शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्राजिल संसारको दोस्रो सबैभन्दा प्रभावित देश बन्यो, राष्ट्रपतिको चौतर्फी आलोचना

शनिबार, १० जेठ २०७७, १० : ४४
शनिबार, १० जेठ २०७७

कोरोनाभाइरसको संक्रमणको मामिलामा अमेरिकापछि ब्राजिल संसारको दोस्रो सर्वाधिक प्रभावित देश बनेको छ । ब्राजिलमा हालसम्म ३ लाख ३२ हजार ३ सय ८२ संक्रमित भेटिएका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार त्यहाँ एक हजार १ को मृत्यु भएको छ ।

देशमा हालसम्म २१ हजार १ सय १६ संक्रमितको मृत्यु भएको छ । ब्राजिलको साओ पाउलो शहर यो महामारीले सबैभन्दा धेरै प्रभावित पारेको छ ।

साओ पाउलोबाट यस्तो भिडियो सार्वजनिक भइरहेको छ जसमा फारमोसा चिहानमा खनिएको खाल्डोको लामो लाइन देख्न सकिन्छ ।

धुर दक्षिणपन्थी राष्ट्रपति जायर बोलसोनारोको सरकारले जुन तरिकाले कोभिड–१९ को महामारीलाई ह्यान्डल गरेको छ, त्यसका लागि उनको चौतर्फी आलोचना भइरहेको छ ।

हाल ब्राजिल एक राजनीतिक संकटतर्फ अघि बढिरहेको छ जसको केन्द्रमा राष्ट्रपति बोलसोनारो नै छन् ।

उनी सामाजिक दुरीको नियमको विरोध गरिरहेका छन् । क्लोरोक्विन जस्तो औषधी कोभिड–१९ को उपचारमा सक्षम छ–छैन, प्रमाणित नभइकनै त्यसको प्रयोगमा वकालत गरिरहेका छन् र यतिमात्र होइन, स्वास्थ्य विभागका अनुभवी अधिकारीसँगको उनको कुरा मिलिरहेको छैन ।

 यी कारणसहित कुनै बेला सेनाका अधिकारी रहेका बोलसोनारोको लोकप्रियता तीब्र रुपमा घटिरहेको छ ।

 ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको देशमा कोरोना परीक्षण चुस्त बनाउनुपर्नेमा सुस्त देखिएको छ । यसकारण त्यहाँ संक्रमित र मृतकको संख्याको वास्तविक आँकडा सरकारी तस्विरभन्दा निकै धेरै हुनसक्ने अनुमान गरिएको छ ।

ब्राजिलमा कोभिड–१९ को महामारी तीब्र रुपमा विकराल रुप लिइरहेको छ । सोमबार संक्रमणको मामलामा ब्राजिलले ब्रिटेनलाई पछि पार्दै तेस्रो सबैभन्दा प्रभावित देश बनेको थियो । शुक्रबार ब्राजिल रुसभन्दा पनि अघि बढ्यो ।

यद्यपि, ब्राजिलले अमेरिकालाई चाँडै नै उछिन्ने सम्भावना भने कम छ । संसारको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको देश अमेरिकामा कोरोना १६ लाखभन्दा बढि संक्रमित छन् ।

जबदेखि कोभिड–१९ को महामारी सुरु भएको छ, राष्ट्रपति जायर बोलसोनारोको सरकारका दुई स्वास्थ्यमन्त्रीले पद छोडिसकेका छन् ।

यी स्वास्थ्य मन्त्रीमाथि क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन जस्ता मलेरियाका औषधीलाई प्रयोग गर्न दबाब दिइएको बताइन्छ ।

 स्वास्थ्य विभागका अन्य थुप्रै अधिकारीले राजीनामा दिएका छन् । उनीहरुको साटो सेनाका अधिकारीलाई नियुक्त गरिएको छ ।

स्रोतः बीबीसी  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप