शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशको बजेट अधिवेशन आज

आइतबार, ११ जेठ २०७७, ०९ : २०
आइतबार, ११ जेठ २०७७

संसद चलाउनु त छदैछ । त्यसमाथि सामाजिक दुरी पनि कायम राख्नुपर्ने । संसद भवनमा सामाजिक दुरी कायम राख्न नमिल्ने भएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संसद भवनको विकल्प खोज्दै केही समय भौतारिएर हिँडे । अन्ततः विकल्पको रुपमा पोखरा सभागृह तय भयो । त्यही सभागृहमा गण्डकी प्रदेश सरकारको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ ।

अधिवेशन सुरु गर्न सभागृहलाई तयार पार्न प्रदेश सरकारले २५ लाख रुपैयाँ खर्च गरिसक्यो । टुटे फुटेका कुर्सी बनाउन र रङ्गरोगन लगाउन मात्रै प्रदेश सरकारले २५  लाख रुपैयाँ खर्चेको हो ।

उच्च सतर्कता अपनाउँदै यसअघि नै सातै मन्त्री, सांसद, कर्मचारी सबैको कोरोना चेकजाँच पनि गरिएको थियो ।

लामो समयदेखि ठप्प भएर बसेको आर्थिक क्षेत्र चलायमान हुन नसक्दा बजेटको आकार घटेर आउने त पहिला नै पक्कापक्की जस्तै भइसकेको छ । प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले बन्दाबन्दीकै कारण प्रदेश सरकारलाई दैनिक ३८ करोड घाटा लागेको सामाजिक सञ्जालमै सेयर गरिसकेका छन् । अर्थमन्त्री गुरुङले सामाजिक सञ्जालमा अर्थतन्त्रबारे खुवै टिप्पणी पनि गरिरहेका छन् । राजस्व संकलनको दर ५० प्रतिशतभन्दा पनि कम हुने अर्थ मन्त्रालयको आँकलन थियो ।

गण्डकी प्रदेश सरकारले निर्वाचित भएर आइसकेपछि ३६ वटा विधेयक पास गरि सकेको छ । संशोधन विधेयकसहित पास भइसकेका छन् । बजेट अधिवेशनमा गण्डकी सरकारले थप ९ वटा विधेयक पेश गर्ने तयारीमा छ । वातावरण विधेयक लगायतका ९ विधेयक संसदमा पेश हुँदै छन् । प्रदेश सभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेका अनुसार ९ विधेयक संसदमा दर्ता भइसकेका छन् । ‘८–९ वटा लाइनमा छन् । अब कति वटा पास हुन्छन्, हेरौँ,’ उनले भने । दिउँसो १ बजेदेखि सुुरु हुनेछ । अधिवेशनमा दुई वटा कुर्सीको अन्तर कायम गरेर बस्ने व्यवस्था मिलाइएको छ ।

अघिल्लो वर्षमा ३ खर्ब ८ अर्बको कुल ग्राहस्थ उत्पादन निकालेको गण्डकी प्रदेशले यो वर्ष बढाएर ३ खर्ब ५४ अर्ब पु¥याउने लक्ष्य राखेको थियो । अघिल्लो वर्ष ३२ अर्ब बराबरको बजेट ल्याएको गण्डकी प्रदेशले आगामी आर्थिक वर्षमा ६–७ अर्ब घटाएर ल्याउने केही समय अघिको कुराकानीमा अर्थमन्त्री किरण गुरुङले बताएका थिए । बन्दाबन्दीका कारण ६ अर्ब बराबरको क्षति व्यहोर्नु परेको कारण बजेटको आकार बढाउन नसकिने उनले त्यसबेला बताएका थिए ।

यद्यपि, गण्डकी सरकारका प्रवक्ता समेत रहेका अर्का मन्त्री रामशरण बस्नेतले भने  आगामी आर्थिक वर्षमा गण्डकी सरकारले ३३ अर्बकै हाराहारीमा बजेट ल्याउने बताएका छन् । ‘यकिन त भइसकेको छैन । लगभग ३२–३३ अर्बकै आउँला,’ उनले भने, ‘चालू आर्थिक वर्षकै हाराहारीमा बजेट आउँछ । केही दिनमा सिलिङ तय हुन्छ । अहिलेको सिलिङ आधिकारिक होइन ।’

मन्त्री बस्नेतले ५–७ वटा विधेयक संसदमा पेश हुने बताए । संसदमा पेश भएका सबै जसो विधेयक करिब करिब पास हुने उनले सुनाए । ‘करिब–करिब विधेयकहरु पनि पारित होलान्, बजेट अधिवेशन, वर्षे अधिवेशन भएको कारण धेरै कुरा त त्यतैतिर समेटिन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप