन्य संरचनालाई मजबुत बनाउन थालेका कारण भारतले सोझै हस्तक्षेप गर्न नसकेर भुटानलाई अघि सारेर विवाद सिर्जना गरेको उनको भनाइ थियो । चीनले आफ्नो सैन्य संरचना विकसित गर्दा भारतले आफू असुरक्षित महसुस गरी विवादलाई नयाँ रुपमा सिर्जना गराएको उनले बताएका थिए ।

-एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप