केन्द्रीय संस्करण

कोभिड-१९, लकडाउन र विद्यार्थीको दैनिकी

person explore access_timeजेठ ११, २०७७ chat_bubble_outline0

कोभिड-१९ चीनको उहान प्रान्तमा सन् २०१९ डिसेम्बरको अन्त्यतिर देखिएको कोरोना भाइरसबाट लाग्ने रोगलाई कोभिड-१९  नाम दिइएको छ । झण्डै ५ महिनाको समयमा यो भाइरस लगभग विश्वका सबै देशसम्म फैलिसकेको छ ।

हाल विश्वमा ५० लाख भन्दा बढी मानिसलाई यो रोग लागेको र ३ लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यो रोग लागेपछि मरिने भन्दा निको हुने संभावना बढी छ । हालसम्म विश्वमा २० लाख भन्दा बढी मानिस यो रोग लागेर पनि निको भइसकेका छन् । यो रोगले संसारमा सबैभन्दा बढी अमेरिका भन्ने देशमा प्रभाव पारेको छ । अमेरिकामा हालसम्म १६ लाख भन्दा बढीलाई कोभिड-१९ लागेको छ र १ लाखको मृत्यु भइसकेको छ । मेरा धेरै आफन्तहरू अमेरिकामा हुनु भएकोले धेरै पिर लागिरहन्छ ।

नेपालमा पनि यो रोगको असर दिन दिनै बढ्दै गइरहेको छ । यो भाइरस खोक्दा, हाछ्युँ गर्दा संक्रमित मानिसबाट अर्को मानिसमा सर्छ । त्यसैगरी रोग लागेका मानिसले प्रयोग गरेका समानहरू जस्तो रूमाल, कागजात, खेलौना, भाँडाकुँडा, पैसा आदि छुँदा पनि यो भाइरस सर्न सक्छ । कोरोना भाइरस सार्न हाम्रो शरिरको हातले मुख्य काम गर्छ । खासमा यो भाइरस हातको माध्यमबाट नाक, मुख हुँदै मानिसको शरीर भित्र प्रवेश गर्छ र मानिसको श्वासनली, फोक्सोमा गएर असर गर्छ । हालसम्म यो भाइरसको विरुद्धमा कुनै दवाइ र भ्याकसिन पत्ता लागेको छैन । तर आफैँले सफाइमा ध्यान दिने, हात साबुनपानीले धोइरहने, अनावश्यक रूपमा सामानहरू नचलाउने, भिडभाडमा नजाने, बाहिर निस्कनु पर्दा पनि माक्स लगाइरहने, बेला बेलामा स्यानीटाइजरको प्रयोग गरिरहने, कसैको धेरै नजिक नजाने, कसैको घरमा पाहुना बनेर नजाने र आफ्नो घरमा पनि नबोलाउने जस्ता कार्य गरेर यो रोगबाट बच्न सकिन्छ । 

लकडाउन
यो भनेको मानिसले आफूलाई आफ्नै घरभित्र वा सुरक्षित स्थानमा बन्द गरी राख्ने काम हो । आफ्नो परिवार मात्रै बसियो भने कोरोना भाइरस आफूमा सर्न सक्दैन । यो भाइरस टाढाबाट हावामा उडेर नआउने भएकोले विरामी मानिसको नजिक नजाने, जानै पर्दा पनि सावधानी अपनाएर माक्स लगायतका सुरक्षाका सामान लगाएर जाने हो भने हामीमा सर्दैन । यो रोग नसरोस भनेर विश्वका धेरै मुलुकले लकडाउनको उपाय अपनाएका छन् । नेपालमा पनि २०७६ साल चैत्र ११ गते देखि लकडाउन गरिएको २ महिना पुग्न लागेको छ । यो बीचमा लकडाउनको कतै राम्रो पालना गरिएको छ भने कतै हेलचेक्र्याई पनि भएको छ । कतै मानिस ज्ञान नपुगेर त कतै मानिसले जानी जानी लकडाउनलाई वेवास्ता गरेको हाम्रै टोल-छिमेकमा पनि देखिन्छ । एउटा टोलको मान्छे अर्को टोलमा खेल्न जाने, माक्स नलगाइकन साँझ बिहान हिड्ने, बाटोमा हिड्दा मुख नछोपी खोक्दै, हाछ्युँ गर्दै हिँड्ने गरेको पनि देखिन्छ । अरूले गल्ती गरेपनि आफूले सावधानी अपनाइ लकडाउनको पालना गर्न सक्दा यो रोगबाट बच्न सकिन्छ । 

विद्यार्थीको दैनिकीमा परेको प्रभाव
कोभिड-१९ बाट वृद्ध, युवा र बालबालिका सबैलाई असर परेको छ । आफू भर्खर १२ बर्ष लागेको विद्यार्थी भएकोले म आफ्नै अनुभव मात्र लेख्न गइरहेको छु । मलाई फुटबल, ब्याडमिन्टन खेल्न एकदमै मनपर्छ । मलाई कक्षामा साथीहरूसँग जिस्कन, साथीहरूलाई हँसाउन, ब्रेक टाइममा यता उता कुद्न झनै रमाइलो लाग्छ ।

पोहोर साल मोबाइल र ट्‌याबलेट धेरै चलाउँदा मेरो आँखा केही कमजोर भएर माइनस १.५ पावरको चश्मा लगाएदेखि मोबाइल र ट्‌याबलेट खेल्न, चलाउन पुरै छोडेको थिएँ । अहिले त चलाउन मन पनि लाग्दैन र चलाउँदिन पनि । बरू आँखाको पावर बढाउन दैनिक सागसब्जी, गाँजर, मेवा खाने, बिहानै हरियो दुवोमा हिड्ने, बोट बिरूवाका हरिया पात हेर्ने, चिसो पानीले आँखामा छम्किने जस्ता काम गर्दै आएको थिएँ । जसको कारण मेरो आँखाको पावरमा सुधार भइरहेको पनि छ । तर कोभिड-१९ सँगै भएको लकडाउनले मेरो दैनिक रूटिन नै बिगारिदिएको छ । दिनको ४-५ घण्टा ल्यापटपमा बसेर अनलाईन कक्षा पढ्नु पर्छ, कतिपय गृहकार्य पनि अनलाईन नै गर्नुपर्छ, खोज्नु पर्छ, कक्षामा पनि आफ्नै कोठामा एक्लै पढ्दा  बोर लाग्छ । जिस्कने साथी नि हुँदैनन् । ब्रेक टाइममा खेल्न कुद्न पनि पाइँदैन । कोभिड-१९ र लकडाउनले मेरो मजानै लुटेझैं लाग्छ । फेरी सोच्छु जीवन भन्दा ठूलो त रमाइलो होइन । अनि यो लकडाउन सँधै हुने पनि त होइन । अहिले पढ्दै नपढि बसियो भने २/४ महिना पछि त झनै पढ्न मन नलाग्ने भएकैले स्कुलले पनि नियमित रूपमा अनलाईन कक्षा पढाएको होला भन्ने पनि बुझेकै छु । त्यो सोचेर फेरी खुशी हुन्छु । अब चाँडै कोभिड-१९ को महामारी सकियोस्, लकडाउन खुलोस् र पहिले जस्तै घुम्दै, खेल्दै, पढ्दै गर्न पाइयोस् भन्ने कामना गर्दै यो लकडाउनको बेलामा म दैनिक निम्न काम गर्छु र मेरा प्यारा साथीहरूलाई पनि यस्तै गर्न अनुरोध गर्छुः 
-    दैनिक नुहाउँछु ।
-    साबुन पानीले २/२ घण्टा जतिमा मिचिमिचि हात धुन्छु । 
-    बेला बेलामा स्यानीटाइजर लगाउँछु । 
-    घरबाट प्रायः बाहिर निस्किदिन । 
-    छिमेकी घरका दादा, दिदीहरूसँग खेल्न रमाइलो लाग्छ र जान्छु किनकी उहाँहरूपनि लकडाउन भएदेखिनै कतै निस्कनु भएको छैन । 
-    उहाँहरूकोमा जानुभन्दा अगाडि र फर्केर आएपछि पनि हातमुख धुन्छु र स्यानीटाइजर लगाउँछु ।
-    अनलाईन कक्षामा बस्दा बाहेक सकेसम्म ल्यापटप, कम्प्युटर चलाउँदिन ।
-    हरेक दिन बिहान १ घण्टा र बेलुकी २ घण्टा बाबा/मामु/बैनी/छिमेकी दादा/दिदीसँग फुटबल वा बास्केटबल वा ब्याडमिन्टन खेल्छु । 
-    बाबा/मामु/बैनीसँग दिनको कम्तीमा १ गेम चेस वा लुँडो वा बाघचाल वा क्यारामबोर्ड खेल्छु । 
-    दिउँसोको चिया प्रायः म नै बनाएर घरका सबैलाई खुवाउँछु । 
-    मानिसको भीडभाडमा जान्न । 
-    मन लागेपनि आफन्तकोमा जान्न । 
-    अरू टोलमा बस्ने साथीले फोन गर्छन, एकदमै भेट्न मन लाग्छ तर फेरी कोभिड-१९ सम्झन्छु र मनलाई मनाउँछु । 
-    दैनिक रूपमा कागती पानी, फलफूल र सागपात खान्छु । 
-    लेज, कुरकुरे, बिस्कुट, चकलेट खान पनि विस्तारै कम गर्दैछु । 
-    दिनमा ८-१० गिलास पानी पिउँछु । 
-    फुर्सदको बेलामा नयाँ नयाँ किताब पढ्छु । 
-    राती सुत्ने बेलामा दैनिकी लेख्छु । 

अन्त्यमा, कोभिड-१९ ले मलाई धेरै ज्ञान पनि दिएको छ । मेरो बाबाले भन्नुहुन्छ लकडाउन खुलेपछि मस्ती गर्न पनि लकडाउनको बेलामा शरीर र मनलाई स्वस्थ्य राख्न अत्यन्तै आवश्यक छ । 

आयोन विशाल सापकोटा
कक्षा-६, युलेन्स स्कुल, ललितपुर

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.