शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
छिमेकीसँगको सम्बन्ध

असल छिमेकी हाम्रो चाहना

शुक्रबार, ०९ जेठ २०७७, १७ : १३
शुक्रबार, ०९ जेठ २०७७

एउटा भनाइ छ सबथोक फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिँदैन । म सानो छँदा छिमेकीले साँधमा एक हात जति जग्गा मिचिएको रहेछ । मेरा बुबाले एक हातमा दुई मुठी अनाज फल्ने हो, छोडिदिऊ भन्नुभयो र चुपचाप बस्दा अर्काे वर्ष फेरि दुई हात च्यापियो (मिचियो ) । अनि छलफल नगरी सुखै भएन । यो त थियो घरायसी समस्या । भारतले गरेको गतिविधि हेर्दा मलाई बाल्यकालको त्यो घटना याद आयो । हाम्रो छिमेकी भारतले नेपालमाथि गरेको व्यवहारबाट हामी नेपालीहरु आहत हुँदै आएका छौँ ।

नेपाल र भारत मैत्रीपूर्ण सम्बन्ध भएका देशहरु हुन् । इस्टइन्डिया कम्पनीले तत्कालीन नेपालको भूभाग भारतमा गाभ्दै गरेको परिस्थितिमा पश्चिम किल्ला काँगडामा भएका लडाइँहरु, नेपाल कब्जा गर्न सिन्धुली गढीसम्म आएका अङ्ग्रेज सेनालाई नेपालीहरुले लखेटेर आजको नेपालको रक्षा गरेका हुन् ।

पछि लडाइँकै क्रममा नेपालको पराजयसँगै सुगौली सन्धि इस्टइन्डिया कम्पनीसँग भएको हो । उक्त असमान सन्धि  नेपाली जनताले विरोध गर्दै आएका छन् । त्यसको पुनरावलोकनको प्रसङ्ग समेत उठेको छ । पछिल्लो समय ईपीजी बनाएर दुई देशको समस्या समाधान गर्न प्रतिवेदन समेत बनेको छ । समस्या समाधान गर्नभन्दा पनि भारतले कालीनदीपूर्व नेपाल हो भनेर भएको सम्झौता विपरीत कालापानीमा सेना राख्ने, अर्काे काली नदी बनाउने र आफ्नो दाबी गर्ने काम गरेको छ ।

विभिन्न तथ्य प्रमाणहरु हुँदाहुँदै नेपाली भूभाग जबर्जस्ती कब्जा गर्नु भारत सरकारको हर्कत भनेकै द्वन्द्व निम्त्याउने कुराबाहेक केही थिएन । नेपाली जनताले सिमानाहरूमा कति समस्या भोगेका छन्, यो पीडा हामीलाई थाहा छ । भारतले बनाउने पूर्वाधारबाट सीमा क्षेत्र डुबान गर्ने गरी बन्नु २३ जिल्लाका सिमाना मिचिनु र हजाराैं हेक्टर जमिन कब्जा गरिनु, बाढी आउँदा कोसिका ढोका थुनिदिनु, भूपरिवेष्ठित राष्ट्रलाई पटक पटक नाकाबन्दी गरेर आपत सिर्जना गर्ने लगायतका दर्जनौ समस्याले नेपालीको मन कुँडिँदै आएको छ । यस्तो किन भयो, यो रोक्नुपर्छ भन्यो भने भारतविरोधी मानसिकता कारण अनावश्यक राजनीतीकरण गरेको  भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने गरिएको छ । 


हामी सबै छिमेकीसँग असल सम्बन्ध बनाउन चाहन्छौँ । हाम्रो सार्वभौमिकता, अखण्डताविरुद्ध गतिविधि भएमा त्यसको प्रतिकार गर्नु हाम्रो अधिकार हो । हामी असल छिमेकी छाैं र भइरहनेछौँ । हाम्रो छिमेकी पनि असल बनोस् भन्न चाहन्छौँ । 


नेपाल र नेपाली जनता भारतसँग असल मित्रताको सम्बन्ध बनाइराख्न चाहन्छन् । भारतसँग आर्थिक सांस्कृति सम्बन्ध केवल सरकारका बीचमा मात्र नभई जनता र जनताका बीचमा समेत रहेको छ । त्यसकारण नेपालीहरुको चाहना, आवश्यकता भनेको भारतसँग मैत्रीपूर्ण सम्बन्धलाई एकपछि अर्काे स्तरमा उठाउँदै जाने हो । 

नेपाल र भारत भूगोलले मात्र हैन, हिमालबाट बग्ने स्वस्थ नदीहरुबाट समेत जोडिएका छन् । धार्मिक दृष्टिले समेत भारत नेपालको सम्बन्ध पौराणिक कालदेखि रहँदै आएको छ । चार धामहरूका रूपमा रहेका धाम पशुपतिनाथ, केदारनाथ लगायतबाट पनि प्रष्ट हुन्छ । यस्तो गाढा सम्बन्धमा पनि नेपालभन्दा २२ गुणा ठूलो भूगोल, सोही अनुसारको जनसङ्ख्या भएको देशले नेपाली जनतालाई दुःख दिनुमा आनन्द किन मान्छ ? हामी नेपाली निरुत्तर छौँ । के नेपाल सानो हुनुको कारण हो ? सार्वभौम राष्ट्रहरु भूगोलमा, अर्थतन्त्रमा, संस्कृतिमा समान भएर हैन, सार्वभौम भएर नै समान हुने हो । भारतका शासकहरूको नेपाललाई सानो भाइ ठान्ने बुझाइ छ, त्यो नै गलत हो । नेपाल सार्वभौम राष्ट्र हो । त्यसकारण विश्वका सबै राष्ट्रको बराबरी हो र भारतको पनि । अर्काे कुरा भारत दक्षिण एसियामा आफ्नो एकलौटी प्रभुत्व जमाउन चाहन्छ । भारत बलियो हुनका लागि छिमेकी देश नेपाल, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का बलियो भयो भने भारतलाई फाइदा हुने हो । यी सबै राष्ट्र आत्मनिर्भर हुँदा भारतलाई पनि फाइदा हुन्छ तर भारत त्यसरी सोच्दैन । आफ्ना छिमेकी कमजोर भएपछि तिनलाई दबाउन पाउँछु भन्ने मानसिकता भारतको देखिन्छ । 

छिमेकीहरूमा राजनीतिक स्थायित्व, समृद्धि भएमा भारतका लागि पनि त्यो राम्रो कुरा हो । तर छिमेकीसँगको दैनिक विवाद, जमिन कब्जा गरिरहँदा भारतलाई केही फाइदा हुँदैन । आजको युगमा एकले अर्काेलाई कब्जा गरेर राज्य विस्तार गर्ने अशोक राजाको समय होइन । आज त विश्वसँग र छिमेकीसँग सहमतिमा सिङ्गो मानव जातिलाई सुरक्षित गर्दै आफ्नो राष्ट्रको प्रगतिमा लाग्ने बेला हो । एउटा छिमेकीले पल्लो घरबाट ठूलो आवाज मात्रै गर्याे भने पनि ओल्लो घरलाई निदाउन दिँदैन । तसर्थ छिमेकी हुन भनेको एकले अर्काको समस्या बुझ्ने र आफ्नो कार्य गर्दा छिमेकीलाई असर नपरोस् भनेर ध्यान दिने हुनुपर्छ । 

यतिबेला कोरोना महामारी विरुद्ध युद्ध मोर्चामा सिङ्गो मानव जाति लागिरहेको मौका छोपेर अर्काे राष्ट्रको भूगोलमा बाटो उद्घाटन गरेर भारतले आफ्नो असलियत प्रदर्शन गरेको छ । यो इस्यु नेपालीको मनमा नराम्रोसँग गडेको छ । भारतले नेपालसँग तत्कालै छलफल गरेर कालापानी पूर्वको काली नदी सीमा भएको भूगोलमा रहेको आफ्नो सेना हटाएर आफ्नो भुल सच्याउनु पर्छ । भारत छिमेकीसँग असल नियतले काम गर्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ । 

नेपाल सरकारले आम जनताको माग पार्टीहरुको सल्लाह, हाम्रो सबुत प्रमाणका आधारमा आफ्नो देशको राजनीतिक नक्सा सार्वजनिक गरेको छ । यो भारत विरोधी कुरा होइन । यो नेपालको सार्वभौमिकता अखण्डताको पक्षमा हो । यो अरू कसैले उक्साएको होइन, उक्साएको भारतले हो । कोरोना महामारीका बेला नेपाली भूभागमा सडक उद्घाटन गरेर नेपालीलाई उत्तेजित बनाएको भारतले हो । यस पूर्व भारत र चीनले लिपुलेकका बारे गरेको समझौता तत्कालै नेपालले उक्त कुरा नमान्ने घोषणा गरिसकेको छ । हामी सबै छिमेकीसँग असल सम्बन्ध बनाउन चाहन्छौँ । हाम्रो सार्वभौमिकता, अखण्डताविरुद्ध गतिविधि भएमा त्यसको प्रतिकार गर्नु हाम्रो अधिकार हो । हामी असल छिमेकी छाैं र भइरहनेछौँ । हाम्रो छिमेकी पनि असल बनोस् भन्न चाहन्छौँ । नेपालले स्वतन्त्रता दिवस मनाउँदैन किनकि हाम्रो राष्ट्र सधैँ स्वतन्त्र थियो र रहने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनार्दन शर्मा ‘प्रभाकर’
जनार्दन शर्मा ‘प्रभाकर’
लेखकबाट थप