शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको ६१ औं दिन पुग्यो, कोरोना संक्रमित बढ्दो क्रममा

शनिबार, १० जेठ २०७७, १६ : ०८
शनिबार, १० जेठ २०७७

कोरोना भाइरस (कोभिड—१९) को संक्रमण न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनको ६१ दिन पुगेको छ । 

गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन पटक पटक समय थप गर्दै जेठ २० गतेसम्म पु¥याइएको छ । 

लकडाउनपछि अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी सञ्चालनमा रहेपछि भित्रि सडकहरू सुनसान जस्तै देखिएका छन् । अत्यावश्यक सवारीहरू भित्रि सडकमा पनि गुडेका छन् तर न्यून मात्रामा । चोक चोकमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ । उपत्यकाको भित्रि क्षेत्रमा रहेका प्रायः सटरहरु बन्द रहेका छन् ।

विहान र बेलुकाको निश्चित समयमा खाद्यान्न र तरकारी पसल सञ्चालनमा रहेपनि दिउँसो समयमा भने पूर्ण रुपमा बन्द छन् । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा कडाई गरेको छ । पास वितरणमा कडाई गर्नुका साथै उपत्यका छिर्ने सवारीसाधन र व्यक्तिहरुको चेकजाँचमा पनि कडाई गरेको छ । उपत्यकामा पनि संक्रमितको संख्या बढ्दै गएपछि सतर्कता बढाउन सरकारले सम्पूर्णमा आग्रह गरेको छ । भित्रि गल्लिहरुमा स्थानीयहरुले नै अपरिचित व्यक्तिलाई प्रवेश निषेध गरेका छन् ।

साँझपखको समयमा उपत्यका पूर्ण सुनसान देखिन्छ । केही ठाउँमा सडकबत्ती र होडिङ बोर्डहरु बलेको देखिएपनि सडकमा प्रायः गाडी देखिँदैनन् । अत्यावश्यक सेवाका सवारी साधन र सुरक्षाकर्मीका सवारी साधन बढी देखिन्छन् । रातिको समयमा पनि ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरुले सुरक्षा जाँचलाई पनि निरन्तरता दिएको पाइएको छ । 

सरकारले चैत ११ गते पहिलो पटक एक साताका लागि लक डाउन घोषणा गरेको थियो । त्यसपछि एक साता समय थप गर्दै चैत २५ गतेसम्म लक डाउन गरियो । त्यसपछि तेस्रो पटक मिति थप्दै वैशाख ३ गतेसम्म लम्बिएको लक डाउनलाई चौथो पटक १२ दिन थपेर वैशाख १५ गतेसम्म पु¥याइयो ।

त्यसपछि पुनः १० दिनका लागि लक डाउन थप भएर बैशाख २५ सम्म पुग्यो र सरकारले छैटौँ पटक जेठ ५ गतेसम्म लक डाउनको अवधि थप्यो । संक्रमणको दर बढ्दै गएपछि सरकारले जेठ २० गतेसम्म पुनः लक डाउनको अवधि बढाएको छ । लकडाउन निरन्तर रहेपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेको छ । शनिबारसम्म नेपालमा कोरोना संक्रमित संख्या ५४८ पुगिसकेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप