बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० पुग्यो, थुनुवामा संक्रमण देखिएपछि प्रहरी कार्यालय सिल

शुक्रबार, ०९ जेठ २०७७, १९ : १६
शुक्रबार, ०९ जेठ २०७७

 कैलाली । सुदूरपश्चिममा पाँच जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित पुष्टि भएका सबै पुरुष रहेका छन् । धनगढी प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पाँचै जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याँकअनुसार कैलालीमा तीन, बैतडी एक र डडेल्धुराका एक जनामा गरी ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसरी रिपोर्ट पोजेटिभ आउनेमा कैलालीको जानकी गाउँपालिका वडा नम्वर ४ र ७ का १९ वर्षीय, २३ वर्षीय र २६ वर्षीय पुरुष रहेका छन् । उनीहरु इटहरी, बाँके र भारतबाट लुकीछिपी आएको खुलेको छ ।  जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोकाअनुसार वडा नम्वर ४ का संक्रमित जेठ १ गते भारतको कालाकुण्डा नाका हुँदै आएका थिए । वडा नम्वर ७ का दुईजना संक्रमितमध्ये एकजना वैशाख ३० गते इटहरी र एकजना जेठ ३ गते बाँकेबाट आएका थिए । उनीहरु स्थानीय सरस्वती माविको क्वारेन्टिनमा बसेका थिए । 

त्यस्तै, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १० का २८ वर्षीय एकजना पुरुष र बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का एकजना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । डडेल्धुराका संक्रमित स्थानीयस्तरमै रहेको र बैतडीका संक्रमित भारतबाट आएका हुन् । 

डडेल्धुराका संक्रमित युवक बैशाख २७ गते सदरमुकाम पुगेका थिए । संक्रमित युवक बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । उनलाई अस्पतालले स्वाव परीक्षणको रिपोर्ट नआउँदै डिस्चार्ज गरेको नगरपालिकाका प्रमुख भीमबहादुर साउदले जानकारी दिए । 

डडेल्धुरा अस्पतालका मेसु डाक्टर जगदिश विष्टले अस्पतालबाट डिस्चार्ज भइसकेपछि कोरोना पुष्टि भएको जानकारी दिए । ‘ती पुरुषमा स्क्रव टाइफस पनि देखाएको थियो । सञ्चो भएर उनी घर फर्केका थिए । उनलाई अहिले सम्पर्कमा ल्याएर आइसोलेसनमा राख्ने तयारी भइरहेको छ’ डाक्टर विष्टले भने । उनको ६ गते मात्रै थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो ।

उनीहरुलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याउने तयारी भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । संक्रमितका  सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १० पुगेको छ । यसमध्ये पाँचजना यसअघि नै कोरोना निको भएर घर फर्किसकेका छन् ।  

२४ शैयाको मात्रै आइसोलेसन क्षमता रहेको यो अस्पतालको आइसोलेसनमा अहिले शंकास्पद २२ जना बिरामी रहेका छन् । संक्रमितलाई अस्पतालको आईसियूमा राखेर उपचार गरिने अस्पतालले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । 

थुनुवामा रहेकामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय सिल

जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक जनालाई कोरोना संक्रमण देखिपछि प्रहरी कार्यालय नै सिल गरिएको छ ।  कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय नै सिल गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए । 

पाण्डेयले उनलाई वैशाख १५ गते पक्राउ गरेको बताए । उनी चैत ६ गते भारतबाट नेपाल आएका थिए ।  ‘अब कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेका छौं,’ पाण्डेयले भने, ‘धेरै जोखिम भएका र कम भएका छुट्टाएर परीक्षण थाल्छौं ।’ उनका अनुसार उनको सम्पर्कमा आएका आइसोलेसनमा राखिनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप