शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले फेरि रोक्यो नेपालबाट निर्यात हुने पाम आयल, बारम्बार किन हुँदैछ अवरोध ?

मन्त्रालय भन्छ, ‘किन रोकियो हामीलाई नै थाहा छैन’
शनिबार, १० जेठ २०७७, १२ : ५५
शनिबार, १० जेठ २०७७

काठमाडौं । प्रशोधित पाम आयलको निर्यातमा भारतबाट फेरि पनि अवरोध आएको छ । नेपालबाट ठूलो परिमाणमा पाम आयल भारत निर्यात हुँदै आएकोमा पछिल्लो समय भारतले एकाएक आयातमा रोक लगाएको हो । गत मे ११ देखिनै भारतले प्रशोधित नेपाली पाम आयलको आयातमा प्रतिबन्द लगाएको छ ।

नेपालबाट निकासी हुने वस्तुहरु मध्येकै सबैभन्दा ठूलो परिमाणमा पाम आयलको निर्यात हुने गर्छ । नेपालको कुल निर्यातको झण्डै २५ प्रतिशत निर्यात पाम आयल हुँदै आएको छ । 

केही समय अघिबाट मात्र पाम आयलको निर्यात थालेको नेपालले यसबाट ठूलै सफलता हाँसिल गरिरहेको छ । पाम आयलकै कारण पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटा(सोधनान्तर) स्थिति समेत सुधारोन्मुख हुँदै गएको छ । तर, भारतको पछिल्लो अवरोधले पुनः नेपालको आयात निर्यातको व्यापारिक सन्तुलनमा धक्का लाग्ने देखिएको छ ।

भारतको अवरोधबारे सरकार नै अनभिज्ञ

प्रशोधित पाम आयलमा भारतले प्रतिबन्ध लगाएकोबारे यतिखेर सरकार नै अनभिज्ञ देखिएको छ । तेल निर्यातमा प्रतिबन्ध लगाएको भनिएपनि के कारणले भारतले प्रतिबन्ध लगाएको हो सोबारे सरकार समेत जानकार नभएको बुझिएको छ ।

गत मे ११ बाटै भारतले नेपाली पाम आयलमा प्रतिवन्ध लगाएपनि के कारणले लगाइएको हो सोबारे आधिकारीक धारणा भारतीय पक्षबाट आइनसकेकाले अहिलेसम्म अन्योलकै अवस्थामा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले रातोपाटीलाई बताए ।
यसअघि नै भारतीय वाणिज्य विभागले व्यवस्था गरेको व्यवसायिक आयात कर्ताको प्रमाणपत्र(लाइसेन्स)का कारण पुनः भारतीय पक्षमा नै समस्या आउँदा निर्यातमा रोक लगाएको हुनसक्ने सचिव अर्यालको भनाइ छ ।

 ‘अहिलेको निर्यात अवरोधको समस्या हाम्रो पक्षबाट होइन, उतै(भारतीय) बाटै भएको हो । पहिले पनि यस्तो समस्या नभएको होइन । भारतीय वाणिज्य मन्त्रालयले व्यवस्था गरेको व्यापारिक लाइसेन्सका कारण पुनः समस्या आएको हुन सक्छ,’ सचिव अर्यालले भने, ‘के कारणले अवरोध गरिएको हो सोबारे बुझ्न हामीले भारतीय पक्षलाई पत्राचार गरिसकेका छौं । आशा छ यो समस्या छिट्टै समाधान हुनेछ ।’

त्यसो त यसअघि पनि भारतले बिना सूचना नेपाली पाम आयलको निकासी रोक्का गरेको थियो । व्यवसायिक लाइसेन्सकै कारण देखाउँदै गत पुसको पहिलो हप्ता आयात बन्द गरेको भारतले करिब एक महिना पछि मात्र माघमा खुल्ला गरेको थियो । त्यसपछि विस्तारै गति लिन थालेको नेपाली पाम आयलको निकासीमा फेरि भारतको अवरोधका कारण पुनः ब्रेक लाग्ने देखिएको छ । 

यता, प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयका भन्सार प्रमुख ढुन्डी निरौलाले पनि के कारणले भारतले पाम आयलको निकासी रोकेको हो सोबारे जानकारी नभएको बताए । तर हाल तेलको निकासी भने शून्य भएको उनी बताउँछन् । 

‘अहिले वीरगन्ज भन्सारबाट पाम आयलको निकासी ठप्प नै छ । यहाँ मात्र होइन अन्य सबै नाकाहरूबाट समेत निर्यात रोकिएको खबर छ । तर के कारणले रोकिएको सो जानकारी प्राप्त भएको छैन,’ भन्सार प्रमुख निरौलाले भने, ‘भारतीय पक्षकै समस्याका कारण हुन रोकिएको हुनसक्छ । निर्यात खुलाउन सरकारी पक्षबाट पहल भइरहेकै होला ।

निरौलाका अनुसार गत चैत्र महिनासम्ममा वीरगन्ज भन्सारबाट कुल ७७ लाख ८० किलो प्रशोधित पाम आयाल र २४ लाख २ हजार किलो भटमासको तेल निकासी भएको छ ।

१७ अर्बको पाम आयल निकासी

चालु आर्थिक वर्ष १० महिनामा मात्र कुल १७ अर्ब रुपैयाँ बराबरको पाम आयल निकासी भएको देखिन्छ ।

 भन्सार विभागको तथ्यांक अनुसार चालु आबको चैत्रसम्ममा कुल १६ अर्ब ८० करोड ९८ लाख ५ हजार रुपैयाँको पाम तेल निकासी भएको छ । गत वर्ष सोही अवधिमा कुल ५ अर्ब ६५ करोड बराबरको मात्र तेल निकासी भएको थियो । 
भन्सार विभागका अनुसार यस वर्ष कुल एक लाख ५७ हजार मेट्रिकटन पाम आयाल भारत निकासी भएको छ ।

 नेपालले मलेसिया लगायत अन्य तेस्रो मुलुकहरूबाट कच्चा पदार्थको रुपमा पाम ल्याइ प्रशोधनपछि निर्यात गर्दै आएको छ । पाम तेल खपतको ठूलो बजार भारत हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप