मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थ मन्त्रालयमा यी कर्मचारीले लेख्दैछन् बजेट,  को–को छन् टीममा ?

आइतबार, ११ जेठ २०७७, १३ : ५५
आइतबार, ११ जेठ २०७७

काठमाडौं । आगामी बिहीबार (जेठ १५) सरकारले आर्थिक वर्ष (२०७७/७८) को बजेट ल्याउँदैछ । बजेट लेखनमा अर्थ मन्त्रालय यतिबेला व्यस्त छ ।

 तर अघिल्ला वर्षजस्तो मन्त्रालय वरपरका माहोलमा चहलपहल छैन । लकडाउनका कारण मन्त्रालयका कर्मचारी बाहेक बाहिरी मानिसको आवागमन शुन्य प्रायः छ । यस मानेमा पनि अर्थमा डिस्टर्ब छैन । 

बजेट लेखनमा अर्थ मन्त्रालय भित्रैका विभिन्न महाशाखाका प्रमुखको सक्रियता छ । उनीहरुले बजेट लेखनलाई तीब्रता दिएका छन् । बजेट लेखनमा बजेट महाशाखा, राजस्व महाशाखा, बजेट तथा कार्यक्रम महाशाखा, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख लगायत संलग्न छन् । 

बजेट लेखनमा अर्थमन्त्रीको सक्रियता त हुन्छ नै तर अहिले सरकारले आफ्नो प्रवक्तासमेत राखेकाले उनलाई दोहोरो जिम्मेवारी पुरा गर्नुपर्ने छ । यद्यपि बजेट लेखनमा मार्गनिर्देशन भने उनले दिइरहेकै छन् । 

अर्थका एक अधिकारीका अनुसार बजेट  लेखनको संयोजन श्रीकृष्ण नेपालले गरेका छन् । उनी अर्थ मन्त्रालयकै अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख पनि हुन् । बजेट लेखनमा अर्थ मन्त्रालयका सचिव द्वय शिशिर ढुंगाना र रामशरण पुडासैनी पनि छन् । ढुंगाना अर्थसचिव हुन् भने पुडासैनी राजस्व सचिव हुन् । उनीहरुले बजेट लेखनमा सल्लाहकारको भूमिका निभाइरहेका छन् ।

आन्तरिक राजस्व विभागबाट सरुवा भएर आएका यज्ञ प्रसाद ढुंगेल पनि बजेट लेखन टीममा छन् । उनी राजस्व व्यवस्थापन महाशाखाका प्रमुख हुन् । यस्तै बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनिराम शर्मा बजेट लेखनका सदस्य हुन् । यसअघि उनी ठुला करदाता कार्यालयमा थिए । 

आर्थिक नीति तथा विश्लेषण महाशाखा प्रमुख यमलाल भुषाल र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख झक्क प्रसाद आचार्य पनि बजेट लेखन टिममै छन् । आचार्य यसअघि  मध्यस्तरीय करदाता कार्यालयमा थिए । 

यसैगरी राष्ट्र बैंकबाट काजमा अर्थमन्त्रालय तानिएका रामशरण खरेलले पनि बजेट लेखनलाई नजिकबाट नियालिरहेका छन् । यद्यपि, सो टिममा उनको नाम भने छैन ।

स्रोतको सकस
कोरोनाका कारण भएको लकडाउनले आर्थिक गतिविधि नहुँदा सरकारको राजस्व प्रभावित छ । यसले स्रोतमै सकस परेपछि आन्तरिक तथा बाह्य ऋण तथा अनुदान परिचालनमै सरकारले जोड दिइरहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।  अर्थमन्त्रीले विभिन्न दाताहरुसँग सहयोग समेत मागिरहेका छन् । उनले परम्परागत सहयोग नभइ नयाँ ढंगबाट सहयोग गर्न पनि यसअघि दातासँगको भिडियो कन्फेरेनसमै भनेका थिए । 

अर्थ समितिले १७ खर्बको हाराहारीमा बजेट ल्याउन सुझाव दिएको थियो । अर्थ मन्त्रालयले यस पटकको बजेट कोरोनाबाट क्षति भएको क्षेत्रको पुनरुत्थानमा केन्द्रित रहेर बनाइरहेको ती अधिकारीले बताए । 

 उनले भने, ‘अहिले स्रोतमै समस्या परेको बेला कतिपय नराखी नहुने र कतिपयलाई निरन्तरता दिनुपर्ने कार्यक्रम छन् । त्यसबाहेक कोरोनाले गरेको क्षतिको पुनरुत्थान पनि गर्नु पर्नेनै छ । सानो आकारको बजेट भनेपनि केही बढ्लाकी भन्ने पनि देखिएको छ तर अन्तिममा केही कार्यक्रम काटिन पनि सक्छ । ’ 

जेठ २ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेकी छन् । यसले कृषि स्वास्थ्य र कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानमा जोड दिने भनेको छ । 

सरकारको नीति तथा कार्यक्रमलाई नै कार्यान्वयन गर्ने गरी बजेट आउने हो । तर नीति तथा कार्यक्रम नै लामो भएपछि कसलाई कार्यान्वयन गर्ने कसलाई नगर्ने चुनौती मन्त्रालयलाई थपिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप