केन्द्रीय संस्करण

महाभारतमा कृष्णको कुटिल नीति

person explore access_timeजेठ १०, २०७७ chat_bubble_outline0

-सञ्जय न्यौपाने

महाभारत मेरो सर्वप्रिय ग्रन्थ हो । पहिले पनि पटक पटक पढेँ तर अघिल्लो पटक शैशवकालमै पढेकाले त्यति चिन्तन मनन गर्न सकिनँ । अहिले पुन पढ्दैछु । अनेक पात्र, परिवेश र घटनाले जेलिएको महाभारत मानव इतिहासकै सबैभन्दा अद्भुत कहानी हो भन्दा अत्युक्ति नहोला । पढ्दा लाग्छ– महाभारतका कतिपय कुरा अझै समय सान्दर्भिक छन् । आज पनि महाभारतका पात्रसँग बाटामा भेट हुन्छ । सो बखतका समानान्तर परिवेशसँग मोडमा ठोक्किन पुगिन्छ र तत्कालीन चरित्र र प्रवृत्तिले हालसम्म पनि समाजमा मुन्टो ठड्याएर बसेको देखिन्छ । लाग्छ आजको भीमकाय पर्दामा महाभारत किस्सा किस्सामा चलिरहेको छ । सत्य, छल, झुट, स्वार्थ, प्रेम, स्वधर्म, त्याग, बदला, सिर्जना, बिनास, नियति, लाचारी, शोषण, अत्याचार, बाध्यता, आशक्ति, सत्तालिप्सा, विकास, विनास सब चिज महाभारतमा छन् । आज पनि छन् । त्यसैले महाभारतको दर्पणमा घटाकासझैँ किस्ता किस्तामा आजलाई नियाल्न सकिन्छ । आफूलाई हेर्न सकिन्छ । यस आलेख कुनै विषयकेन्द्रित नभएर महाभारत पढिसकेपछि मनमा उठेका अज्ञात सङ्कल्प र छटपटीलाई शब्दमा व्यक्त गर्ने एउटा निरर्थक प्रयास मात्र हो । मस्तिष्कमा खेल्ने तर्क वितर्कका ज्वारभाटालाई लिपिबद्ध गर्ने चेष्टा मात्र हो । 

एउटा कुरा भनिहालौँ । महाभारतमा कौरवको हारको मुख्य कारण हो– भीष्मको कर्णप्रति रहेको द्वेष । अन्यथा सैनिक हिसाबले, योद्धा रथी रमहारथीका हिसाबले या रणनीतिका हिसाबले कौरवहरु पाण्डवभन्दा निकै बलिया थिए । लडाइँ अगाडि भीष्मले आफ्नो विरुद्ध छेड गरेर दुर्वाच्य बोलेपछि कर्णले भने– “भीष्म युद्धमा रहुन्जेल  म लडाइँ लड्नेछैन ।” यसरी १८ दिने महाभारतको सुरुका १० दिन कर्ण युद्ध मैदानमा उत्रिएनन् । भीष्मको पतनपछि पनि गुरु द्रोणाचार्यको खटनमा युद्ध लड्नुपर्यो । यदि पितामहको कर्णप्रति सद्भाव रहन्थ्यो भने महाभारतको पासा पल्टिन सक्थ्यो । भीष्म, द्रोणाचार्य, कृपाचार्य र विदुरको प्रारम्भदेखि नै कर्णप्रति सद्भाव थिएन । यिनीहरु हस्तिनापुरको सभामा हरहमेसा कर्णलाई हतोत्साही गर्दथे भने उनका मुख्य प्रतिद्वन्द्वी अर्जुनप्रति भने सद्भाव व्यक्त गर्दै तारिफ गर्दथे । भीष्मद्वारा बहिष्कार, द्रोणाचार्यको खटनपछि बल्ल पूर्णकालीन मैदानमा उत्रिएका कर्ण आफ्नो युद्धकौशल देखाउन नपाउँदै आफ्नो कमजोर नियति र श्रीकृष्णको कुटिल कूटनीतिको शिकार भएर मृत्युवरण गर्न अभिषप्त भए ।

महाभारतको इतिहासले कर्णमाथि अन्याय गर्यो । अझ भनौँ, सिङ्गो युगले कर्णको कौसलमाथि न्याय गर्न सकेन । उनी प्रत्येक मोडमा चिप्ल्याइए । जन्मनासाथ खोलामा बगाइनु, सूतपुत्रको घरमा हुर्किनु, गुरु विश्वामित्रबाट घातक श्राप पाउनु, अभेद्य र अमोध कुण्डल कवच छलद्वारा हरण हुनु, पटक पटक जन्म र वंशको नाममा बेइज्जत गरिनु द्रौपदीको स्वयंवरमा, द्रोणाचार्यको शिष्यहरुको रणकौशल देखाउने समयमा र पटकपटक भीष्म, द्रोण र कृपाचार्यद्वारा हस्तिनापुरको सभामा र सारथिरूप सल्यद्वारा युद्धमा, युद्धमा भीष्मद्वारा बहिष्कृत हुनु, इन्द्रले दिएको अमोध शक्ति घटोत्कचमाथि हान्न बाध्य हुनु र कृष्णको छलपूर्ण कूटनीतिको शिकार हुनु जस्ता परिबन्दले गर्दा कर्णको दुखद् अवसान हुन पुग्यो । कौरवहरु पराजित हुनुपर्यो ।

युद्धमा भीष्मलाई अर्जुनले रोक्दथे । द्रोणाचार्यसँग भीम र द्यृष्टद्युम्नले लड्दथे । कर्णको समकक्षी पाण्डव पक्षमा केवल अर्जुनसिवाय कोही थिएन । यदि भीष्म र कर्णसँगै युद्ध गर्थे भने कर्णलाई १० दिनसम्म रोक्न सक्ने सामथ्र्य पाण्डव पक्षका कसैको पनि हुँदैनथ्यो । यस्तो अवस्थामा कौरवको युद्ध जित्ने सम्भावना  प्रबल हुन जान्थ्यो । त्यसैगरी भीष्म पितामह आफैमा दुर्जेय थिए । सुरुका दिनमा उनलाई अर्जुनले रोक्न सकेका होइनन् । नत्र  युद्धको तेस्रो दिनमा उनको पराक्रमले चकित भएर शालीनताका प्रतीक भगवान कृष्णसमेत रथको पाङग्रो बोकेर भीष्मबधका लागि तत्पर किन हुन्थे र ! 

अर्को कुरा भीष्मको अर्जुनप्रति अगाध सद्भाव थियो । उनी अर्जुनभन्दा पराक्रमी दोस्रो कोही भएको देख्न चाहँदैनथे र सक्दैनथे । त्यसैगरी, भीष्म रणभूमिमा नढलुन्जेल पान्डवहरुको जित अकल्पनीय थियो । र सोझो लडाइँद्वारा उनलाई पराजित गर्न अर्जुनको पनि सामथ्र्य पुग्दैनथ्यो । यो स्थितिलाई मनन गर्दै आफू ढलेर पाण्डवहरुको विजयद्वार खोलिदिने व्यक्ति स्वयं पितामह भीष्म हुन् । लडाइँको नवौँ दिन बेलुका युद्धशिविरमा पाण्डवलाई भेटेर शिखण्डीको प्रयोगद्वारा आफूलाई ढाल्नु भन्ने उपाय पितामह भीष्मले स्वयं सिकाएका हुन् । कर्णलाई दस दिनसम्म युद्धबाट विमुख राख्नु र आफूले पनि स्वेच्छाले शरशैया वरण गर्नुले पाण्डव पक्षलाई ठूलो राहत मिल्यो । अन्यथा महाभारतको इतिहासको कोर्स बदलिने थियो । हामीले सायद आज फरक पढ्न पाउने थियौँ कि !

कर्णको पूरा जीवन सौर्यमय छ । उनी ठूला पराक्रमी, दानवीर, धैर्यवान र कर्तव्यनिष्ठ थिए । तर आफ्नो जीवनकालमा उनले दुईवटा ठूला गल्ती गरे । जसले उनको स्फटिकझैँ निश्चल छविमा कालो दाग पोतिदियो । पहिलो– वनवास जाने बखतमा पाण्डव र द्रौपदीलाई अपवाच्य बोल्दै खिसी गर्नु । दोस्रो– चक्रव्यूहभित्र १६ वर्षे बालक अभिमन्युलाई युद्धको नियमविपरीत निशस्त्र पारेर सात जना भई मार्नु ।

पाण्डवहरुले पनि सोझो सामथ्र्यले युद्ध जितेका होइनन् । महाभारतको सम्पूर्ण युद्ध भगवान श्रीकृष्णको मियोमा वरिपरि घुमेको छ । कृष्णका प्रत्येक चाल रहस्यमयी र तिलस्मी छन् । उनी युद्ध रोक्ने शान्तिको प्रस्ताव लिएर कौरवको सभामा जान्छन् । मेलमिलापमा जोड दिन्छन् । फेरि भित्रभित्र पाण्डवलाई युद्धको निम्ति उकास्छन् पनि । अर्कातिर कुलनास र बान्धव वधको डरले विरक्तिएर गाण्डिव फालेर बसेका अर्जुनलाई समरभूमिमा गीता सुनाएर युद्धरत तुल्याउँछन् । एकातिर उनी हिंसाको विरोध गर्छन्, अर्कोतर्फ युद्धको लागि प्रोत्साहित पनि । कौरव पक्षका प्रत्येक सेनापतिको मृत्युमा कृष्णको कुटिल चाल अन्तर्निहित छ । भीष्मको अन्त्य गर्नका लागि शिखण्डीको प्रयोग गरियो । त्यस्तै गुरु द्रोणाचार्यलाई फर्जी पुत्रशोकमा पारेर मारियो । सूर्यलाई नक्कली सुदर्शन चक्रले ढाकेर जयद्रथको वध गरियो । अर्जुनको सम्भावित आत्महत्या टारियो  । महारथी कर्णमाथि रथको पाङ्ग्रो उक्काउँदै गर्दा अर्जुनले बाण प्रहार गरे । त्यसैगरी दुर्योधनलाई गधायुद्धको नियमविपरीत जाँघमा प्रहार गरेर भीमले मारे । अर्को कुरा त अझ अद्भुत पराक्रमी बर्बरिकलाई भगवान श्रीकृष्णले छल गरी टाउको काटेर झुन्ड्याइदिए । यस्ता अनेकौँ तिकडम, छल र कूटनीतिमार्फत मात्र पाण्डवको युद्धमा विजय सम्भव भएको हो ।

प्रारब्ध प्रधान कि पुरुषार्थ ? कर्म निर्णायक हो या नियती ? सामान्य सुतपुत्रको कुलमा हुर्किएर शिक्षादीक्षा हासिल गर्ने विषम परिस्थितिगत चुनौतीलाई पन्छाएर समेत कर्ण संसारका श्रेष्ठ योद्धा बन्न सफल भए । अमोघ कुण्डल कवचसमेत खुसीसाथ दान दिएर आफ्नो प्रण पूरा गरे ।  कुन्ती र श्रीकृष्णले अनेक पटक सम्झाउँदा समेत आफ्ना मित्र दुर्योधनको साथ छोडेनन् । मित्रताका लागि ठूलो वैभव त्याग गरे र स्वयंलाई समेत उत्सर्ग गरे । यसरी हेर्दा आफ्नो नियतिलाई चुनौती दिँदै कर्णले पुरुषार्थमार्फत सार्थक इतिहास त रचे तर विजय नि ? कथानकको अन्त्यमा प्रारब्धले बाजी मारेरै छोड्यो । उनले आफ्नो क्रुर नियतिको घाँटी निकैबेर अँठ्याए पनि त्यसलाई पछार्न भने सकेनन् ।

महाभारतमा प्रारब्ध र पुरुषार्थलाई एकार्काका पुरक बनाइएको छ । ‘हुने हार दैव नटार’ भन्ने उखान यहाँ चरितार्थ भएको देखिन्छ । हुनु छ भने भएरै छोड्छ । आफू जन्मिनुअघि नै नियन्ताले कोरेको बाटोमा मान्छे हिँड्नका लागि मान्छे मजबुर छ । रोक्ने लाखौँ प्रयासका बाबजुद पनि परिस्थिति प्रतिकुल बन्दै जान्छ । मान्छे आखिर परिस्थितिको दास न हो । गीतामा भनिएझैँ यहाँका प्रत्येक पात्र, परिस्थिति र कथानक सबै पूर्वनिर्धारित गतिमा चलेको भान हुन्छ पढ्दै जाँदा । लाग्छ एउटा स्क्रिप्टेड नाटकको पाण्डुलिपिमा सम्पूर्ण भोलि बाँधिएको छ । गीतामा शोकाकुल अर्जुनलाई सम्झाउँदै विराट स्वरूपको दर्शन दिएपछि श्रीकृष्ण भन्छन्– “यी भीष्म, द्रोण, कर्ण, जयद्रथ सबैलाई मैले मारिसकेँ, तिमीले नमारे पनि यिनीहरु मर्नेछन् । तसर्थ हे अर्जुन, काँतर नबन र गाण्डिब उठाऊ । तिमी यो नरहत्याको निमित्त मात्र हौ । यिनलाई मैले पहिल्यै मारिसकेँ ।’

एकै रहस्यमयी व्यक्तिउपर यो पूरा महाभारत परिघटित छ, जो महाभारतको रचना र  रचयिता दुवै हो– साक्षात नारायणरूप श्रीकृष्ण ! उनी पूर्ण छन् र सम्पूर्ण छन् जस्तो लाग्छ । रङ्गीन छन्, जादुमयी छन् । मानव जीवनका सम्पूर्ण आयामहरुको योगफल हामी भगवान कृष्णमा भेट्न सक्छौँ ।

युद्ध सकिइसकेपछि पाण्डवहरुबीच रणभूमिमा कसले सबैभन्दा बढी पराक्रम गर्यो भन्ने विवाद उठ्छ । तब कृष्णले उनीहरुलाई प्रत्यक्षदर्शीको रूपमा टाउको मात्र रुखमा झुण्डिएर बाँचिरहेको बङ्ग देशको राजा बर्बरिककहाँ लग्छन् । बर्बरिक भन्छन्, “मैले युद्धमा श्रीकृष्णबाहेक पराक्रमी कोही देखिनँ । सबै वीरहरु केवल श्रीकृष्णको चक्रले मर्दै थिए र योगिनीले उनीहरुको रक्तपान गरिरहेकी थिइन् ।” त्यसैगरी गान्धारीले समेत महाभारतको सम्पूर्ण बिनासको कारण कृष्ण नै रहेकाले उनलाई यादववंशी पनि आफूआफू लडेर मरेको कृष्णले स्वयं आफ्नै आँखाले देख्नुपरोस् भनेर श्राप दिइन् ।

कृष्ण युद्ध पनि गर्छन्, प्रेम पनि गर्छन् । दृढ पनि छन्, छलकपट पनि गर्छन् । शान्तिको वकालत गर्छन् अनि युद्धका लागि पनि उक्साउँछन् पनि । सत्यको कुरा गर्छन् तर छलकपट गर्नमा अद्वितीय छन् । कहिले आफ्नो विराट स्वरूपको दर्शन दिइरहेका कृष्ण कहिले सांसारिक शोकविलापमा लिप्त भेटिन्छन् । उनी योगी पनि हुन्, भोगी पनि । उनी चैतन्य पनि हुन् सामान्य मनुवा पनि ।
भगवान कृष्ण एकभित्र अनेक हुन्, पूर्ण हुन् । उनी नै सम्पूर्ण महाभारतको मास्टरमाइन्ड हुन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.