बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युनिभर्सल मेडिकल कलेजमाथि कारबाही गर्ने चेतावनी दिँदै प्रदेश सरकारले काट्यो पत्र

शनिबार, १० जेठ २०७७, १२ : १२
शनिबार, १० जेठ २०७७

मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई प्रदेश ५ सरकारले कारबाहीकाे चेतावनी दिँदै पत्र काटेको छ ।

  कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सो मेडिकल कलेजले सहयोग नगरेपछि प्रदेश ५ सरकार असन्तुष्ट बन्दै चेतावनीयुक्त पत्र काटेको हो । 

सरकारले अघि सारेको योजनाहरु कार्यान्वयनमा सो कलेजले वेवास्ता गरेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश सरकारले कोभिड–१९ का बिरामीलाई उपचार गर्ने क्रममा सो मेडिकल कलेजले आनाकानी गर्न सुरु गरेपछि मन्त्रालयले चेतावनीयुक्त पत्र काट्नु परेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले बताए ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजसहित प्रदेशका सवै मेडिकल कलेजलाई कोभिड–१९ को व्यवस्थापनमा सहयोग भनिएको थियो । सो अनुसार उक्त कलेजलाई पनि कोभिड–१९ का बिरामीलाई उपचारमा जनशक्ति पठाउन र त्यहाँ छुट्याइएको २० बेडमा बिरामी भर्ना गर्न भनिएको थियो  । तर कलेज अटेर गरेको छ ।

मन्त्रालयका अनुसार उक्त मेडिकल कलेजलाई तीन जना फिजिसियन कन्सल्ट्यान्ट, ६ जना मेडिकल अधिकृत र ९ जना नर्सिङ स्टाफ तोकि कोरोना विशेष अस्पतालमा खटाउन निर्देशन दिएको थियो । त्यसैगरी २० वटा वेड आइसोलेसन बेडको लागि छुट्याउनका लागि पनि भनिएको थियो ।

तर उक्त मेडिकल कलेजले अहिलेसम्म आइसोलेसन बेडमा बिरामी राख्न नचाहेको र जनशक्ति पनि नपठाएको डा. चौधरीले बताए ।

मन्त्रालयले शुक्रवार काटेको पत्रमा निर्देशन अटेर गरेको हुँदा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजलाई प्रचलित कानुनका आधारमा कारवाही प्रकृया अघि बढाउने चेतावनी दिइएको उल्लेख छ ।

 मेडिकल कलेजले  चैत्र महिनामा मन्त्रालयले पत्राचार गर्दा कोभिड–१९ मा कलेजमै २० बेड छुट्याउने र जनशक्ति पनि पठाउने प्रतिबद्धता जनाएको थियो । 

सामाजिक विकास मन्त्रालयले कोरोना विशेष अस्पतालमा जनशक्ति खटाउन प्रदेशमा रहेका देवदह मेडिकल कलेज रुपन्देही, लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा, कोहलपुर मेडिकल कलेज बाँके र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज गरी ४ वटा नीजि क्षेत्रको मेडिकल कलेजसँग जनशक्ति माग गरेको थियो ।

नीजि क्षेत्रको उक्त स्वास्थ्य संस्थाले जनशक्ति परिचालन नगर्दा सेवा प्रवाहमा असहजता भएको मन्त्रालयको भनाइ छ । अहिले प्रदेश नं ५ मा ४ वटा कोरोना विशेष अस्पतालमा संचालन गरिएको छ । त्यसैगरी आईसोलेसन अस्पताल वेड भएको ५० वटा अस्पताल रहेका छन । अहिलेसम्म ४ वटा विशेष अस्पतालका अलवा केही निजी सहित विभिन्न अस्पतालहरुमा कोरोना संक्रमित राखिएको छ ।

प्रदेशमा करिव ७ सय स्वास्थ्यकर्मीहरु रहेका छन् । उक्त जनशक्तिले सेवा प्रवाह गर्न समस्या भएपछि निजी अस्पतालसँग सहयोग लिने निर्णय प्रदेश सरकारले गरेको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप