केन्द्रीय संस्करण
टिप्पणी

मनिषाको बहानामा एक देशको सम्प्रभुतामा औँला ठड्याउने शासक वर्गका पिट्ठू पत्रकार

person explore access_timeजेठ ११, २०७७ chat_bubble_outline0

हिजोका कुरा हो ।

टिभीको स्क्रिनमा मोटो अक्षरमा आउँछ – ‘भारतका खाओगी, चीनका गाना गाओगी ?’

यसपछि सुरु हुन्छ अभिनेत्री मनिषा कोइरालामाथि तीन समाचार प्रस्तोताको हमला, जसले हरेक दिन बिहानै एबीपी न्युजमा ‘नमस्ते भारत’ कार्यक्रम प्रस्तुत गर्छन् ।

सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई आफ्नो भूभाग दाबी गर्दै नेपालले जारी गरेको नयाँ नक्साको सन्दर्भमा नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटमा मनिषा कोइरालाको ट्वीट जसमा उनले लेखेकी थिइन् – ‘हाम्रो सानो राष्ट्रको गरिमा कायम राखेकोमा धन्यवाद । तीन महान् देशबीच हामी शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्छौं ।’

केवल यति नै । अत्यन्त शालीन भाषामा एक नागरिकले आफ्नो देशको सम्प्रभुता र आत्मसम्मानलाई रेखाङ्कित गर्दै यो टिप्पणी गरेकी हुन् ।

समाचार प्रस्तोता विकास भदौरियाले बताए कि कसरी भारतमा बसेर मनिषाले ठूलो पैसा र प्रसिद्धि कमाइन् । तर आज उनी नै भारतविरुद्ध चीनको साथ खडा भएकी छन् ।

भदौरियाले भने, ‘खान्छौँ भारतको र गीत चीनको गाउँछौँ ?’ यी समाचार च्यानलको बौद्धिक कङ्गालता देखेर हैरानी नै हुन्छ ।

के अब कुनै पढे लेखेका सम्पादकजस्ता व्यक्तिको अस्तित्व यी च्यानलमा छैन ? के भीडले नै अब सबै तयार गर्दैछ कि के प्रसारण गर्ने, के नगर्ने ? या हरेक च्यानलमा जो पढेलेखेका गनिएका व्यक्ति छन्, उनीहरु चुप रहनकै लागि अभिशप्त छन् ?

यी सवालको जवाफमा मेरा एक युवा पत्रकार मित्रले बताए कि मोदी सरकार आइसकेपछि र विशेषगरी जेएनयू प्रकरणपछि ‘राष्ट्रभक्त’ र ‘राष्ट्रद्रोही’ वाला जुन एउटा ‘लार्जर न्यारेटिभ’ (वृहत कथ्य) बन्यो, त्यसमा हरेक खबरलाई फिट गर्नका लागि यो मसला हो । 

एउटा मापदण्ड बनेको छ कि खबरलाई यसरी देखाउँदा संस्थापन पक्षधरता कायम रहन्छ । जसलाई साँच्चैको पत्रकारिता गर्नु छ, उनीहरुले च्यानलबाहेक अन्यत्र कतै कुरा राखून् ।

दिउँसो हुँदा हुँदा यो खबरले बहसको रुप लिने तयारी गर्दै थियो, जो आमरुपमा च्यानलको चलन भइसकेको छ ।

अब खबर भन्ने जिम्मा च्यानलका सबैभन्दा समझदार र अनुभवी समाचार प्रस्तोता रोमाना ईसार खानको थियो,  तर रोमानाको नजरिया पनि त्यही देखियो जो बिहानको समयमा देख्न मिलेको थियो ।

रोमानालाई पनि यही लागिरहेको थियो कि मनिषा कोइरालालाई भारतले सबै दियो तर आज उनी चीनको पक्षमा खडा छिन् ।

एउटा समझदार समाचार प्रस्तोता कसरी सत्ताको दबाबमा जानेर–नजानेर मूर्खताको दलदलमा भासिँदै जान्छन्, यसको शानदार उदाहरण रोमाना हुन् ।

रोमानाको प्रश्न थियो कि – ‘यस्तो के भयो कि ७० सालमा पहिलोपटक नेपालले भारतसँग आँखा लडाउने कोसिस गर्दैछ ?’ यो वाक्य कुनै पत्रकारको होइन बरु सानो छिमेकी देशको सम्प्रभुतामा औँला उठाइरहेका शासक वर्गका कुनै सदस्यको हुनसक्छ ।

यस कार्यक्रममा दुई विशेषज्ञ थिए – भाजपाका प्रेम शंकर शुक्ला र सेनाका अवकाशप्राप्त मेजर जनरल जी डी बख्शी । दुवैलाई केही थाहा नै थिएन कि नक्साको पुरै मामिला के हो । तर चीन र पाकिस्तानविरुद्ध त बिना कुनै तयारी कुनै पनि समय बोल्न सकिन्छ ।

दुबैले चीनको षडयन्त्रबारे प्रकाश पारे र जनरल बख्शीले यसका लागि अघिल्लो सरकारलाई दोष दिए, अघिल्लो सरकारले जेएनयुमा वामपन्थी पठाएर नेपालमा माओवादीलाई बलियो बनाउदाको परिणाम आज भारतले भोग्नुपरेको उनले बताए ।

उनले ‘यस ग्रहको एकमात्र हिन्दू राष्ट्र’ लाई बचाउनका लागि गुहार लगाउँदै आफ्नो ज्ञानको खुलासा गरे । अर्कातर्फ, ज्ञानी प्रेम शंकर शुक्लाले नेपालका माओवादी नेता प्रचण्डलाई भारतले जेएनयू​मा पढाएको र पालनपोषण गरेको बताए ।

प्रचण्डको कहिल्यै जेएनयूसँग कुनै सरोकार थिएन । बिना शंका, बाबुराम भट्टराईले जेएनयू​बाट विद्यावारिधि गरेका थिए । समाचार प्रस्तोता रोमानालाई लागिसकेको थियो कि यिनीहरुलाई लामो समयसम्म स्क्रिनमा राख्नु ठीक छैन । त्यसैले, ‘तपाईंहरुको आरोपको जवाफ दिनका लागि यहाँ काँग्रेसका कोही छैनन्’ भन्दै उनले बहस समापन गरिन् ।

कुनै पनि च्यानलमा तर्कपूर्ण ढंगले यो बहस देख्न मिलेन कि कालापानी, लिपुलेक विवाद वस्तुतः के हौ र दुबै देशबाट कमजोरी कहाँ भयो र अवस्था यति तनावपूर्ण बन्यो । किन समय छँदै वार्ताद्वारा यसको कुनै हल खोज्न सकिएन ? नेपालका दुईमात्र छिमेकी छन् – भारत र चीन ।

भारतसँग जबर्जस्त सांस्कृतिक, सामाजिक, भौगोलिक निकटता हुनका बाबजुद नेपाल आज किन चीनसँग निकै नजिक देखिएको छ ? यसबारे चर्चा गर्नुका बाबजुद चीनको इशारामा नेपालले नयाँ नक्सा तयार गरेको मान्नु घटनाको वास्तविकतामा जानबाट मोडिनु हो ।

कालापानीमाथि भारतले त लिपुलेकमा चीनले उसलाई डसेको छ । यसलाई सम्झ शासक र उनका पिट्ठू पत्रकार । सानो देश, सानो सम्प्रभुता भन्ने औपनिवेशिक मानसिकताबाट मुक्त होऊ । सम्प्रभुता कुनै देशको भौगोलिक आकार र आर्थिक हैसियतबाट आँकिँदैन । जबसम्म यसलाई सम्झँदैनौँ, छिमेकीको घृणा पाइ नै रहनेछौँ र यी सबैका लागि कहिले चीन त कहिले पाकिस्तानविरुद्ध नाङ्लो ठटाउँदै बस्नेछौं ।

जनपथ डट कममा प्रकाशित लेखको भावनुवाद

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.