शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमणको जोखिममा प्रदेश नम्बर २ : स्वाब परीक्षण सुस्त हुँदा चुनौती बढ्दै

शुक्रबार, ०९ जेठ २०७७, १६ : १२
शुक्रबार, ०९ जेठ २०७७

जनकपुर । प्रदेश नम्बर २ मा कोरोनाको संक्रमण भयावह बन्दै गएको छ । कोरोना संक्रमणको संख्यामा शुक्रबार एक्कासी वृद्धि भएपछि प्रदेश नम्बर २ को अवस्था भयावह बन्दै गएको देखिन्छ ।

प्रदेश सरकारले संक्रमण फैलनुमा संघीय सरकारमाथि दोषारोपण गर्न थालेको छ । सरोकारवालाहरु भने प्रदेश सरकारकै तहबाट गर्नुपर्ने कतिपय काम समयमै हुन नसक्दा संक्रमण फैलँदै गएको बताउँछन् ।
सामाजिक विकास मन्त्रालयले दिनहुँ आफ्नो तयारीबारे जानकारी गराए पनि त्यस अनुसारको काम गरेको भने देखिदैन । अर्कोतर्फ प्रदेशमा क्वारेन्टाइनमा रहेका तथा शङ्कास्पदहरुको समयमै स्वास्थ्य परीक्षण नहुँदा संक्रमण बढ्न सक्ने संक्रमित बढ्न सक्ने अनुमान गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार प्रदेश २ मा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पर्सामा ९१, रौतहटमा २२, सर्लाहीमा १९, धनुषामा ९, बारामा ४, महोत्तरीमा ३, सप्तरीमा १ र सिरहामा १ जना गरी १ सय ५० जना संक्रमित भएको पुष्टि मन्त्रालयले गरेको छ ।

प्रदेश २ मा संक्रमितको संख्या दैनिक बढिरहे पनि परीक्षणको दायरा अझै बढ्न सकिरहेको छैन । परीक्षणको दायरा बढ्न नसक्दा संक्रमितहरुको पहिचान र कन्ट्याक्ट ट्रेसिङमा ढिला हुँदै गरेको छ जसले गर्दा संक्रमण फैलने खतरा बढी देखिन्छ ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण बन्द भएको एक साता बितेको छ । राष्ट्रिय प्रयोगशाला टेकु र प्रादेशिक प्रयोगशालाको नतिजा फरक देखिएपछि प्रादेशिक अस्पतालमा रहेको पिसिआर मेसिनबाट गरिने स्वाब परीक्षण दोश्रो पटक पनि बन्द भएको छ ।

स्वास्थ्य विभागले पठाएको पिसिआर मेसिन भरपर्दो नभएको भन्दै परीक्षण बन्द गरेर अर्को मेसिन जडान गरिएको थियो । तर सो मेसिनले समेत गलत नतिजा दिएको भन्दै पुनः परीक्षण कार्य बन्द गरिएको छ ।

प्रदेश नम्बर २ कै नारायणी उपक्षेत्रीय अस्पतालमा समेत पिसिआर परीक्षणले तिव्रता लिन सकेको छैन । ‘भिटिएम’ किटको अभाव भएपछि स्वाब संकलन नहुँदा विरगंजमा पिसिआर परीक्षणले गति लिन सकेको छैन । ‘स्क्रिनिङ’ र ‘ट्रेसिङ’ लाई तिव्रता दिनुपर्ने बेला प्रदेश नम्बर २ मा स्वाब परीक्षणको कार्य नै प्रभावित भएको छ । प्रादेशिक अस्पताल जनकपुरको पिसिआरले विश्वसनीय परिणाम दिन छाडेपछि काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामै भर पर्नुपर्ने बाध्यता छ ।
कहिल्यै आउने नतिजा
सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा ७ हजार २ सय ४२ जनाको स्वाब संकलन भएको जनाइएको छ । प्रदेश नम्बर २ मा १ हजार ७ सय ७० जनाको स्वाब परीक्षणको नतिजा अझै आउन सकेको छैन । अहिलेसम्मको नतिजा आएका मध्ये १ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार सप्तरीमा १ सय ४, सिरहामा १ सय २९, धनुषामा ४ सय १६, महोत्तरीमा ४०, सर्लाहीमा ७५, रौतहटमा ३ सय ३, बारामा २ सय ८७ र पर्सामा ४ सय १६ जनाको स्वाब नतिजा अहिलेसम्म आउन बाँकी छ ।
एउटै जिल्लामा ३ सयभन्दा बढीको स्वाव रिपोर्ट आउन बाँकी रहेको अवस्थामा कन्ट्याक्ट ट्रेसिङ पनि अलपत्र भएको छ, रिपोर्ट आउन जति ढिला हुन्छ, कन्ट्याक्ट ट्रेसिङमा त्यति नै कठिनाई हुने प्रादेशिक अस्पतालका एक चिकित्सकले बताए ।
सामाजिक विकास मन्त्रालयका आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोदकुमार यादवले भिटिएम किटको अभाव हुँदा स्वाब संकलन प्रभावित भएको बताउँछन् । क्वारेन्टाइनमा शंकास्पदहरुको परीक्षण नहुदाँ दिनहुँ चाप बढिरहेको डा.यादवले बताए । उनले भने– ‘हामीले माग गरेका छौँ, किट चाँडै आउँछ जस्तो छ ।’

डा.यादवले प्रदेश नम्बर २ का लागि दैनिक १ हजार देखि १ हजार ५ सयको दरले भिटिएम किट आवश्यक रहेको बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले दुई साता पूर्व एक साताभित्र २ वटा पिसिआर मेसिन जडान भइसक्ने भनेका थिए । तर अहिलेसम्म मन्त्री यादवले भनेजस्तो मेसिन आएको छैन ।

प्रदेश सरकारले आफै खरिद गरेर जनकपुरधाम र राजविराजका लागि बढी क्षमता भएको २ वटा पिसिआर जडान गर्न लागेको मन्त्री यादवले भनेका थिए ।

आपूर्ति महाशाखाका निर्देशक डा. यादवले काठमाडौको एक सप्लायरबाट जनकपुरधाम र राजविराजमा जडान गर्न २ वटा पिसिआर खरिद भइसकेको दाबी गरे ।

प्रदेश नम्बर २ मा कोरोना संक्रमण तथा रोकथामको लागि प्रत्येक स्थानीय तह गरेर २ सय १२ क्वारेन्टाइन निर्माण गरिएको छ । जसमध्ये ७ हजार ३ सय ५६ शैय्या संख्या रहेकोमा ४ हजार ७ सय ७ जना क्वारेन्टाइनमा छन् ।
प्रदेश नम्बर २ का ८ जिल्लाका गरी ८ हजार ८ सय ९५ जना क्वारेन्टाइन तथा ६ हजार ९८ जना होम क्वारेन्टाइन र १ सय ३८ जना आइसोलेसनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप