बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यसकारण मध्यरातमा दुर्घटना परेको थियो पूर्वयुवराज पारस शाह सवार गाडी

शनिबार, १० जेठ २०७७, १९ : ५४
शनिबार, १० जेठ २०७७

पोखरा ।  राजतन्त्रको अन्त्य भए पनि पूर्वराजपरिवारको चर्चा भइरहन्छ । कहिले के, कहिले के ! अनेक हर्कतका कारण राजपरिवारको चर्चा भइरहेकै हुन्छ । 

शनिवार बिहानदेखि पूर्वयुवराज पारस शाहको चर्चा सामाजिक सञ्जालमा जताततै भाइरल भइरहेको छ । 

पूर्वयुवराज पारस शाह चढेको गाडीले गएराति पोखराको मुख्य बजार केन्द्र पृथ्वीचोकमा छाडा गोरुलाई ठक्कर दियो । गाडीको ठक्करबाट गोरु मरेको छ । 

पूर्वयुवराज पारस शाहलाई मध्यरातमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनका सहयोगीहरुले उपचारको लागि गण्डकी अस्पतालतर्फ लैजाँदै थिए । तीब्र गतिमा हुइँकिएको पूर्वयुवराजको गाडीले अनियन्त्रित भइ गोरुलाई ठक्कर दिन पुगेको थियो । 

राति करिब २ बजेको समयमा यस्तो घटना घटेको थियो । गाडीमा पूर्वयुवराज पारस सहित ३ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर नरहरि अधिकारीका अनुसार गाडीमा सवार तीनै जनाले मादक पदार्थ या नशाजन्य अन्य कुनै बस्तु सेवन भने नगरेकाे पाइएको छ। 
‘उहाँको स्वास्थ्यमा समस्या देखिएछ । त्यसपछि उपचार गराउनको लागि गण्डकी अस्पताल जाँदै गर्दा यस्तो घटना घट्यो,’ उनले भने, ‘अहिले सवारी चालकलाई नियन्त्रणमा लिएका छौं ।’ दुर्घटना गराउने चालक पूर्वयुवराजका निजी चालक भने होइनन् । 

बा १४ च २१३१ नम्बरको गाडीले यो दुर्घटना गराएको थियो । अहिले गाडीमा सवार तीनै जनालाई केही भएको छैन । गाडीमा भने सामान्य क्षति पुगेकाे बताइएको छ । बिहानभर पानी परेको हुँदा गोरुलाई भने दिउँसोपख मात्रै सडकबाट उठाइएको थियो ।  लामो समयदेखि पारस पोखरामै बस्दै आएका छन्।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप