बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेल्टा कर्णालीद्वारा तीनदिने क्षेत्रीय इ–कन्फेरेन्स

आइतबार, ११ जेठ २०७७, १७ : ४३
आइतबार, ११ जेठ २०७७

सुर्खेत । नेपाल अङ्ग्रेजी भाषा शिक्षक एशोसिएसन (नेल्टा) कर्णाली प्रदेशले अङ्ग्रेजी भाषा शिक्षणअन्तर्गत ‘ट्रान्सफर्मिङ इएसएल पेडागोजिज इन द कन्टेक्स्ट अफ नेपाल’ विषयक तीनदिने क्षेत्रीय इ–कन्फेरेन्स आज सम्पन्न गरेको छ ।  आफ्नो स्थापनाकालदेखि शिक्षकलाई अङ्ग्रेजी भाषा शिक्षणमा पेशागत क्षमता अभिवृद्धिको काम गर्दै आएको एशोसिएसनले बदलिँदो परिवेशसँगै परम्परागत शिक्षण सिकाइ क्रियाकलापमा रुपान्तरण गर्ने उद्देश्यका साथ क्षेत्रीय इ–कन्फेरेन्सको आयोजना गरेको थियो । यो महामारीको समयमा आफूलाई कसरी रुपान्तरित गर्ने र प्रविधिको अधिकतम प्रयोगबाट शिक्षण सिकाइ क्रियाकलाप गुणस्तर ल्याउन कस्ता विधि प्रक्रियाको अवलम्बन गर्ने भन्ने विषयमा बहस गर्न इ–कन्फेरेन्स गरिएको एशोसिएसन कर्णाली प्रदेशका अध्यक्ष विष्णुकुमार खड्काले जानकारी दिए ।

स्वदेश तथा विदेशका शिक्षा तथा भाषाविद्, प्राज्ञिक व्यक्तिहरुको सहभागितमा इ–कन्फेरेन्स भएको बताउँदै अध्यक्ष खड्काले भने, ‘प्राडा अभि सुवेदीले ‘रुपान्तरित अध्यापन’, प्राडा अञ्जना अवस्थी भट्टराईले ‘२१औँ शताब्दीको लेखन सीप’, उपप्रध्यापक यदुप्रसाद ज्ञवालीले ‘कर्णालीमा विद्युतीय अध्ययनका चुनौती र सम्भावना’, सहायक प्राध्यापक डा.गङ्गाराम गौतम, रिसर्च फेलो युनिभर्सिटी अफ सिड्नीका प्रविधि विशेषज्ञ डा.सुमन लाउडारी, नेल्टाका कोषाध्यक्ष अशोक सापकोटाले ‘विद्युतीय अध्ययनमा अङ्गे्रजी शिक्षकको सशक्तीकरण, चुनौती र उपाय’, डा.कमलराज देवकोटाले ‘सामाजिक समावेशिता’, भोगेन्द्र लामिछाने र सगुन श्रेष्ठले ‘अन्वेषणात्मक कार्य अनुसन्धान’का बारेमा आफ्नो प्रस्तुति दिनुभयो ।’

भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थी, नेल्टाका केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान र त्रिवि उपप्रध्यापक डा.भीमलाल गौतमले ‘शिक्षामा भाषा र सिकाइको वर्तमान सन्दर्भ’ सहितको मुद्दामा, त्रिवि प्रध्यापक डा.आनन्दप्रसाद शर्माले ‘रिडिङ टु क्लोज, रिडिङ टु टेक्स्ट’ हेनसराज महिला महाविद्यालय इन्डियाका सहायक प्राध्यापक डा.रामनिता सैनी शर्दाले प्रोफेसिज अफ डिस्ट्रक्सनः (कोभिड–१९ रिडिङ अफ वास्ट ल्याण्ड) र काठमाडौँ विश्वविद्यालय भाषा शिक्षा विभागका प्रमुख प्रा.डा.लक्ष्मण ज्ञवालीले ‘म्याक्सिमाइजिङ लर्नर इन्गेजमेन्ट इन टिचिङ लर्निङ रिमोट्ली’ विषयमा प्रस्तुति दिनुभएको उनले बताए । 

त्यस्तै, नेल्टाका सदस्य बेतेन्द्रकुमार दाहाल र नवराज पौडेलले ‘हिडन आइडेन्टिटी विथ हार्मोनियस हमन सिभिलाइजेसन इन कर्णाली’का बारेमा प्रस्तुति दिनुभएको थियो । कन्फेरेन्सको समापनमा नेल्टाका संस्थापक अध्यक्ष तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.जयराज अवस्थीले सूचना, सञ्चार र प्रविधिको विकास गतिशील ढङ्गबाट अघि बढिरहेको बताउँदै २१औँ शताब्दीमा इ–पेडागोजी र इ–लर्निङ मानव जीवनका लागि अभिन्न अङ्ग बनेको बताए । 

दुई दर्जनभन्दा बढी भाषा तथा शिक्षाविद्, अनुसन्धानदाता र प्राज्ञिक व्यक्तित्वसहित नेल्टाका सातै प्रदेशका प्रदेश अध्यक्ष सहभागी रहेको उक्त सम्मेलनमा मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापकहरु रमेश खत्री, दीपेन्द्र भण्डारी, राजकुमार कँडेलले प्यानल छलफलका लागि मध्यस्थकर्ताका रुपमा भूमिका निर्वाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप